५११ हिमताल थपिए

गोविन्द पोखरेल

काठमाडौँ — नेपालमा ३० वर्षको अवधिमा ५ सय ११ वटा हिमताल थपिएका छन् । जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगका हिमनदी पग्लन थालेपछि हिमतालको संख्या बढेको हो ।

लोत्से हिमाल नजिकैको सुप्रा हिमताल । तस्बिर सौजन्य : सुदीप ठकुरी 

त्रिभुवन विश्वविद्यालय र चाइनिज एकेडेमी अफ साइन्सको इन्स्टिच्युट अफ तिब्बेतीयन प्लेटुले सन् १९७७ देखि २०१७ सम्म नेपालमा रहेका हिमतालको अवस्थाबारे गरको अनुसन्धानले हिमताल बढेको देखाएको छ । अनुसन्धानअनुसार ३० वर्षको समयावधिमा हिमतालको क्षेत्रफल २५ प्रतिशतले बढेको छ । एक वर्ष लगाएर गरिएको अनुसन्धानमा ०.३६ हेक्टरभन्दा माथि क्षेत्रफल भएका हिमताललाई समावेश गरिएको थियो ।

नेपालमा सन् १९८७ मा ६५ वर्गकिलोमिटर क्षेत्रफल हिमतालले ओगटेका थिए, अहिले यो क्षेत्रफल ८१ वर्गकिलोमिटर पुगेको छ । थपिएका हिमतालले ओगटेको क्षेत्रफल १० दशमलव १ वर्गकिलोमिटर छ । २ हजार ४ सय ५६ देखि ५ हजार ८ सय ९३ मिटर उचाइमा नयाँ हिमताल बनेका छन् ।

थपिएका सबै हिमताल कोसी नदी बेसिनमा छन् । ४ हजार ४३ मिटरदेखि ५ हजार ६ सय मिटरको उचाइमा रहेका १ सय २ वटा हिमताल भने हराएका छन् । अनुसन्धानमा खटिएका त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. सुदीप ठकुरीका अनुसार २० वर्षको अवधिमा तालको औसत क्षेत्रफल २५ प्रतिशतले बढेको छ । नेपालमा सन् १९८७ मा १ हजार १ सय ३७ वटा हिमताल थिए । सन् २०१७ मा आएर १ हजार ५ सय ४१ वटा पुगेको छ । यसले जलवायु परिवर्तन र तापक्रम वृद्धिको असर देखाउने ठकुरीले बताए ।

हिमतालहरुलाई तीन प्रकारमा वर्गीकरण गरेर अनुसन्धान गरिएको थियो। जसमा ‘सुप्रा ग्लेसियल,प्रो ग्लेसियल र अनकनेक्टेड’तालहरु छन्। हिमनदीको छेउछाउमा बनिने ‘प्रो ग्लेसियल’ ताल यो अवधिमा एक सय ८१ प्रतिशतको दरले बढेको पाइएको छ। यी तालहरुको क्षेत्रफल ८१ प्रतिशतको दरले बढेको अनुसन्धानले देखाएको छ।

सगरमाथा नजिकै बनेको ईम्जा ताल । तस्बिर सौजन्यः सुदीप ठकुरी

हिमनदीका बरफ पग्लिएपछि पानी बनिने र त्यही पानी हिमनदीको हिउँलाई झन् पगाल्न मद्दत गर्छ। जसका कारण ‘प्रो ग्लासियल ताल’को संख्या बढेको ठकूरीले बताए। ‘प्रो ग्लेसियल’ तालले तापक्रम वृद्धिको अवस्था जनाउँछ। ठकुरीका अनुसार हालै गरिएको एक अनुसन्धानमा सन् १९७६ देखि २०१५ मा वार्षिक औसत तापक्रम शून्य दशमलव शून्य चार प्रतिशतको दरले बढेको पाइएको छ।

२०१५ मा भएको एक अध्ययनबाट वर्षाको परिणाम ९ मिलिमिटर प्रति वर्षको दरले घटेको देखिन्छ। ‘अनकनेक्टेड ताल’हरुले वर्षाको अवस्थाबारे जानकारी दिन्छन्। यी तालहरु २० वर्षको अवधिमा घट्दो रहेको अनुसन्धानकर्ता ठकूरीले बताए। उच्च हिमाली क्षेत्रमा रहेका तालहरुलाई वर्षा परिवर्तनको सूचको रपमा समेत चिनिन्छ।

हिमाली क्षेत्रमा हिमतालहरुको संख्या बढेपछि यसले तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेहरु हिमताल विष्फोटनको उच्च जोखिममा परेको ठकूरीले बताए। उनका अनुसार हिमताल विष्फोटनको खतरा बढेर गएको छ।

उक्त अनुसन्धानले नेपाललाई हिमताल विष्फोटनको सम्भावित खतराहरुबाट जोगिन तत्काल उपायहरु खोज्न समेत सुझाएको छ। कर्णाली र गण्डकी खोलाको तुलानामा कोसी नदीको उपल्लो क्षेत्रहरुमा हिमतालहरुको क्षेत्रफल बढ्दो अवस्थाममा रहेकाले त्यसतर्फ पनि ध्यान दिन आग्रह गरिएको छ।

नेपालमा अबका दिनहरुमा हिमतालहरुको संख्या बढ्दै जाने निष्कर्ष निकाल्दै प्रत्येक दशकमा हिमतालहरुको अनुसन्धान तथा यस्ता क्षेत्रहरुमा नियमित अध्ययन आवश्यक रहेको औँल्याइएको छ। यो अनुसन्धानले नेपालको हिमतालहरुको संख्या समेत निर्धारण गरेको छ। भू–उपग्रहबाट लिएको तस्बिरबाट अनुसन्धान गरिएको थियो।

प्रकाशित : पुस २९, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्

फेरियो माघी

कुनै समय रमाइलोभन्दा दु:खको पर्व बनेर थारु गाउँ पस्थ्यो माघी । धेरै थारु बालिका कम्लरी भएर अर्काको घर जान्थे । पुराना कमैया कम्लरी नवीकरण गरिन्थे । अहिले माघी आउनै लाग्दा अधिकांश घर रंगिएका छन् ।
दुर्गालाल केसी, ठाकुरसिंह थारू

दाङ/नेपालगन्ज — कुनै समय थियो, माघी आयो कि कमैया कम्लरीको चहलपहल हुन्थ्यो । रमाइलोभन्दा दु:खको पर्व बनेर थारू गाउँ पस्थ्यो माघी । धेरै थारू बालिका कम्लरी भएर अर्काको घर जान्थे । पुराना कमैया कम्लरी नवीकरण गरिन्थे । अहिले फेरिएको छ ।

उद्योग वाणिज्य संघ बर्दियाले शनिबार आयोजना गरेको माघी महोत्सवमा निकालिएको थारू संस्कृति झल्कने र्‍याली ।तस्बिर : कमल पन्थी/कान्तिपुर

माघी आउनै लाग्दा अधिकांश थारू गाउँका घर रंगिएका छन् । दिनहुँजसो नाचगान र खानपिन चलिरहेछ । पर्व तयारीमा भ्याइनभ्याइ देखिन्छन् उनीहरू ।

‘विगतमा अरूको घरमा काम गर्न जानुपर्ने पर्व थियो यो,’ मुक्त कम्लरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष सुनीता चौधरीले भनिन् । अगुवा महतवा संघका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीका अनुसार माघी थारू समुदायमा नयाँ काम थाल्ने अवसर बन्दै गएको छ । ‘गाउँको अगुवा छान्ने, वर्षभरिका नयाँ योजना बनाउने, छोरीका लागि केटा खोज्ने र विवाह गर्ने समय बनेको छ,’ उनले भने ।

उनका अनुसार माघी ५ दिन चल्छ । पुस २८ गते माछा मारिन्छ भने २९ गते खसी, सुंगुर र कुखुरा काटिन्छ । ३० गते तरुल र गन्जी खन्ने गरिन्छ । माघ १ गते माघीका दिन बिहानै उठेर नदीमा नुहाएर चामल, दाल र नुन मिसाएको निसराउ छुइन्छ । मान्यजनको घरमा गएर टीका लगाइन्छ । बेलुकीपख अगुवा महतवाको घरमा सबैजना जाँड, रक्सी र तरकारी लिएर भेला हुन्छन् ।

सबै मिलेर खाएपछि नयाँ महतवा चयन गरिन्छ । नयाँ योजना बनाइन्छ । महतवाको घरबाट सुरु गरी सबै घरमा पुगेर नाचिन्छ । भोलिपल्ट दिदीबहिनीको घरमा भिक्षा दिन जाने चलन छ । अन्त्यमा नाचगानको पैसाबाट भोज गरेर माघी समापन हुन्छ ।

माघी पर्व हलो जोत्ने, बाली भित्र्याउनेजस्ता कामसँग सम्बन्धित रहेको थारू संस्कृतिका अध्येता महेश चौधरीले बताए । ‘खेतीपाती गर्ने, गरगहना लगाउने, पूजाआजा गर्ने, नाचगान गर्ने परम्परा पुरानै हो,’ उनले भने, ‘थारू जातिभित्र विविधतापूर्ण संस्कृति छ । कुनै समुदायमा घोडाको पूजा गर्ने चलन पनि छ ।’ थारूले मुसा, घोंगीजस्ता परिकार आदिमकालदेखि खाँदै आएको उनले बताए । ‘अहिले पनि थारू घरमा माघीमा यी सबै परिकार पाक्छन्,’ उनले भने ।

माघीमा नयाँ योजना गीतमार्फत व्यक्त गरिन्छ । यसलाई मघौटा भनिन्छ । ‘अब नयाँ के गर्ने भन्नेबारे हरेक घरमा योजना बन्छ, गाउँको अगुवा छानिन्छ,’ थारू कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरीले भने, ‘घर बनाउने, विवाह गर्नेजस्ता घरायसी कामका योजना पनि बन्छन् ।’

लोकतान्त्रिक अभ्यास
अघिपछि परिवारका सदस्य घरमूलीसँग कमै बोल्छन् । स्थानीयले बडघर (गाउँको अगुवा) सँग वादविवाद गर्दैनन् । तर माघी यस्तो लोकतान्त्रिक पर्व हो, जसले निर्धक्कसाथ बोल्ने अवसर जुराउँछ । घरमूली र बडघरले गरेका निर्णयको ठाडै आलोचना गर्न छुट दिइन्छ । त्यसैले माघीलाई लोकतान्त्रिक पर्व भन्न थालिएको छ ।

माघीको दोस्रो दिन परिवारका सबै सदस्य भेला हुन्छन् । बुबा, आमा, श्रीमान्, श्रीमतीदेखि छोराछोरीसमेत सामूहिक खानपिन (खोज्नीबोज्नी) गर्छन् । ‘घरमूलीले वर्षभरि गरेका काम, कारबाही र आयव्यय मौखिक रूपमा प्रस्तुत गर्छन् । पालैपालो हरेक सदस्यलाई टिप्पणी गर्न समय दिइन्छ,’ बाँके बैजनाथ गाउँपालिका–८, फत्तेपुरका पूर्वबडघर चन्द्रबहादुर चौधरीले भने ।

उनका अनुसार घरमूलीको कामप्रति चित्त नबुझे परिवारका सदस्यले अर्कैलाई घरमूली छनोट गर्नछन् । गल्ती–कमजोरी सच्याउन तयार भए पुरानैलाई निरन्तरता दिन सक्छन् । उमेर पुगेका मात्रै होइन, परिवारका सदस्यका रूपमा रहेका छोराछोरीले पनि आफ्ना कुरा राख्न पाउँछन् । उनीहरूले बढी काम गर्नुपरेकोदेखि लिएर खानपिन, लत्ताकपडाका कुरा पनि राख्छन् । उनीहरूको मागलाई घरमूलीले सम्बोधन गर्नुपर्छ । ‘यसले परिवारका सदस्यबीच सम्बन्ध कसिलो बनाउँछ,’ पूर्वबडघर चन्द्रबहादुरले भने, ‘परिवारबीच सम्बन्ध सुधारसँगै लोकतन्त्रको अभ्यास गर्न सिकाउँछ ।’

परिवारभित्र खोज्नीबोज्नी सकेपछि बडघरको पालो आउँछ । गाउँभरिका किसानले भेला भएर बडघरको भूमिकाप्रति प्रश्न गर्छन् । बडघरले सबैको जवाफ दिनैपर्छ । विवाह, मृत्यु संस्कार, देवीदेवताको पूजा, गाउँमा भएका आम्दानी तथा खर्च र सार्वजनिक कामबारे बडघरले कुरा राख्छन् । सबैले त्यसमा टिप्पणी गर्छन् ।

बडघरको भूमिका प्रभावकारी भए/नभएको छलफल गरिन्छ । ‘भूमिका सकारात्मक नभए नेतृत्वका लागि खुला निर्वाचन गरिन्छ, एकभन्दा बढी बडघरको दाबी गर्ने देखिए हात उठाएरै मत दिइन्छ,’ बाँके बैजनाथ गाउँपालिका गुरदियालपुर गाउँका बडघर केदार थारूले भने, ‘कुनै–कुनै गाउँमा बडघरका लागि चुनाव नै हुन्छ ।’

गाउँका लागि आफ्नै तरिकाले नीति–नियम बनाइन्छ । सार्वजनिक कामका लागि श्रमदान, विवाह, मृत्यु संस्कारका लागि आवश्यक पर्ने जनशक्ति परिचालन, देवीदेउताको पूजा, थारू देउताको देउथानको हेरदेख, कुलो, पानीलगायत कामको नीति बन्छ । त्यही नीतिका आधारमा बडघरले गाउँको नेतृत्व गर्छन् ।

पश्चिम तराईका अधिकांश जिल्लामा माघी मनाउने तरिका उस्तै रहेको बडघर बताउँछन् । माघीको एक–दुई दिनपछि थारू समुदायलाई आवश्यक पर्ने कपाल काट्ने नाउ, कृषि औजार बनाउने लोहार, गाउँमा झारफुक र देउताको पूजा गर्ने गुरुवा, सहायक गुरुवा केसउका, देउताको मूर्ति बनाउने कुम्हार, गाउँको सुरक्षामा खटिने चौकीदार, देउथानमा लिपपोत गरी पूजा गर्ने चिरकियालगायत जनशक्तिको छनोट गरिन्छ । उनीहरूको पारिश्रमिक वार्षिक तोकिएको हुन्छ । किसानले उनीहरूलाई वार्षिक रूपमा धान दिने गर्छन् ।

प्रकाशित : पुस २९, २०७५ ०७:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT