मन्त्री–सचिव कुटाकुट : छानबिन समिति गठन

जनकपुर — प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झाबीच कुटाकुट भएको छ ।

मन्त्री–सचिव कुटाकुट : छानबिन समिति गठन

गरिबी निवारणका लागि उद्यम कार्यक्रमको फाइल लिएर मन्त्रीको कार्यकक्षमा गएका सचिव र मन्त्रीबीच आइतबार झगडा भएको हो । सचिव झाले आफूलाई मन्त्री यादवले कुटेको बताएका छन् । मन्त्रीले भनाभन मात्रै भएको दाबी गरेका छन् ।

आफूले सिफारिस गरेको एनजीओलाई कार्यक्रम नपारिदिएको झोंकमा मन्त्री यादवले आफ्नै कार्यकक्षमा कुटेको सचिवको दाबी छ । आफ्नो मन्त्रालयका मन्त्री रामनरेश राय यादवले अह्राएपछि फाइल बोकेर जाँदा सभामुख सरोज यादवकै अगाडि मन्त्रीले कुटेको उनले बताए । ‘फाइल दिँदा उहाँले हात समाएर झापड हिर्काउनुभयो,’ झाले भने, ‘सुरक्षाकर्मी लगाएर कार्यकक्षबाट बाहिर निकाल्नुभयो ।’ मन्त्री यादवले आफ्नो कार्यकक्षमा सचिवले अभद्र व्यवहार देखाएकाले भनाभन भएको बताए । विवाद चर्किएपछि मन्त्रीको कार्यकक्षमा रहेका अरू व्यक्तिले सचिव झालाई बाहिर निकालेका थिए ।

सभामुख सरोज यादवले सचिव झा आउँदा आफू मन्त्रीकै कार्यकक्षमा भए पनि मोबाइलमा व्यस्त रहेकाले कसले कुटेको हो नदेखेको बताए । ‘सचिव आउँदा म मन्त्रीसँग कुरा गरिरहेको थिएँ, उहाँहरू कुराकानी गर्न थालेपछि मोबाइलमा व्यस्त भएँ,’ उनले भने, ‘दुवैबीच हात हालाहाल भएको मात्रै देखें । कसले कसलाई कुट्यो थाहा भएन ।’ बाहिर निकालेपछि सचिव झा मन्त्रीलाई कारबाही माग गर्दै मूलढोकामा धर्ना बसे । सचिव र कर्मचारी ढोका थुनेर धर्ना बसेपछि मन्त्री र सभामुख कार्यकक्षमै अडकिएका थिए । त्यसपछि प्रहरीले सचिव झालाई पक्राउ गरेको थियो ।

सचिव झाका अनुसार संघीय सरकारको ससर्त अनुदानमा सञ्चालित ‘गरिबी निवारणका लागि उद्यम कार्यक्रम’ मा आफूले भनेको एनजीओलाई छनोट नगरेको झोंकमा मन्त्रीले कुटेको आरोप लगाएका छन् । कार्यक्रमका लागि आशयपत्र खुला गरेकै बेला मन्त्री यादवले एउटा एनजीओलाई कार्यक्रममा पारिदिन दबाब दिएको उनको दाबी छ । ‘मन्त्री यादवले कार्यक्रममा मेरो एनजीओलाई पारिदिनुस् भन्नुभएको थियो,’ उनले भने, ‘मैले अनियमित काम गर्दिनँ, मापदण्ड पुगेको एनजीओ छनोटमा पर्छ भनें ।’

दबाब नखेपेकाले आफूमाथि दुव्र्यवहार गरिएको उनको आरोप छ । उनले मन्त्रीले सिफारिस गरेको एनजीओको नाम भने बताएनन् । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ४० वटा एनजीओलाई छनोट गरी १५ दिने सूचना निकालेर कार्यक्रम लागू गर्ने अन्तिम तयारी भइरहेको जनाएको छ । छनोट हुने एनजीओले ५०–५० लाख रुपैयाँ बजेट पाउँछन् ।

मन्त्री यादवले सभामुखको गरिमा बिर्सेर सचिव उनकै छेउमा बसेपछि आफूले कार्यकक्षबाट बाहिर जान भनेको, कुटपिट नगरेको बताए । ‘सभामुख, माननीय र ब्युरोक्रेसीको एउटा मर्यादा हुन्छ,’ यादवले सञ्चारकर्मीसँग भने, ‘बाहिरको कोठामा बस्नुस्, हामी कुरा गरिरहेका छौं भने । मैले मन्त्री–मन्त्री लेबलमा कुरा गर्छु भनें । उहाँ म लोकल हुँ भन्दै जंगिनुभयो । बाहिर निस्केर गालीगलौज पनि गर्नुभयो ।’

धर्नामा बसेका बेला प्रहरीले पक्रेपछि सचिव झा आक्रोशित बनेका थिए । प्रहरी निरीक्षक बडाबाबु झाको नेतृत्वमा आएका सुरक्षाकर्मीले झालाई भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय पुर्‍याएका थिए । लगत्तै पुगेको कर्मचारीको टोलीले मन्त्रीलाई कारबाही माग गरेका थियो । उनीहरूको दबाबपछि प्रहरीले सचिव झालाई जनकपुर अञ्चल अस्पताल पुर्‍याएर घाउखत जाँच गराएको छ । सचिव झाको अनुहारमा चिथोरिएको डाम छ ।

छानबिन समिति गठन

प्रदेश २ सरकारले मन्त्री–सचिवबीच भएको घटनाबारे बुझ्न आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । समितिलाई ७ दिनभित्र सत्यतथ्य बुझेर प्रतिवेदन बुझाउन समयसीमा तोकिएको छ ।

प्रदेश सरकारका प्रमुख सचिव दीपक सुवेदीले घटनाबारे मन्त्री यादव र सचिव झाले मुख्यमन्त्रीलाई बिफ्रिङ गरेको, त्यसलगत्तै छानबिन समिति गठन गरिएको बताए । ‘घटनाबारे मन्त्रीज्यू र सचिवसित बुझ्ने काम भएको छ,’ प्रमुख सचिव सुवेदीले भने, ‘छानबिन समितिको प्रतिवेदनका आधारमा दोषीलाई कारबाही हुन्छ ।’

नटेर्ने बानी

बाबुराम भट्टराई नेतृत्वको सरकारमा जनकपुरका यदुवंश झा वनमन्त्री थिए । सचिव झा त्यतिबेला महोत्तरीमा डीएफओ थिए । मन्त्रीका सहयोगीले खसी जनकपुर पुर्‍याउन उनीसित गाडी मागे । उनले गाडी दिएनन्, उल्टै मन्त्रीका सहयोगीलाई गाली गरेर फर्काइदिए । मन्त्री झाले आक्रोशित हुँदै उनलाई कुटपिट गरेका थिए ।

२०६९ असोजमा भएको उक्त घटनाबारे तत्कालीन मन्त्री झाले आफूले कुटपिट नगरेको तर डीएफओ झाको स्वभाव र गाली गर्ने प्रवृत्तिबारे भेटेरै चर्को आलोचना गरेको दाबी गरे ।

यस्तै कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढासँग पनि सचिव झाको विवाद भएको थियो । वनमन्त्री बुढाले आफूले भनेअनुसार काम नगरेको र सहयोग नगरेको भन्दै झालाई फिर्ता गरी अर्को सचिव पठाइदिन आग्रह गरेका थिए ।

सरकारले झालाई गत जेठमा संघको वन तथा वातावरण मन्त्रालयमा झिकाएर सहसचिव धीरेन्द्रकुमार प्रधानलाई कर्णालीमा पठाएको थियो ।

प्रकाशित : पुस ३०, २०७५ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?