१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

जाडोले रोकियो कालोपत्रे

विमल खतिवडा

काठमाडौँ — चिसो अत्यधिक बढेपछि उपत्यकाभित्र निर्माणाधीन सडक कालोपत्रेको काम रोकिएको छ । काम रोकिँदा सबैभन्दा बढी समस्या त्रिपुरेश्वर-कलंकी-नागढुंगा र चाबहिल-जोरपाटी-साँखु सडकमा परेको छ । 

जाडोले रोकियो कालोपत्रे

कलंकी-नागढुंगा खण्डको १२ किमिमध्ये ७ किमि मात्रै कालोपत्रे भएको छ । निर्माण थालेको ३ वर्ष पूरा भइसकेको छ । ठेक्का सम्झौताको समय सकिइसकेको छ । काम भने आधाजसो मात्रै भएको छ ।

चार भागमा विभाजन गरेर ठेक्का लगाइएको सडकमा तीनवटा खण्डको ठेक्का शैलुङ कन्स्ट्रक्सनले ज्वाइन्ट भेन्चरमा लिएको थियो । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले यो आर्थिक वर्षभित्र उक्त खण्डको निर्माण पूरा हुने जनाएको छ ।


‘जाडो महिनामा पिच हुँदैन, पिचबाहेकको काम भइरहेको छ,’ आयोजनाका प्रवक्ता एवं इन्जिनियर विश्वविजयलाल श्रेष्ठले भने, ‘दिउँसो गाडी धेरै गुड्छन् । यस्तो अवस्थामा पिच गर्न सकिँदैन । राति काम गर्नुपर्ने हुन्छ । राति चिसोका कारण पिचका लागि तापक्रम मिल्दैन ।’


उनका अनुसार पुस १० देखि पिच निर्माणको काम रोकिएको छ । माघमा पनि पिचको काम हुने छैन । ‘पिच गर्नका लागि १५/२० डिग्रीसम्मको तापक्रम चाहिन्छ,’ उनले भने, ‘चिसोमा तापक्रम माइनसमा झर्छ । त्यसैले फागुनबाट मात्रै पिच सुरु हुनेछ ।’ उनका अनुसार अहिले पिच गर्दा कालोपत्रेले काम गर्दैन । ‘सडकमा खन्याउन नपाउँदै कालोपत्रे जम्छ,’ उनले भने, ‘यस्तो अवस्थामा पिच गर्दा सडक टिकाउ हुँदैन ।’


चाबहिल(जोरपाटी खण्डमा अहिलेसम्म ४/५ सय मिटरभन्दा बढी पिच हुन सकेको छैन । ‘खासै काम भएको छैन,’ इन्जिनियर श्रेष्ठले भने, ‘तोकिएको समयभन्दा ढिलो हुने निश्चित छ ।’ अहिले गोकर्ण रिसोर्टअगाडि मात्रै पिच भएको छ ।


ठेक्का सम्झौता सकिए पनि थपेर काम गराउने उनले बताए । ‘कतै मुआब्जा, कतै विद्युतीय पोल/तारले गर्दा निर्माणमा समस्या भएको थियो,’ उनले भने, ‘साउनमा मात्र मन्त्रिपरिषद्ले यथास्थितिमा काम गर्नू भनेको हो ।

त्यसैले निर्माण व्यवसायीलाई काम गर्न दिनुपर्ने हुन्छ ।’ अहिले नाली बनाउने, ह्युमपाइप राख्ने, सडक खन्ने काम भइरहेको उनले बताए । निर्माण ढिलो हुँदा स्थानीय आक्रोशित छन् । कतै धूलोले गर्दा व्यापार घटेको छ, कतै खाल्डाखुल्डीले दुर्घटनाको जोखिम छ ।


‘कहिलेसम्म धूलो खाएर व्यापार गर्ने ?’ चाबहिलका कपडा व्यवसायी धीरज श्रेष्ठले भने, ‘धूलोले गर्दा व्यापार चौपट भएको छ । भाडा तिर्नसमेत धौधौ छ । सडक लथालिंग पारिएको छ । बनाउनेभन्दा बिगार्ने काम धेरै भएको छ ।’


कलंकीदेखि नागढुंगा क्षेत्रका स्थानीय र व्यापारी यही समस्या झेलिरहेका छन् । मास्क नलगाई पसलमा बस्न र सडकमा हिँडडुल गर्न सकिँदैन । बार्दलीमा लुगा सुकाउँदा धूलोले पुर्ने गरेको छ ।


सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता मुक्ति गौतमले सडक निर्माणमा ढिलाइ नहुने र चैतसम्म निर्माण सक्ने दाबी गरे । त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडकको पहिलो खण्डको ठेक्का बज्रगुरु/बिरुवा/सीएम जेभीले लिएको छ ।

०७२ असार ३१ मा ठेक्का सम्झौता भएको यो खण्डको काम ०७५ कात्तिक ३० मा सक्नुपर्ने हो । अन्य खण्डको ठेक्का लिएका शर्मा/शैलुङ/कान्छाराम जेभी र लुम्बिनी/शैलुङ/साप जेभीले ०७२ असार ३१ मा ठेक्का सम्झौता गरी ०७५ असोज ३० मा काम सक्नुपर्ने हो ।


त्यस्तै यही खण्डको शर्मा/शैलुङ/कान्छाराम जेभीले ०७२ असार ३१ मा सम्झौता गरी ०७५ पुसमा ठेक्का सक्नुपर्ने थियो । चार खण्डको ठेक्का रकम १ अर्ब ६३ करोड ८८ लाख ९४ हजार रुपैयाँ छ । चाबहिल-जोरपाटी-वाग्मती-साँखु खण्डको ठेक्काको समयावधि केहीको सकिएको छ, केहीको बाँकी छ । ५ खण्डमा विभाजन गरेर निर्माण जारी राखिएको छ ।

प्रकाशित : पुस २८, २०७५ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?