यस्तो छ गोरु जुधाइको कथा

गोरु जुधाइको घम्साघम्सी
कुशल तिमल्सिना

तारुका, नुवाकोट — किम्बदन्ती के छ भने नुवाकोटमा दुई सय वर्षअघिदेखि नै मनोरञ्जनका रूपमा गोरु जुधाइ सुरु भएको हो । माघेसंक्रान्तिको दिन गोरु जुधाएर मनोरञ्जन लिने प्रथा जारी छ । त्यसलाई एकीकृत गरी तारकेश्वर नगरपालिका ३ (साविकको तारुका) गाविसमा बृहत गोरु जुधाइ महोत्सव सुरु भएको १३ वर्ष पुग्यो । 

यस्तो छ गोरु जुधाइको कथा

मकर संक्रान्तिलाई मुुलुकभर विभिन्न नामबाट मनाइन्छ । तराईमा माघीको रूपमा मनाइन्छ भने मगर समुदायले माघे संक्रान्ति मनाउँछन् । नुवाकोटमा भने वर्षौदेखि गोरु जुधाएर रमाइलो गर्ने परम्परालाई निरन्तरता दिइएको छ । स्पेनको चर्चित खेल ‘बुल फाइट’ को नेपाली संस्करणको रुपमा त्यस क्षेत्रका बासिन्दाले गोरु जुधाइलाई खेल पर्यटन बिस्तार गर्ने प्रयास गरिरहेका छन् ।


यस वर्ष पनि तारुकामा २२ हल गोरु जुधाएर मनोरञ्जन लिइयो । हरेक खेलमा जित्नेले ६ हजार र हार्ने गोरुका धनीले ४ हजार रुपैयाँ प्रोत्साहन पुरस्कारको व्यवस्था गरिएको थियो । तारुकामा माघेसंक्रान्तिमा जुधाउनका लागि दुईदेखि तीन महिना लगाएर गोरु तयार गरिन्छ । धादिङका केहि र धेरैजसो स्थानीय गोरुहरू नै जुधाइन्छन् । तीन महिनासम्म चामल, चडा, तेल, सेल्लर खुवाएर नजोताई गोरु तयार गरिने एक गोरुधनीले जानकारी दिए । पुरस्कार रकमले गोरुको तयारी खर्च उठ्छ त ? भन्ने प्रश्नमा उनले भने, ‘कहाँ उठ्नु, यो त मनोरञ्जनका लागि मात्र हो । हामीले आफ्नो संस्कृति पनि निरन्तरता दिनुपर्‍यो नि ।’


तर, स्थानीयको भनाइ मान्ने हो भने पछिल्ला केही वर्षदेखि तारुकाको गोरु जुधाइ महोत्सवको ‘क्रेज’ घटेको छ । गोरु जुधाइ हेर्न तारुकास्थित कटरबोट चौरमा आएका ८४ वर्षीय टंकबहादुर सार्कीले चौरमाथिको भिरालो डाँडा देखाउँदै भने, ‘पहिले पहिले यो डाँडोभरि मान्छेमात्रै हुन्थे । टाढा टाढा नेपालदेखि (काठमाडौं) मान्छेहरू आउँथे, अहिले त पातलियो ।’


धादिङको धुवाँकोट र खाल्टे तथा नुवाकोटकै कविलासमा पनि गोरु जुधाई सुरु भएको रहेछ । त्यसैले दर्शक बाँडिएका रहेछन् । तर, कविलासबाट तारुकामा गोरु जुधाएको हेर्न आएका ७३ वर्षीय शशी मिजारले भने तारुकामा जस्तो गोरु अन्य ठाउँमा नहुने र प्रतिस्पर्धा पनि यस्तो नहुने दाबी गरे । ‘यहाँका गोरु लडाउनैका लागि पालिएर, यत्ति ठूलो जुरो भएका हेर्नै मज्जा आउने, अन्तको त्यस्तो कहाँ  ?’ उनले भने ।


२०६३ सालभन्दा अघिसम्म तारुकामै पनि तीन चार स्थानमा गोरु जुधाउने चलन थियो । स्थानीय ठूलो चौर, आँप चौरजस्ता ठाउँहरूमा गोरु जुधाउने गरिएको थियो । ‘पहिला पहिला आ–आफ्नै गाउँमा जुधाएर रमाइलो गर्थे, हामी हेर्नेलाई हैरान । कहिले यता दौडियो, कहिले उता दौडियो,’ तारुकाका पूर्व गाउँ पञ्चायतसमेत रहेका ८३ वर्षीय झमबहादुर प्रधानले भने, ‘मेरै जग्गा दिएर अहिलेको ठाउँमा सबै गोरु जम्मा गरी महोत्सवजस्तो गरिएको हो ।’


मघेसंक्रान्ति गोरु जुधाइ संरक्षण संस्थाको स्थापना गरी १३ वर्षअघिदेखि सुरु गरिएको गोरु जुधाइ मेलालाई महोत्सवको रुपमा विकास गर्ने तयारी रहे पनि सडकलगायत अन्य पूर्वाधारको समस्या रहेको संस्थाका सदस्य विष्णु तारुकेले बताए । ‘हामीले यहाँ महोत्सवकै रूपमा गोरु जुधाइ आयोजना गर्ने, गोरु जुधाइसँगै सांस्कृतिक तथा व्यावसायिक स्टल राख्ने सोचाइ अघिदेखि नै बनाएका हौं । तर, सडक पूर्वाधार भएन, यहाँ सुविधासम्पन्न होटल भएन र भौगोलिक रुपमा पनि अहिले भइरहेको स्थानमा महोत्सव गर्न तत्काललाई सम्भव भएन,’ तारुकेले भने ।


स्थानीय युवाहरू मिलेर सुरु गरेको गोरु जुधाइलाई अघिल्लो वर्षदेखि स्थानीय सरकारले पनि स्वामित्व लिएको छ । स्थानीय तहबाट निश्चित रकम सहयोग हुँदै आएको छ । महोत्सवको रुपमा व्यवस्थित र खेल मैदानको स्तरोन्नत्तिका लागि काम सुरु गर्ने जानकारी तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेशराज वस्तीले प्रतिवद्धता जनाए ।


एकीकृत गोरु जुधाइको १३ औं संस्करणसम्म आइपुग्दा व्यवस्थापन भने झन् खराब हुँदै गएको दुखेसो स्थानीयकै थियो । ‘यही गोरु जुधाई हेर्न भनेर कहाँ–कहाँदेखि मान्छेहरू आउँछन् । सभ्य भएर हेर्न हाम्रो ठाउँका मान्छेले कहिल्यै जानेनन्,’ गोरु जुधिरहेको ठाउँ नजिकै मानिसहरू झुम्मिएपछि आफूलाई हेर्न कठिन भएको झोँकमा एक स्थानीय भुत्भुताउँदै थिए ।


काठमाडौंबाट करिब ७० किलोमिटर दूरीमा अवस्थित तारुकाको कटरबोट चौरमा मंगलबार करिव २ हजारको संख्यामा दर्शक उपस्थित थिए । पशुपतिको जात्रा सिद्राको व्यापार भनेझैं चौर पुग्नु २ मिटरअघिदेखि नै धुलो उँड्ने कच्ची सडकको तलमाथि व्यावसायिक पसलहरू अव्यवस्थित रुपमा थियो । जहाँ फेन्सी कपडादेखि जुत्तासम्म पाइन्थ्यो । खानेकुरामा मम मुख्य आकर्षण बनिरहेको थियो ।


गोरु जुधाउने चौरमा जो कोहीलाई सहजै प्रवेश थियो । जुधेर हारेपछि भागेको गोरुले जोसुकैलाई घाइते बनाउनसक्ने अवस्था थियो । दर्शकको सुरक्षाका लागि स्वयंसेवक परिचालन त गरिएको थियो । तर, सेतो र रातो टिर्सट लगाएका युवाहरू आफूआफू भेला भएर ‘गफ हान्न’ व्यस्त थिए ।


११ बजेदेखि नै गोरु जुधाउन थालिएको भए पनि दिउँसो १ बजेतिर कार्यक्रम स्थलमा पुगेका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बुङबुङती धुलोका माझ ४ हल गोरुको भिडन्त हेरिसकेपछि मनोरञ्जनात्मक खेल र सांस्कृतिक परम्पराको निरन्तरताका लागि आफूले सक्दो सहयोग गर्ने आश्वासन दिए । ‘खेलमैदान सुधार गर्नका लागि राष्ट्रिय खेलकुद परिषदमार्फत मन्त्रालयको सहयोग हुनेछ,’ मन्त्री विश्वकर्माले भने, ‘गोरु जुधाइ खेलका साथै यहाँको स्थानीय उत्पादन प्रवद्र्धन गर्नका लागि पनि महोत्सवको रुपमा विकास गर्ने योजना बनाउन यहाँका युवहरूमा मेरो आग्रह छ ।’


बझाङका राजा जयपृथ्वीबहादुर सिंह मावली आएका बेला तारुकामा उनैको इच्छामा गोरु जुधाएर मनोरञ्जन दिलाएसँगै यस क्षेत्रमा गोरु जुधाइ सुरु भएको दावी स्थानीयको छ ।


जयपृथ्वी विसं १९३४ सालमा जन्मिएको र सानोमा मावली आउँदा गोरु जुधाएर मनोरन्जन लिएको हिसाब गर्न तारुकाको गोरु जुधाइ इतिहास कम्तिमा १ सय ३०/३५ वर्ष पुरानो भएको अनुमान गरिन्छ ।

प्रकाशित : माघ २, २०७५ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?