कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्मले उठेको गाउँ

काठमाडौँ — २०७२ सालको भूकम्पपछि मगरगाउँमा माघेसंक्रान्तिको रौनक हराएको थियो । यो वर्ष उल्लास फर्किएको छ ।
मेलुङ गाउँपालिका–७ स्थित मगरगाउँका बासिन्दाले यसपालि चिटिक्कको नयाँ घरमा नाचगान गर्दै माघेसंक्रान्ति मनाए ।

पर्मले उठेको गाउँ

यहाँ मगर समुदायका करिब ३ सय जनाको बसोबास छ । ‘भूकम्पपीडित सूचीमा नाम निस्किएकाहरू ४८ घरको निर्माण सकिएर तेस्रो किस्ता लिइसक्यौ,’ ३१ वर्षीय शिव मगरले भने, ‘हामीले भूकम्प बिस्र्यौं भन्दा पनि भयो ।’


यो गाउँका सबै घरको पुनर्निर्माण करिब सकिएको छ । बाउबाजेको पालादेखि चल्दै आएको अर्मपर्म संस्कारले पुनर्निर्माण सम्भव भएको हो । थोरै घरमा मात्रै बाहिरको श्रम परेको थियो । दोलखामा ७० हजार लाभग्राहीमध्ये सोमबारसम्म ४५ हजारले तेस्रो किस्ता अनुदान बुझेका छन् । गाउँ छिमेकका व्यक्ति मिलेर बिनाज्याला घर बनाइदिएकाले चाँडो निर्माण हुन सकेको ६३ वर्षीय रामबहादुर मगर बताउँछन् । उनी भन्छन्, ‘काठमाडौंमा ज्याला मजदुरी गर्ने युवा पनि घर बनाउन फर्किए । खाना र खाजाको भरमा एकले अर्काको घर बनाइदिए ।’


मगरगाउँका धेरै जना डकर्मी र सिकर्मी छन् । केही सेना र प्रहरीमा छन्, केही निवृत्त भइसकेका छन् । करिब १५ जना विदेशमा रोजगारी गर्छन् । गाउँमा बस्नेहरू मजदुरी गर्छन्, माछा मार्छन् र खेतीपाती गर्छन् ।


मगरगाउँका सबै घरछेउमा शौचालय छ । खानेपानीको सुविधा छ । बिजुलीको बन्दोबस्त छ । भूकम्पपछि घरलौरी १० हजार संकलन गरी घरघरमै मोटरबाटो पुर्‍याइएको छ । भूकम्पलाई बिर्साउने गरी पुनर्निर्माणमा मगरबस्तीले सफलता पाउनुमा आपसी सद्भाव र सहयोगी भावना कारण रहेको वडाध्यक्ष नवराज खड्का बताउँछन् ।


उनले मगरगाउँमा आफ्नै श्रम र सीपले निर्माण सम्पन्न भएपछि अन्यत्र पनि पुनर्निर्माण अभियानले गति लिएको जानकारी दिए । माघेसंक्रान्तिको अवसर पारेर पुनर्निर्माण सकिएको खुसियालीमा रमाइलो गर्दै गाउँमा होमस्टे बनाउनेबारे पनि छलफल भयो । गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले मगरगाउँलगायत ठाउँका सांस्कृतिक मौलिक बस्तीलाई होमस्टेका रूपमा विकास गर्ने सोच रहेको बताए ।


यो गाउँमा मगरहरू सुनौली भन्ने स्थानबाट आएको १६ पुस्ता भयो । अगुवा रामबहादुर मगरका अनुसार माघेसंक्रान्तिका दिन मिठोमसिनो खाने र नाचगान गर्ने चलन छ । भगवती नाच विशेष संस्कृति हो, जसले अन्य जातिलाई पनि मनोरञ्जन दिन्छ । केही वर्षदेखि उक्त नाच हराएको छ । भूकम्पमा मगर संघको घर भत्किएपछि उक्त ऐतिहासिक नाचका पोसाक र सामग्री पनि नासिए । मगरगाउँस्थित मगर संघका पूर्वअध्यक्ष रामबहादुर मगरले संघको भवन भत्किएपछि जिजुच्याप्चादेखिको परम्परा जोगाउन नसकिएको बताए ।


उक्त गाउँमा ४० घरको छत ढलान गरेर बनाइएको छ । ज्याला नपर्ने भएपछि सरकारबाट अनुदान आएको तीन लाखमा आफैंले थपथाप गरेर ढलान गरेर घर बनाए । ज्यालाको पैसा नलाग्दा बलियो घर बनाउन खर्च जुटाउन गाह्रो नभएको स्थानीय बताउँछन् ।

केहीले गुनासो फारम भरेका छन्, सुनुवाइ भए केही घर थपिने छन् । मेलुङकै अन्य गाउँ र जिल्लामा जिल्लाबाहिरबाट मजदुर आएका छन् । उनीहरूले ठेक्कामा लिएर घर बनाइसकेका छन्, बनाउँदै पनि छन् । त्यसरी घर बनाउँदा गुणस्तरमा पनि प्रश्न उठिरहेको छ । अर्कोतिर सरकारले दिएको पहिलो र दोस्रो किस्ताबापतको रकम पेस्की लिएर ठेकेदार बेपत्ता भएपछि पीडितले थप समस्या भोगिरहेका छन् ।


उक्त गाउँमा भूकम्पले चौपायाबाहेक जनको क्षति भएन । घरभित्र रहेका अन्न क्षति भयो । सबै जुटेर एकआपसमा सहयोग गरे । पुनर्निर्माणमा ढिलासुस्ती नहुने उदाहरण मगरगाउँ बनेको छ ।


जिल्लाभित्रका केही व्यक्तिले परिवारका सदस्यको अन्यत्र घर भए पनि अनुदान लिएर कामचलाउ घर बनाइरहेका छन् । फर्जी गरेर त्यसरी लिएको रकम फर्काउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सूचना जारी गरेको छ, कारबाहीको चेतावनी दिइरहेको छ ।


मगरगाउँबासीलाई आफ्नो या परिवारका सदस्यको अन्यत्र घर नभएकाले उक्त सूचनासँग सरोकार छैन । यो बस्तीमा छिटफुटबाहेक वास्तविक पीडितको नाममा मात्रै अनुदान आएकाले बेलैमा घर बन्न सकेको युवा शिव मगर बताउँछन् ।

प्रकाशित : माघ २, २०७५ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?