१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

डा‍‍. केसीकाे मुटुमा समस्या, इलाम अस्पताल भर्ना

१६ औं अनसन
विप्लव भट्टराई

इलाम — १६ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई मुटुमा समस्या आएको चिकित्सकले जनाएका छन् । अस्वभाविकरुपमा मुटुको धड्कन बढ्नुका साथै निमोनिया पनि देखिएपछि उनलाई आज बिहान इलाम अस्पताल भर्ना गरिएको छ ।

डा‍‍. केसीकाे मुटुमा समस्या, इलाम अस्पताल भर्ना

भर्नापछि भएको प्रारम्भिक परिक्षणको जानकारी गराउँदै मेडिकल सुपरिटेण्डेनट डा. विजेन्द्र कुमार शाहले सत्याग्रहको छैठो दिनमा देखिएको यो समस्या बढ्न सक्ने संकेत गरे । ‘यहि अवस्था रहे हामी उपचार गर्न सक्छौं तर समस्या बढे इलाममा सम्भावना छैन,’ उनले भने, ‘यहाँ आइसियू, एनएस थेसिया, क्रिटिकल केयर एक्सपोर्ट र मुटुको चाल नियमित गर्ने हाइग्रेड औषधिसमेत छैन ।’


डा. केसीलाई पछिल्लो समयमा देखिएको समस्या ‘टन्सिल र फेनेन्जाइटिस विथ राइट बेजल निमोनिया इन सेप्सिस विथ डिहाइड्रेसन विथ डिसइलेक्ट्रोलाइटिमिया विथ इक्टोपिक्ट बिट्स’ भएको शाहाले बताए ।


पछिल्लो परीक्षण अनुसार डा. केसीको रक्तचाप ९०/६०, मुटुको गति १०० छ । तर फेरबदल भइरहको अवस्था रहेको डा. शाहले जानकारी दिए । शरीरमा अक्सिजनको मात्रा ८९ प्रतिशत छ । सामान्य अवस्थामा शरीरमा अक्सिजनको मात्रा ९५ प्रतिशतभन्दा बढी हुन्छ । उनको शरिरको तापक्रम भने समान्य देखिएको छ ।


अवस्था थप जटिल भए यहाँ उपचार गर्न नसकिने चिकित्सकले जनाएका छन् । त्यो अवस्था आए विराटनगर या धरान लैजानु पर्ने उनले बताए ।


इलामको फूलगाँछीमा सत्याग्रहमा रहेका केसीलाई आइतबार नै अस्पताल भर्ना गर्न चिकित्सकले पहल गरे पनि डा. केसीले अस्वीकार गरेका थिए । मुटुको धड्कन बढ्नुका साथै छातीमा निमोनिया भएपछि सोमबार भने केसी अस्पताल भर्ना हुन सहमत भएका थिए ।


१५ औं अनशनका क्रममा भएको सहमति अक्षरश: पालना गर्नुपर्ने माग गर्दै डा. केसीले गत पुष २५ गते बुधबार देखि इलाममा सत्याग्रह सुरु गरेका हुन् । सत्याग्रहमा उनी बसेको आज छैठौं दिन हो । दोस्रो दिनदेखि स्वास्थ्यमा समस्या देखिएकाले जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले नियमित स्वास्थ्य परीक्षण गरिरहेका छन् । डा. केसीको हालसम्म ३ पटक रगत चाँच भइसकेको छ ।

प्रकाशित : पुस ३०, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?