१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

डा. केसी सत्याग्रह–‘सरकारले धोका दियो’

इलाम — चिकित्सा शिक्षा सुधारका लागि सरकारसँगका सम्झौता कार्यान्वयनको माग राखी १६औं पटक अनशन बसेका डा. गोविन्द केसीको समर्थनमा आइतबार सदरमुकाममा ज्येष्ठ नागरिकले र्‍याली निकालेका छन् ।

डा. केसी सत्याग्रह–‘सरकारले धोका दियो’

अनशनस्थल फूलगाछीबाट निकालिएको र्‍याली चोकबजार पुगी सभामा परिणत भएको थियो । सहभागीले केसीका माग चाँडो सम्बोधन गर्न माग राखे ।

अनशनको ५ दिन बित्दा पनि केसीका माग र स्वास्थ्यप्रति सरकारले चासो नदिएको भन्दै शुभेच्छुक आक्रोशित छन् । सरकारले सम्झौता गरी पटक–पटक धोका दिएको उनीहरूको आरोप छ । १५ औं सत्याग्रहमा वार्ताटोलीका संयोजक रहेका डा. अभिषेकराज सिंहले प्रस्तावनामा माथेमा कार्यदलको नाम उल्लेख नगर्नु र चिकित्सा शिक्षा आयोगलाई कमजोर बनाउने गरी चिकित्सा शिक्षा विश्वविद्यालयको अवधारणा ल्याउनुले सरकारको नियत नै खराब भएको बताए ।

‘प्रमाणपत्रभन्दा मुनिका कार्यक्रम ५ वर्षमा फेजआउट गरिनुपर्ने भन्ने हुनुपर्नेमा क्रमश: फेरबदल गरिने भन्ने उल्लेख छ,’ उनले भने, ‘चर्चामै नरहेको चिकित्सा शिक्षा विश्वविद्यालयको अवधारणा कहाँबाट आयो ?’अर्का सहयोगी सुरेन्द्र भण्डारीले यो समस्या सरकारले निम्त्याएकाले उसैले समाधान गर्नुपर्ने धारणा राखे । ‘यो सत्याग्रह विगतभन्दा फरक छ,’ उनले भने, ‘विगतमा भएको सम्झौता कार्यान्वयन गर भन्ने नै मुख्य मुद्दा भएकाले यो सत्याग्रह सम्झौताका रूपमा टुंगिँदैन ।’ कोणसभामा भूमि ढुंगानाले केसीका मागमा सरकारको उदसीनताप्रति कडा आपत्ति जनाए । आफैंले गरेको सम्झौता पालना नगर्नु सरकारको कमजोरी रहेको उनले बताए ।

केसीको स्वास्थ्य स्थिति झन् खस्किँदै गएको चिकित्सकले जनाएका छन् । ‘केसीको फोक्सोमा अक्सिजनको मात्रा कमी भएको छ भने जन्डिसको लक्षण देखिएको छ,’ डा. रामकृष्ण आचार्यले भने, ‘हामीले अस्पताल भर्ना गर्ने कोसिस गरिरहे पनि उहाँको इच्छाविपरीत केही गर्न सकिँदैन ।’

अनशनको पाँचौं दिन केसीको छातीमा समस्या देखिएको जिल्ला अस्पतालको चिकित्सक टोलीले बताएको छ । उनी शनिबारदेखि उठ्न सकेका छैनन् । भुइँमा बसेका केसीलाई पछिल्लो समय बेडमा राखिएको छ । उनको शरीरमा रक्तचाप र ग्लुकोजको मात्रा दिनैपिच्छे घटिरहेको आचार्यले जानकारी दिए ।

प्रकाशित : पुस ३०, २०७५ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?