२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

डा. केसीको स्वास्थ्य खस्कँदै

इलाम — स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै आन्दोलनरत डा. गोविन्द केसीले चौथो दिन पनि अनशन जारी राखेका छन् । पुस २५ गतेदेखि अनशन थालेका केसीको स्वास्थ्यमा समस्या देखिन थालेको छ ।

डा. केसीको स्वास्थ्य खस्कँदै

केसीको स्वास्थ्यमा समस्या देखिएपछि भुइँको ओछ्यानबाट बेडमा सारिएको छ । दिनभर बेडमा सुतेका डा.केसीले शनिबार कोहीसँग पनि बोलचाल गरेनन् । स्वास्थ्यमा गम्भीर समस्या नभए पनि बिग्रँदो अवस्था रहेकाले सावधानी अपनाउन सुझाव दिइएको सहयोगी चिकित्सकले जनाएका छन् ।


हिजोको भन्दा स्वास्थ्य अवस्था खस्किएको जनाउँदै ग्लुकोजको मात्रा घटेको र खोकी र निमोनियाको जोखिम रहेको सहयोगी डा.रामकृष्ण आचार्यले जानकारी दिए । ‘स्लाइन लगाउन हामीले अनुरोध गरेका छौं तर उहाँले मान्नुभएको छैन,’ उनले भने, ‘स्वास्थ्य गम्भीर नदेखिए पनि अवस्था खस्कँदो छ ।’


इलाम अस्पताल र सहयोगी स्वास्थ्यकर्मीले दैनिक २ पटक परीक्षण गर्दै आएका छन् । १५ औं अनशनपछि सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै उनले इलाममा पुन: अनशन थालेका हुन् । चौथो दिनसम्म अनशन चलिरहँदा केसीको मुद्दामा समर्थन जनाउनेको संख्या पनि थपिँदै गएको छ । दिनभर शुभेच्छुकको बाक्लो उपस्थिति थियो । शनिबार पनि केसीको समर्थनमा र्‍याली निकालिएको छ । यसअघि मौन र्‍याली निकाल्दै आएका शुभेच्छुकले शनिबार भने केसीको पक्षमा खुलेरै नाराबाजी गरे । तर सरकारी पक्षबाट भने आजसम्म वार्ता र संवादको कुनै पनि पहल नभएको सहयोगीले जनाएका छन् ।


त्यस्तै उनको बिग्रँदो स्वास्थ्यस्थितिबारे पनि आधिकारिक रूपमा कसैले चासो दिएका छैनन् । ‘केसी अस्वस्थ भएपछि धेरै कुरा मिडिया र शुभेच्छुकलाई बताउँदै आएको छु,’ सहयोगी धर्म गौतमले भने, ‘उहाँले आफ्ना मागलाई पुनर्विचार गर्ने कुनै संकेत गर्नुभएको छैन र सरकारी पक्षबाट पनि कुनै पहल भएको देखिँदैन ।’


स्वास्थ्य र शिक्षालाई व्यापारीकरण गर्न नहुने अडान राख्दै आएका डा. केसीले सुनुवाइ नभएपछि अर्को अनशन थालेका हुन् । स्वास्थ्य र समसामयिक विषयका ६ बुँदे माग केसीले राखेका छन् । यता डा. केसीको भन्दा विपरीत माग राखेर चोक बजारमा अनशन थालेका विजय थापाले दोस्रो दिन पनि त्यसलाई जारी राखेका छन् ।


माग पूरा गर्न आग्रह

काठमाडौं (कास)– नेपाल चिकित्सक संघले चार दिनदेखि इलाममा आमरण अनशनरत डा.गोविन्द केसीको माग पूरा गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । संघले शनिबार विज्ञप्ति जारी गरी केसीसँग सरकारले पटक–पटक गरेका सम्झौता कार्यान्वयन गर्नुको सट्टा चिढाउने गतिविधि गरेकामा आपत्ति जनाएको छ ।


डा. केसी १६ औं पटक अनशनमा बस्दा उनको शारीरिक अवस्था कमजोर रहेकाले जुनसुकै बेला अप्रिय घटना हुन सक्नेतर्फ सचेत रहँदै जीवनरक्षाका लागि पहल गर्न संघले माग गरेको छ ।

प्रकाशित : पुस २९, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?