१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

विवेकशील साझाले भन्यो- 'अलग्गिएका साथीहरुसँग कुनै बिन्दूमा फेरि मिलन हुन्छ'

कञ्चन अधिकारी

काठमाडौँ — विवेकशील साझा पार्टीले छुट्टिएका पार्टी सदस्यलाई औपचारिक संवादको लागि आग्रह गरेको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा संयोजक रवीन्द्र मिश्रले असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला रहेको बताउँदै चित्त नबुझेको विषयमा औपचारिक वार्ता गर्न आग्रह गरेका छन्। 

विवेकशील साझाले भन्यो- 'अलग्गिएका साथीहरुसँग कुनै बिन्दूमा फेरि मिलन हुन्छ'

उनले भने, 'छुट्टिएर गएका केही साथीहरु सम्पर्कमा हुनुहुन्छ । अहिले नै औपचारिक संवाद गरिसकेका छैनौं । तर संवादको बाटो पनि बन्द गर्दैनौं ।' उनले केही समयअघि चिया खाएर वार्ता गरौं भनेको र चिया पसलमा वार्ता नगरे रिसोर्टमा पनि जाउँ भनेको घटना सम्झिए ।


उनले अझै पनि विवेकशील साझा पार्टी नै नेपालको वैकल्पिक पार्टी रहेको बताउँदै यसपटक केही जटिलता आएपनि कुनै बेला फेरि एउटा बिन्दूमा मिल्न सकिने बताए । उनले भने, '२०४६ सालको आन्दोलनपछि समाजमा रहेका केही राम्रा मान्छेले वैकल्पिक पार्टीको प्रयास गरेका थिए। तर उनीहरु सफल हुन सकेनन् । तर हामी त्यो भन्दा माथि उठ्छौं भन्ने थियो । तर यसपटक केही जटिलता आयो। एउटा बिन्दू आउँछ । फेरि हामी मिल्छौं । त्यो मिलन बिन्दूबाट झन् सशक्त हुनेछौं ।'


संयोजक मिश्रले छुट्टिएर गए पनि वैकल्पिक पार्टीको लागि गरिएको यात्रा नरोकिने बताए । उनले छुट्टिएर जाने सदस्यहरुको र आफूहरुको एउटै लक्ष्य भएकोले अझै एकै ठाउँमा रहेको बताए । उनले भने, 'यो हाम्रो यात्रा कुनै हालतमा रोकिँदैन । देशैभरि हुन्छ । हामी एकै ठाउँमा छौं । हामी हामीले हासिल गर्न लागेको लक्ष्य जसरी पनि हासिल गर्छौं ।'


उनले अलग्गिएर जाने पार्टी सदस्यहरुसँग प्रेम अझै बाँकी रहेको बताउँदै उनीहरुसँग कुनै इर्ष्या, द्वेष, रिस, आग्रह र पूर्वाग्रह नरहेको बताए ।


यसैगरी अलग्गिएको समूहले लगाएको आर्थिक पारदर्शीताबारे पनि आफूहरु स्पष्ट रहेको बताए । उनले पार्टीभित्र भएका आर्थिक कारोबारको हिसावमा पारदर्शिता भएको बताए । उनले भने, 'हुन त म अहिले घरभित्रको विमति चौतारीमा छताछुल्ल पार्दिनँ । तर जुन आरोप लगाउनुभएको छ त्यसले दुःख लागेको छ । उहाँकोबारे पनि केही होला । त्यसैले हिलो छ्यापाछ्याप गर्न चाहन्न ।'


उनले पार्टीले १२/१५ लाख रुपैयाँ उठाएको बताउँदै यी कसले कुन ठाउँमा कति रकम दियो भनेर प्रस्ट हुने गरी फेसबुकमा र आफ्नो बेवसाइटमा राखिएको दाबी गरे । उनले भने, 'अडिटरले अडिट गरेको आय-व्यय तथा हामीले निर्वाचन आयोगमा बुझाएको खर्च विवरणहरु सबै बेवसाइट र फेसबुकमा राखेका छौं । त्यो भन्दा आर्थिक पारदर्शिता के होला ?'


तपाइँहरु भन्दा पुरानै पार्टी ठीक हो भन्ने पत्रकारको प्रश्नमा उनले हामी भन्दा पुरानो कुनै हालतमा ठीक होइन भन्ने जवाफ दिए । उनले आफूहरु गल्ती नै नगर्ने अन्तैबाट आएको प्राणी नभएको बताउँदै बेइमानी चाहिँ नगर्ने बताए । उनले यात्रामा अहिले आएको अवरोध सानो भएको र अझै ठूला अवरोधहरु पार गर्दै जानुपर्ने बताए । उनले भने, 'यात्रामा अवरोध आइरहेका छन् । तर यो भन्दा ठूलो अवरोध नचिरिकन देश परिवर्तन हुँदैन । हामीले ठूला अवरोध पार गर्नैपर्छ । संघर्षको यात्रामा दृढ छौं ।'

प्रकाशित : पुस २८, २०७५ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?