कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिले जमिनदार अहिले सुकम्बासी

देवनारायण साह

मोरङ — सडकछेउ लहरै छाप्रा । नजिकै साना दुई बालक खाली खुट्टा खेलिरहेका । पुसको ठिहीमा उनीहरू गन्जी र कट्टुमा थिए । अभिभावक उनीहरूलाई नियालिरहेका थिए । एक छिनपछि जाडाले काम्दै दुवै बुबाका काखमा गएर बसे ।

पहिले जमिनदार अहिले सुकम्बासी

जहदा गाउँपालिका ७ सितोङटोलस्थित सन्थाल समुदायको सुकुम्बासी बस्तीका अधिकांश बालबालिकाको शरीरमा चिसो थाम्ने कपडा देखिँदैन । स्थानीय शिवलाल टुडु पेटभर खानै नपुगेको अवस्थामा बच्चालाई न्यानो कपडा र चप्पल दिन नसकेको बताउँछन् । उनी सिजनमा कृषि क्षेत्रमा काम गर्छन् । अरू बेला घर निर्माणका काममा मजदुरी गर्दै परिवार धान्छन् ।


‘आम्दानीको स्रोत नै मजदुरी हो,’ उनले भने, ‘हामी बुढाबुढी यही काम गरिरहेका छौं ।’ उनीहरूको आफ्नो खेतबारी छैन । गरिबी र अशिक्षाबीच जीवन निर्वाह गर्दै आएका सन्थालले पछिल्लो समय छोराछोरीलाई विद्यालय पठाउन थालेको शिवलालले बताए । ‘छोराछोरीलाई विद्यालय पठाए पनि आर्थिक अभावमा बीचमै पढाइ छाड्न बाध्य हुने अवस्था छ,’ उनले भने, ‘भोको पेटलाई शिक्षा होइन, खाना चाहिन्छ, त्यसैले ८/९ कक्षामा गएपछि पढाइ छाडेर मजदुरी नगरी चुलो बल्दैन ।’


४५ वर्षीय सपल मरण्डी पनि सुकुम्बासी परिवारका हुन् । गाउँमा आफूहरूमाथि छुवाछूत गरिएकामा उनको गुनासो छ । ‘हाम्रा पुर्खा यहाँ जंगल फाँडेर बसेका थिए,’ उनले भने, ‘पहिले हामी नै यहाँका जमिनदार थियौं ।’ पढाइलेखाइमा ध्यान नदिएका सन्थाल समुदायलाई जान्नेबुझ्नेले सबै जग्गाजमिन हडपेर सुकुम्बासी बनाइदिएको उनले बताए । उनका दुई छोरी र एक छोरा छन् । जेठी छोरी सन्तोषी बैरिया माविमा १० कक्षा पढेर छाडेकी छन् । कान्छी छोरी कविता कक्षा ८ र छोरा अविनाश ६ मा पढदै छन् ।


‘घरमा अन्न नभएपछि म पनि पढाइ छोडेर गाउँकै किसानका खेतमा मजदुरी गर्न जान्छु,’ कविताले भनिन्, ‘भोको पेट पढ्न पनि नसकिने भएकाले हाम्रा लागि मजदुरीमा जानुको विकल्प छैन ।’ उनको डाक्टर बनेर समाजमासेवा गर्ने लक्ष्य छ । ‘पढेर डाक्टर बनेर गाउँका दु:खीको सेवा गर्ने लक्ष्य छ तर के गर्नु घरमा खानै पुग्दैन, कुन बेला पढाइ रोकिन्छ भन्ने डर छ,’ उनले भनिन् ।


विराटनगरस्थित निजी क्याम्पसमा बीएड पढिरहेकी बिबयानी मरण्डीले सन्थाल समुदाय गरिबी, कुसंस्कार र चेतना अभावले पछि परेको बताइन् । ‘गरिबीले बालबालिका पढ्न सक्ने अवस्था पनि छैन,’ उनले भनिन्, ‘आमाबुबा मजदुरीमा गएका बेला साना नानी हेर्ने र गाईबस्तु चराउन जानैपर्ने अवस्था छ ।’


बिबयानीले अहिले पनि यहाँका महिला घरमै सुत्केरी हुने गरेको बताइन् । यसले गर्दा उनीहरूमा विभिन्न स्वास्थ्य समस्या देखिएका छन् । ‘महिलामा आङ खस्ने समस्या छ,’ उनले भनिन्, ‘गर्भावस्थामा पनि मजदुरी गर्न जानैपर्ने बाध्यताले अरू पनि स्वास्थ्य समस्या देखिएका छन् ।’


दुर्गा मावि मझारेका शिक्षक सूर्यनारायण हास्ताले अधिकांश सन्थाल सुकुम्बासी रहेको बताए । ‘सन्थाल समुदायको सिकार खेल्ने र खेती गर्ने पुख्र्यौली पेसा अहिले मजदुरीमा परिणत भएको छ,’ उनले भने, ‘गरिबीबाट माथि उठ्न खोज्दै गरेका उनीहरूलाई सघाउने हातको आवश्यकता छ ।’


दुर्गा माविमा कक्षा १२ सम्म पठनपाठन हुने गरे पनि सन्थाल समुदायका विद्यार्थी अत्यन्तै न्यून रहेको हास्ताले बताए । ‘कक्षा ११ र १२ मा रहेका २ सय ५० विद्यार्थीमध्ये कक्षा ११ मा ३ छात्रासहित ८ जना र कक्षा १२ मा २ छात्रासहित ५ जना गरी १३ जना मात्रै सन्थाल छन्,’ उनले भने, ‘खान पुग्नेले मात्र बालबालिकालाई उच्च शिक्षा पढाउने गरेका छन् ।’ सन्थाल बालबालिका कक्षा ८ पुगेपछि पढाइ छाडेर मजदुरी गर्न जाने अवस्थामा परिवर्तन ल्याउनुपर्ने उनले बताए । ‘सांस्कृतिक पर्वहरूमा रातभर नाच्ने, सानैदेखि जाँड, रक्सी खाने कुसंस्कारले पनि पढाइ बिग्रिने गरेको छ,’ उनले भने ।


हास्ताका अनुसार सन्थालको अवस्था पञ्चायतकालमा राम्रो थियो । प्रजातन्त्रपछि बसाइँसराइको क्रम बढेसँगै हुनेखाने सन्थाल परिवार सुकुम्बासीमा परिणत भएका छन् । पञ्चायतमा सन्थाल समुदायको बसोबास रहेको भाथिगछ, मझारे र सिसबनी जहदा ग्रामपञ्चायतमा उनीहरूकै नेतृत्व हुन्थ्यो ।


‘स्थानीय तहको निर्वाचनमा सबभन्दा ठूलो पद वडाध्यक्षमा मात्रै सन्थाल समुदायको प्रतिनिधित्व भएको छ,’ उनले भने, ‘जहदा ७ को वडाध्यक्षमा भगबानलाल बेसरा निर्वाचित भएका हुन् ।’ सन्थालहरू अल्पसंख्यक आदिवासी भएर पनि अहिलेसम्म राज्यबाट सेवासुविधा नपाएको हास्ताले बताए । ‘सरकारी जागिरमा मसहित दुई जना प्राथमिक तहका शिक्षक र २ जना कृषि सामग्री संस्थान र एकजना विद्युत् प्राधिकरणमा जागिरे छन्,’ उनले भने, ‘सन्थाल समुदाय अहिले पनि राज्यको पहुँचभन्दा टाढा छ ।’


वडाध्यक्ष बेसराले जहदा गाउँपालिकाका सन्थाल समुदायको उत्थानका लागि भूमिका खेल्दै आएको बताए । ‘सन्थाल समुदायको परम्परागत संस्कार र संस्कृति अहिलेको कानुनविपरीत छ,’ उनले भने, ‘त्यसमा परिवर्तन ल्याउन समुदायका अगुवालाई गाउँपालिकाबाटै तालिम दिने काम गराएको छु ।’ सन्थाल समुदायलाई आत्मनिर्भर बनाउने नीतिगत व्यवस्थाका लागि प्रयत्न भइरहेको बेसराले सुनाए ।


उनका अनुसार सन्थाल समुदायको सहोराय पर्वका अवसरमा जनवरी ९ तारेखका दिन गाउँपालिकामा सार्वजनिक बिदा दिने व्यवस्था मिलाइएको बताए । गाउँपालिका अध्यक्ष कैलाश मण्डलले सन्थाल समुदायका लागि कार्यक्रम सञ्चालन भइरहेको बताए । उनका अनुसार सन्थाललाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने योजना तथा कार्यक्रम ल्याउन नीतिगत व्यवस्था गरिँदै छ । २०६८ को जनगणनाअनुसार सन्थाल समुदायको जनसंख्या ५१ हजार ७ सय २० छ । जहदामा ६ हजार २ सय २४ जना छन् ।

प्रकाशित : पुस २८, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?