१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मन्त्री–सचिव कुटाकुट : कर्मचारी आन्दोलनमा, समितिले छानविन थाल्यो

अजित तिवारी

जनकपुर — प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव र वन, पर्यटन, वातावरण तथा उद्योग मन्त्रालयका सचिव बिद्यानाथ झाबीच भएको कुटपिटको बिरोधमा कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

मन्त्री–सचिव कुटाकुट : कर्मचारी आन्दोलनमा, समितिले छानविन थाल्यो

प्रदेश २ का सबै मन्त्रालयका कर्मचारीले हातमा कालो पट्टी बाँधेर बिरोधमा उत्रिएका हुन् । कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि प्रदेश सरकारको काम समेत ठप्प भएको छ । प्रदेश सरकारका कर्मचारीहरुको आन्दोलनमा धनुषाका कर्मचारीहरु पनि मिसिएका छन् ।


वन मन्त्रालयका शाखा अधिकृत बेचन महतोले सचिव झामाथि भएको हातपातको बिरोधमा कर्मचारीहरु आन्दोलनमा उत्रिएको बताए । उनले सचिव झामाथि हातपात गर्ने मन्त्रीलाई कार्वाही नभएसम्म आन्दोलन नरोकिने दाबी गरे । ‘कर्मचारी निलो बर्दीधारी हो । काम गराइमा चित्त नबुझे बिभागीय कार्वाही हुने हो,’ महतोले भने, ‘कर्मचारी कुट्ने अधिकार मन्त्रीलाई छैन ।’


आफूले सिफारिस गरेको एनजिओलाई कार्यक्रम नपारिदिएको झोंकमा मन्त्री यादवले सचिव झालाई आइतबार झापड हिर्काएको बताइएको छ । तर, मन्त्री यादवले आफ्नो कार्यकक्षमा सचिवले अभद्रता देखाउँदा ‘भनाभन’ मात्र भएको दाबी गरे ।


मन्त्रीले कुटपीट गरिएको भनिएका प्रदेश २ का वन, पर्यटन, वातावरण तथा उद्योग मन्त्रालयका सचिव बिद्यानाथ झा अस्पतालमा ।

गरिवी निवारणको लागि उद्यम कार्यक्रमको फाइल बोकेर मन्त्री यादवको कार्यकक्षमा प्रवेश गरेका सचिव झा र मन्त्रीबीच कुटाकुट भएको थियो । कुटाकुट हुने बेलामा मन्त्री यादवको कार्यकक्षमा प्रदेश २ का सभामुख सरोज यादव पनि थिए ।


आन्दोलनमा उत्रिएका कर्मचारीहरुले घटनाको निष्पक्ष छानविनको माग गर्दै मन्त्री यादवलाई कार्वाहीको माग गरेका छन् । यता, सचिव झा भने आइतबार रातीदेखि जनकपुरको केयर मेडिकल अस्पतालमा भर्ना भएका छन् । उनको हत्केलामा चोट लागेकाले ब्यान्डेज लगाइएको छ । कर्मचारीहरुले मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउने तयारी समेत गरेको छ ।


प्रदेश २ को सरकारले घटनाका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा गठन गरेको समितिले छानविन थालेको छ । मन्त्री यादवले सोमबार मुख्यमन्त्री राउत, मन्त्री विजय यादव र सचिव झासित भेटघाट गरिरहेका छन् । समितिका संयोजक मन्त्री यादवले दुई–तीन दिनमै घटनाबारे सत्य–तथ्य बाहिर आउने दाबी गरे । ‘जे भयो दुखद भयो,’ मन्त्री यादवले कान्तिपुरसंग भने, ‘मन्त्री र कर्मचारीबीच सोहार्दताको वातावरण बनाउने काम पनि समितिले गर्नेछ ।’


प्रकाशित : पुस ३०, २०७५ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?