विवेकशील साझाले भन्यो- 'अलग्गिएका साथीहरुसँग कुनै बिन्दूमा फेरि मिलन हुन्छ'

कञ्चन अधिकारी

काठमाडौँ — विवेकशील साझा पार्टीले छुट्टिएका पार्टी सदस्यलाई औपचारिक संवादको लागि आग्रह गरेको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा संयोजक रवीन्द्र मिश्रले असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला रहेको बताउँदै चित्त नबुझेको विषयमा औपचारिक वार्ता गर्न आग्रह गरेका छन्। 

बिजु महर्जन/कान्तिपुर

उनले भने, 'छुट्टिएर गएका केही साथीहरु सम्पर्कमा हुनुहुन्छ। अहिले नै औपचारिक संवाद गरिसकेका छैनौं। तर संवादको बाटो पनि बन्द गर्दैनौं।' उनले केही समयअघि चिया खाएर वार्ता गरौं भनेको र चिया पसलमा वार्ता नगरे रिसोर्टमा पनि जाउँ भनेको घटना सम्झिए।

उनले अझै पनि विवेकशील साझा पार्टी नै नेपालको वैकल्पिक पार्टी रहेको बताउँदै यसपटक केही जटिलता आएपनि कुनै बेला फेरि एउटा बिन्दूमा मिल्न सकिने बताए। उनले भने, '२०४६ सालको आन्दोलनपछि समाजमा रहेका केही राम्रा मान्छेले वैकल्पिक पार्टीको प्रयास गरेका थिए। तर उनीहरु सफल हुन सकेनन्। तर हामी त्यो भन्दा माथि उठ्छौं भन्ने थियो। तर यसपटक केही जटिलता आयो। एउटा बिन्दू आउँछ। फेरि हामी मिल्छौं। त्यो मिलन बिन्दूबाट झन् सशक्त हुनेछौं।'

संयोजक मिश्रले छुट्टिएर गए पनि वैकल्पिक पार्टीको लागि गरिएको यात्रा नरोकिने बताए। उनले छुट्टिएर जाने सदस्यहरुको र आफूहरुको एउटै लक्ष्य भएकोले अझै एकै ठाउँमा रहेको बताए। उनले भने, 'यो हाम्रो यात्रा कुनै हालतमा रोकिँदैन। देशैभरि हुन्छ। हामी एकै ठाउँमा छौं। हामी हामीले हासिल गर्न लागेको लक्ष्य जसरी पनि हासिल गर्छौं।'

उनले अलग्गिएर जाने पार्टी सदस्यहरुसँग प्रेम अझै बाँकी रहेको बताउँदै उनीहरुसँग कुनै इर्ष्या, द्वेष, रिस, आग्रह र पूर्वाग्रह नरहेको बताए।

यसैगरी अलग्गिएको समूहले लगाएको आर्थिक पारदर्शीताबारे पनि आफूहरु स्पष्ट रहेको बताए। उनले पार्टीभित्र भएका आर्थिक कारोबारको हिसावमा पारदर्शिता भएको बताए। उनले भने, 'हुन त म अहिले घरभित्रको विमति चौतारीमा छताछुल्ल पार्दिनँ। तर जुन आरोप लगाउनुभएको छ त्यसले दुःख लागेको छ। उहाँकोबारे पनि केही होला। त्यसैले हिलो छ्यापाछ्याप गर्न चाहन्न।'

उनले पार्टीले १२/१५ लाख रुपैयाँ उठाएको बताउँदै यी कसले कुन ठाउँमा कति रकम दियो भनेर प्रस्ट हुने गरी फेसबुकमा र आफ्नो बेवसाइटमा राखिएको दाबी गरे। उनले भने, 'अडिटरले अडिट गरेको आय-व्यय तथा हामीले निर्वाचन आयोगमा बुझाएको खर्च विवरणहरु सबै बेवसाइट र फेसबुकमा राखेका छौं। त्यो भन्दा आर्थिक पारदर्शिता के होला?'

तपाइँहरु भन्दा पुरानै पार्टी ठीक हो भन्ने पत्रकारको प्रश्नमा उनले हामी भन्दा पुरानो कुनै हालतमा ठीक होइन भन्ने जवाफ दिए। उनले आफूहरु गल्ती नै नगर्ने अन्तैबाट आएको प्राणी नभएको बताउँदै बेइमानी चाहिँ नगर्ने बताए। उनले यात्रामा अहिले आएको अवरोध सानो भएको र अझै ठूला अवरोधहरु पार गर्दै जानुपर्ने बताए। उनले भने, 'यात्रामा अवरोध आइरहेका छन्। तर यो भन्दा ठूलो अवरोध नचिरिकन देश परिवर्तन हुँदैन। हामीले ठूला अवरोध पार गर्नैपर्छ। संघर्षको यात्रामा दृढ छौं।'

प्रकाशित : पुस २८, २०७५ १५:२०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अमेरिकाले सिरियाबाट सैन्य उपकरणहरु फिर्ता गर्ने

अहिलेका लागि अमेरिकाले आफ्ना सैनिक फिर्ता नगर्ने
एएफपी

वासिङ्टन — अमेरिकाले सिरियाबाट सैनिक नभएर अन्य उपकरणहरु फिर्ता गर्न लागेको जनाएको छ । यसअघि अमेरिकाले सिरियाबाट आफ्नो सैन्य सदस्यहरु नै फिर्ता गर्न लागेको बताइएको थियो । 

सिरियाको उत्तरी सहर मनबिजमा गत डिसेम्बर ३० मा देखिएका अमेरिकी सेनाका गाडीहरु । तस्बिरः एएफपी ।

अहिलेका लागि अमेरिकाले आफ्ना सैनिक फिर्ता नगर्ने निर्णय गरेको हो । अमेरिकाको प्रतिरक्षा मन्त्रालयका एकजना अधिकारीले भनेका छन्, अहिलेका लागि हामी सैनिक फिर्ता गर्दैनौँ तर पनि केही औजार, उपकरण या सामग्रीहरु भने फिर्ता गर्ने तयारी थालेका हौँ ।

सैनिक कहिलेदेखि फिर्ता गर्ने भन्ने विषयमा केही खुलाइएको छैन । ती अधिकारीले त्यहाँबाट सैनिकसँग सम्बन्धित नभई अन्य उपकरण र औजारहरु फिर्ता गर्ने प्रक्रिया भने सुरु भइसकेको जनाएका छन् ।

गत आइतबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारले अमेरिकाले सिरियाबाट सेना फिर्ता गर्ने बारेमा केही सर्तहरु राखेका थिए । उनले ती सर्त पूरा भएपछि मात्र सिरियाबाट सेना फिर्ता गर्ने बरेमा सोचिने जवाफ दिएका थिए ।

तर सैन्य नभए पनि अमेरिकाले त्यहाँ राखेका अरु उपकरणहरु भने यसैहप्ताबाट सुरु गरिने जानकारी उनले दिए । उनले त्यसो भनिरहँदा उता सैनिक प्रवक्ताले भने अमेरिकाले सिरियाबाट आफ्ना सैनिक फिर्ता गर्ने तयारी छिट्टै थाल्ने बताएका थिए ।

शुक्रबार राति पेन्टागनका प्रवक्ता कमाण्डर सिन रोबर्टसनले अमेरिकाले सिरियाबाट सेना फिर्ता गर्ने बारेमा सहमित गरिसकेको तर कहिले भन्ने बारेमा कुनै निर्णय भइ नसकेकाले सरकारको निर्णय अनुसार व्यवस्थित रुपमा सेना फर्काइने बताए ।

उनले भनेका छन्, यो हामीले मात्र गरेर हुँदैन र सिरियामा हामीलाई साथ दिइरहेका देशहरुसँग पनि आवश्यक परामर्श र सल्लाह गरेर फिर्ता गर्ने निर्णय हुनेछ ।

उनले अबका केही दिनमा सिरियाको वास्तविकता हेरेर, शान्ति सुरक्षा या अन्य कारणले के कति सेनाको आवश्यकता पर्छ भन्ने बारेमा विश्लेषण गरेर मात्र सेना फिर्ता गर्ने बारेमा निर्णय गरिने बताएका छन् । यसरी फिर्ता गरिने सामग्रीमा अमेरिकाले त्यहाँ लगेका गैरसैनिक सहयोगका उपकरण तथा सामग्रीहरु, गैर सैनिक र आवश्यक नरहेका कर्मचारीहरु पनि त्यहाँबाट फिर्ता गरिने छ ।

अमेरिकाले विशेषगरी सिरियाको उत्तरपश्चिमी क्षेत्रका रेमिलान, हासाकेह प्रान्तमा बढी मात्रामा सैनिक राखेको छ । ती क्षेत्रमा सिरियाली सरकारी समर्थक समूह, सिरियाली सैनिक र आइएस समर्थनको मुस्लिम जिहादी समूहको बढी प्रभाव रहेको छ ।

सोही कारणले त्यहाँका सरकार विरोधी समुदाय र नागरिकको सुरक्षा र संरक्षणका लागि अमेरिकी नेतृत्वमा केही देशले त्यहाँ सेना पठाएका छन् । अमेरिको नेतृत्वमा स्थापना भएको सिरिया सहयोग समूहका तर्फबाट त्यहाँ सेना पठाइएको छ ।

ती सैनिकले ती क्षेत्रमा विशेषगरी सिरियामा त्यहाँका राष्ट्रपतिको बहिर्गमनको माग राखेर आन्दोलन गरिरहेको विपक्षी समूहहरुको संरक्षण तथा इस्लामिक जिहादीहरुका विरुद्धमा कारबाही गर्ने गर्दछ ।

प्रकाशित : पुस २८, २०७५ १४:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT