कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

खाडीबाट फर्कंदा तस्करीको सुन

तस्करले खाडीबाट घर फर्कन लागेका कामदारलाई प्रलोभनमा पारी अवैध सुन बोकाएर पठाउन थालेका छन् 
जनकराज सापकोटा

काठमाडौँ — सुन तस्करीको अन्तर्राष्ट्रिय गिरोहले खाडीबाट फर्किएका कामदारलाई तस्करीमा प्रयोग गर्न थालेको पाइएको छ । विशेष गरी कतारबाट फर्किनेहरू तस्करीको सुनसहित पक्राउ पर्न थालेका छन् । 

खाडीबाट फर्कंदा तस्करीको सुन

गत आइतबार महानगरीय प्रहरी परिसरले पिंगलास्थानबाट समीर श्रेष्ठलाई सुनका पाँच थान चुरा (२५० ग्राम) सहित पक्राउ गर्‍यो । समीरले कतारबाट फर्केका ५ कामदारबाट उक्त सुन संकलन गरेका थिए ।


प्रहरीका अनुसार कतारमा रहेका समीरका आफन्तले ती कामदारलाई जनही ६ हजार दिने सर्तमा सुन ओसार्न लगाएका थिए । समीरले यस्तो सुन विमानस्थलबाहिर संकलन गर्ने र बजारमा बेच्ने गरेको प्रहरी अनुसन्धानले देखाउँछ । विदेशमा एक वर्षभन्दा बढी काम गरेका श्रमिकले फर्किंदा ५० ग्रामसम्म सुनको गहना ल्याउन पाउँछन् । संगठित सुन तस्करले पछिल्ला दिन यही प्रावधानको फाइदा उठाइरहेका छन् ।


‘कामदारलाई केही हजारको लोभ देखाएर सुन पठाउने र विमानस्थलबाहिर बसेर एजेन्टले संकलन गर्ने गरेको देखिन्छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले भने । यस्तो सुन बिक्रीबाटै कतिपयले मासिक ४ देखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको प्रहरीले जनाएको छ ।


महानगरीय प्रहरी वृत्त गौशालाले मात्रै पछिल्लो तीन महिनामा ९ सय ५० ग्राम सुनसहित चार कामदारलाई पक्राउ गरिसकेको छ । अरूका निम्ति सुन ओसारेका उनीहरू चारै जना खाडीबाट फर्किएका हुन् । असोज ९ गते वृत्तले १ सय ५० ग्राम सुनका तीनवटा बालासहित सागिर सफिरलाई पक्राउ गरेको थियो । त्यस्तै कात्तिक ११ गते २ सय ग्राम सुनसहित पूर्णबहादुर विश्वकर्मा, पुस २४ गते ५ सय ग्राम सुनसहित सोन श्रेष्ठ र पुस ३० गते सय ग्राम सुनसहित खेमप्रसाद सापकोटा पक्राउ परे ।


पछिल्ला पाँच महिनामा मात्रै नेपाल प्रहरीको विमानस्थलस्थित टोलीले १५ केजीभन्दा धेरै अवैध सुन बरामद गरिसकेको देखिन्छ । त्यसको ठूलो हिस्सा वैदेशिक रोजगारीबाट फर्केकाबाटै जफत भएको छ । टोलीले साउनमा १ किलो ६ सय ९७ ग्राम, भदौमा ७ सय ८१ ग्राम, असोजमा १ सय ९० ग्राम, कात्तिकमा ६ सय २३ ग्राम र मंसिरमा सबैभन्दा धेरै अर्थात् १६ सय ६८ ग्राम अवैध सुन बरामद गरेको थियो ।


विमानस्थल सुरक्षामा खटिएका एक प्रहरीका अनुसार कैयन् कामदार हातभरि सुनको बाला वा बेरुवा औंठी लगाएर आउँछन् । कानुनले तोकेकै परिणामको सुन देखिएपछि भन्सारका अधिकारी पनि शंका गर्दैनन् । तर कामदार जसै विमानस्थल बाहिर निस्कन्छन्, पर्खेर बसिरहेका व्यक्तिलाई बाला र औंठी बुझाएर बाटो लाग्छन् । प्रहरीले कडाइ गरेपछि तस्करहरूले ट्राभल एजेन्सीहरूलाई पनि यो धन्दामा उपयोग गरेको ती प्रहरीले बताए ।


विमानस्थलमा कार्यरत एक उच्च प्रहरी अधिकारीका अनुसार ‘अराइभल’ क्षेत्रमा प्रहरी उपस्थिति नहुँदा भन्सार कर्मचारीसँगको मिलेमतोमै सुन तस्करी भइरहेको छ । ‘डिपाचर’ तर्फ प्रहरीको उपस्थिति र खानतलासी हुने गरे पनि अराइभल क्षेत्रमा उड्डयन प्राधिकरणले नै प्रहरीलाई रोक लगाएको छ । ‘एकैचोटि किलोका किलो नभए पनि प्रत्येक दिन स–सानो परिमाणमा भित्रिरहेको छ,’ ती प्रहरी अधिकारीले भने । विमानस्थल प्रहरीका एसपी दिनेश मैनालीका अनुसार कतार र दुबईबाट आउने कामदारलाई सुन तस्करले बढी उपयोग गरिरहेका छन् । ‘घर फर्केका कामदारहरू केही हजार रुपैयाँ पाइने लोभको पासोमा पर्नु दु:खलाग्दो कुरा हो,’ उनले भने ।

प्रकाशित : माघ २, २०७५ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?