२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

त्रिविको जग्गामा प्राध्यापक र कर्मचारीको रजाइँ

प्राध्यापक र कर्मचारी संघले आफूखुसी जग्गा भाडामा लगाएर लाखौं कमाउँछन् । त्यसको थोरै हिस्सा पनि विश्वविद्यालयको खातामा जाँदैन ।
मकर श्रेष्ठ

काठमाडौँ — शैक्षिक प्रयोजनले अधिग्रहण गरिएको जग्गालाई त्रिभुवन विश्वविद्यालयका प्राध्यापक र कर्मचारीले कमाइको थलो बनाएका छन् । नेपाल प्राध्यापक संघ, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघले आफूखुसी जग्गा भाडामा लगाइरहेका छन् । 

त्रिविको जग्गामा प्राध्यापक र कर्मचारीको रजाइँ

नेपाल प्राध्यापक संघले मात्रै जग्गाभाडाबाट मासिक २ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छ । त्यस्तै कर्मचारी संघले १ लाख र त्रिवि प्राध्यापक संघले १ लाख २५ हजार रुपैयाँ असुल्छन् । तर, यो रकम विश्वविद्यालयको खातामा पुग्दैन ।


जग्गाभाडाको आम्दानी पारदर्शी नरहेको कर्मचारी र प्राध्यापक बताउँछन् । कर्मचारी संघका पदाधिकारीले न्यून रकममा भाडा लगाएर अनियमितता गरेको कर्मचारीको आरोप छ । प्राध्यापक संघले पनि ठेक्कामा ‘साँठगाँठ’ गर्ने गरेको आरोप छ ।


जग्गा प्राप्ति ऐन २०३४ को दफा ४ अनुसार अधिग्रहण गरिएको जग्गा कर्मचारी, मजदुर बस्ने घर बनाउन प्रयोग गर्न सकिन्छ । तर, यहाँ संघका सीमित पदाधिकारीले त्यसलाई व्यापारिक स्वार्थमा प्रयोग गरिरहेका छन् । बल्खुबाट चोभारतर्फ जाँदा त्रिवि गेटअगाडि रहेको जग्गा र सटर कर्मचारी संघ र प्राध्यापक संघले व्यवसायीलाई भाडामा दिएका हुन् । कर्मचारी संघले विश्वविद्यालयको जग्गामा पेट्रोल पम्प राख्न दिएको छ । कागजी रूपमा मासिक जम्मा ३५ हजार लिने गरी २०६७ देखि रसकटर पेट्रोल पम्पलाई जग्गा दिएको हो । ‘मूल बाटोको यति धेरै जग्गा १५ वर्षसम्मका लागि सस्तोमा भाडा किन दिइयो ? हामीले आवाज उठाए पनि कतैबाट छानबिन भएन,’ एक कर्मचारीले भने, ‘आर्थिक पारदर्शिता छैन । विश्वविद्यालयको जग्गालाई प्राध्यापक र कर्मचारी संघले कमाइखाने भाँडो बनाएका छन् ।’


त्रिवि कर्मचारी संघले भाडामा लगाएको त्रिविकोको जग्गामा ब्लक फयाक्ट्री ।

.....................................................................................................................................................................................................


कर्मचारी संघले ओगटेको जग्गामा ब्लक फ्याक्ट्रीसमेत छ । संघले मूल सडकसँगैको रातो भवनका सबै सटर भाडामा लगाएको छ । प्रतिसटर न्यूनतम ५ हजार रुपैयाँ छ । तिनमा ‘भट्टी’ समेत राखिएका छन् । ब्लक फ्याक्ट्रीको गेटमा होन्डा मोटरसाइकलको सर्भिसिङ सेन्टर खोलिएको छ । ‘कागजमा थोरै भाडा देखाउने अनि पदाधिकारीले कमाउने गर्छन्,’ एक कर्मचारीले भने, ‘कर्मचारी र प्राध्यापकका पदाधिकारीले यता कमाउन छाडेपछि विश्वविद्यालयका पदाधिकारीलाई पनि दु:ख दिँदैन भन्ने होला ।’ कर्मचारी संघले सटर, पेट्रोल पम्प र ब्लक फ्याक्ट्रीबाट मासिक करिब एक लाख रुपैयाँ लिन्छ ।


त्रिवि प्राध्यापक संघले बल्खुस्थित जनप्रशासन क्याम्पससँगैको ५ रोपनी जग्गा मासिक ७५ हजार रुपैयाँ भाडा लिने गरी विदुरकुमार ढुंगेललाई दिएको छ । ढुंगेलले पनि यसअघि नेपाल ग्यासलाई एक लाख रुपैयाँमा भाडामा दिएका थिए । अहिले आफैं तारजाली बुन्ने उद्योग खोलेका छन् ।‘केही पैसा अझै उठ्न बाँकी छ,’ संघ अध्यक्ष योगेन्द्र बडबडियाले भने, ‘जति आम्दानी हुन्छ, हिसाब पारदर्शी हुन्छ ।’



नेपाल प्राध्यापक संघ र त्रिवि प्राध्यपाक संघले भाडामा लगाएको त्रिविको १० रोपनी रहेको थापा नर्सरी । प्राध्यपाक संघले ६ रोपनीको ७५ हजार र त्रिवि प्राधयपाक संघले ३ रोपनीको ६० हजार रुपैयाँ नर्सरी सञ्चालकले बुझाउने गरेका छन् ।

.....................................................................................................................................................................................................


विश्वविद्यालय गेटअगाडिको जग्गा दुवै प्राध्यापक संघको गतिलो आम्दानीस्रोत हो । नेपाल प्राध्यापक संघले यहीँबाट मासिक दुई लाखभन्दा बढी कमाउँछ । १० रोपनी जग्गा थापा नर्सरीलाई दिइएको छ । यसबापत नेपाल प्राध्यापक संघले मासिक ७५ हजार र त्रिवि प्राध्यापक संघले ६० हजार बुझ्छन् । नेपाल प्राध्यापक संघले नर्सरीसँगैको अतिथि प्राध्यापक आवासगृहलाई व्यावसायिक ‘गेस्ट हाउस’ जस्तो बनाएको छ । त्यहाँका कोठा रातको २ सय रुपैयाँमा सर्वसाधारणलाई पनि दिइन्छ । प्राध्यापकलाई ७५ रुपैयाँ । दिनको एक हजारका दरले हिसाब गर्दा पनि गेस्टहाउसबाट मासिक ३० हजार रुपैयाँ हुन्छ । संघले आफ्नो भवनका सातवटा सटर भाडामा लगाएको छ । एउटाको ९ हजार रुपैयाँ । सटरभन्दा तल्लो तलामा होटल राखेर १० हजार रुपैयाँ भाडा लिँदै आएको छ । ‘जति आउँछ, पारदर्शी रूपमा राख्ने गरेका छौं,’ नेपाल प्राध्यापक संघ अध्यक्ष रामेश्वर उपाध्यायले भने, ‘विश्वविद्यालयलाई दिनुपर्दैन ।’


नेपाल प्राध्यापक संघको भवन । यो भवनको सात वटा सटर भाडामा लगाएका छन् । एउटा सटरको कम्तीमा ९ हजारमा भाडा लगाएका छन् ।

.....................................................................................................................................................................................................


संघले यी सबै संरचनाको एकमुष्ट भाडा उठाउने गरी माइकल लामालाई ठेक्का दिएको छ । लामाले अघिल्लो वर्षसम्म प्रतिसटर ९ हजार लिने गरेकोमा अहिले १५ हजार पुर्‍याएका छन् । लामाले ठेक्का पार्न भन्दै सटर भाडामा लिएकाहरूसँग प्रतिव्यक्ति कम्तीमा ९० हजार रुपैयाँ उठाएका थिए ।


प्राध्यापकका लागि तोकिएको गेस्टहाउस लामाले महँगो रकममा सर्वसाधारणलाई समेत दिन थालेका हुन् । संवाददाताले शनिबार फोन गरेर कोठा माग्दा पनि उनी दिन तयार भए । ‘हामी सिधै प्राध्यापक संघलाई भाडा बुझाउन चाहन्छौं तर संघले ठेकेदारमार्फत आउन आग्रह गर्छन्,’ एक व्यापारीले भने, ‘जति लिने हो संघलाई बुझाउन नपाउँदा यहाँ केही चलखेल हुन्छ भन्ने लाग्यो ।’ साढे सात वर्षदेखि ठेक्का चलाइरहेका लामाले सटरभाडा एकैचोटि १५ हजार पुर्‍याएपछि व्यवसायी आन्दोलित छन् ।


त्रिवि प्राध्यापक संघले भाडामा लगाएको त्रिविको ५ रोपनी जग्गामा सञ्चालन भएको तार जाली उद्योग । यो जग्गाबाट त्रिवि प्राध्यापक संघले ७५ हजार रुपैयाँ मासिक भाडा लिने गरेको छ ।

.....................................................................................................................................................................................................


संघ अध्यक्ष उपाध्याय भने पारदर्शी बनाउनकै लागि ठेक्का दिएको दाबी गर्छन् । उनले प्राध्यापकलाई सहुलियतमा आवास व्यवस्था गरिरहेको बताए । ‘हाम्रो अरू आम्दानीको स्रोत केही छैन । यही भवन र नर्सरीबाट आएको पैसाले कार्यालय सञ्चालन, गोष्ठी, सेमिनार गर्न पुर्‍याउनुपर्छ,’ उनले भने, ‘हामी त्रिविको अभिन्न अंग हौं । अरू संस्थासँग जोड्न मिल्दैन ।’ माइकल लामाले संघलाई तिर्नुपर्ने पैसा नतिरेपछि ठेक्का रद्द गरिएको पनि उपाध्यायले बताए ।


यो पनि पढौं : त्रिविको १२०० रोपनी बाँडचुँड, जग्गा बाँड्दै, पद जोगाउँदै

त्रिविको जग्गा मिचेर बाटैबाटो


प्रकाशित : पुस २८, २०७५ २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?