कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

माघे संक्रान्ति : देवघाटमा मकर स्नान, थारु गाउँमा खिचरा

चितवन — माघे संक्रान्तिका दिन आज चितवनकाे देवघाटधाममा मकर स्नान गर्न भक्तजनकाे घुइँचाे लागेकाे छ । देवघाटमा पुष अन्तिम दिन देखि मकर स्नान मेला सुरु हुन्छ । दुई दिनको अवधिमा पाँच लाखको हाराहारीमा भक्तहरु आउने अपेक्षा देवघाट क्षेत्र विकास समितिले राखेको छ । 

माघे संक्रान्ति : देवघाटमा मकर स्नान, थारु गाउँमा खिचरा

गोसाइकुण्डबाट आएको त्रिशुली र मुक्तिनाथबाट आएको कालिगण्डकी दोभान देवघाटमा माघे संक्रान्तिका दिन नुहाउँदा धार्मिक फल प्राप्त हुने विश्वास छ । ‘स्वदेशका मात्रै नभएर भारतका हिन्दुहरु पनि आउँछन् । हिन्दुका साथै यस दिन बौद्धहरु पनि आउने गरेका छन्’ देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले भने ।


अध्यक्ष पौडेलका अनुसार पुराणहरुमा देवघाटलाई आदिप्रयाग, हरिहर क्षेत्र, कदम्ब तीर्थ, चक्रतीर्थ जस्ता महत्वपूर्ण धार्मिक क्षेत्रका रुपमा चित्रण भएको छ । माघे संक्रान्तिमा देवताहरु पनि नुहाउन, तीर्थ गर्न देवघाट आउने धार्मिक कथन छ ।


‘यस्ता धार्मिक कारणहरुले देवघाट आएर मकर स्नान गर्ने, जप, पुजा, हवन, दान तथा पितृ श्राद्ध गर्नेहरुको ठुलै जमघट हुन्छ’ देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले भने । लाखौं मान्छेहरु आउने भएका कारण व्यवस्थापन गर्न पुस १० गतेदेखि नै तयारी सुरु गरेको उनले बताए । मुख्य धाम क्षेत्र तनहुँमा पर्ने भए पनि चितवनको नारायणगढ रामनगर हुँदै बसबाट यो ठाउँ पुग्नु पर्छ ।


चितवनबाट देवघाट जाँदा त्रिशुली नदीमा झोलुङ्गे पुल मात्रै छ । जुन पुरानो भएका कारण धेरै मान्छेको चाप थेग्न गाह्रो हुने गरेको छ । त्यसैले त्रिशुली नदीमा प्रशस्तै डुंगाहरु राखेर नुहाउन जाने ठाउँसम्म पुग्ने व्यवस्था गरेको समितिका अध्यक्ष पौडेलले बताए ।


नारायणगढबाट आँपटारी हुँदै देवघाट पुग्ने नियमित सडकमा संक्रान्तिका दिन एकतर्फी मात्रै गाडी चल्छन् । देवघाट जाँदा रामनगरबाट छिर्नुपर्ने छ । फर्कदा मात्रै आँपटारी हुँदै गाडी आउने छन् । गाडी भाडा, डुंगा भाडा, पार्किङ शुल्क सबै तय गरेर ठाउँ ठाउँमा मूल्य विवरण राखेको उनले बताए ।


माघे संक्रान्तिलाई चितवनका आदिवासी थारु समुदायले नयाँ वर्षका रुपमा मनाउँछन् । थारु गाउँमा आज विशेष परिकारहरुका साथ माघी धुमधामले मनाइदै छ ।


चितवनका थारुहरुले माघ एकलाई खिचरा पनि भन्ने गर्छन् । पुर्वी चितवनको खैरहनीमा थारु कल्याणकारी सभाको आयोजानमा शनिबारदेखि खिचरा महोत्सव पनि सुरु भएको छ । अनदीको चामललाई बफाएर बनाएको विशेष परिकार चिच्चर, माछा यो दिनको मुख्य खाना हो ।


मगर समुदायले पनि माघ एकलाई नै नयाँ वर्ष मान्ने गरेको छ । नयाँ वर्षलाई मगरहरु आफ्नो भाषामा मिन्हामल्हेस भन्ने गर्छन् । मिन्हामल्लेसका दिन आज नेपाल मगर संघ चितवनले नारायणगढ क्याम्पाचौरमा साँस्कृतिक कार्यक्रमसहित खाना महोत्सव पनि आयोजना गरेको छ । यो दिनलाई उनीहरु बोलीचालीको भाषामा माघे सकराती पनि भन्ने गर्दछन् ।


मगर समुदायमा आज दिवंगत पिता पुर्खाको नाममा विशेष पूजा हुने गर्छ । ‘बिहान सवेरै कुवा र पँधेरोमा गएर घरमुलीले नुहाउने, चोखो भएर केराको पात ओछ्याएर पातमा एक मुठ्ठी चामल, दाल र अदुवा राखेर धुपबत्ती बालेर पूजा गर्ने चलन छ । यसलाई कुलपितृको स्मरण र पूजा भनिन्छ । अहिले कुवा र धारा छैन । घर घरमै यस्तो पुजा हुन्छ’ नेपाल मगर बौद्ध समाजका केन्द्रीय सल्लाहाकार टेकबहादुर थापामगरले भने ।


कुलपितृ पूजापछि तरुल, पिँडालु, सखरखण्ड, सेलारोटी, बारा बटुक, खिचडी, मासु, अचार खाने चलन छ । यस्ता परिकारहरु अघिल्लो दिन नै तयार गरिने टेकबहादुर थापामगरले बताए । कुलपितृ पुजापछि चेलीबेटी र पाहुनालाई खुवाउने चलन छ । क्याम्पाचौरमा हुने माघे संक्रान्ति मेलामा पनि मिन्हामल्हेसका यो विधि पूरा गर्ने जिल्ला अध्यक्ष खिमबहादुर थापामगरले बताए । खाना महोत्सव अर्थात फुड फेष्टिभलमा मगर समुदायका यीनै परिकारहरुलाई राख्ने उनको भनाइ छ ।

प्रकाशित : माघ १, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?