१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

नेपाललिक्स : बिदेशमा लगानी र बैदेशिक लगानीको चक्र – सुमार्गीले आफै लगे, आफै ल्याए 

कृष्ण आचार्य

काठमाडौँ — विवादास्पद व्यापारी अजेयराज सुमार्गीले विदेशमा कम्पनी खोली त्यसैबाट नेपालमा विदेशी लगानी भन्दै पैसा भित्र्याएको पुष्टि भएको छ ।

नेपाललिक्स : बिदेशमा लगानी र बैदेशिक लगानीको चक्र – सुमार्गीले आफै लगे, आफै ल्याए 

खोज पत्रकारिता केन्द्र (खोपके) र दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस् (आईसीआईजे) ले बुधबार सार्वजनिक गरेको विवरण अनुसार सुमार्गीले साइप्रसको एयरवेल सर्भिसेज कम्पनीमा लगानी गरेका छन् ।


‘साइप्रसस्थित म्याग्नम हाउस ठेगाना उल्लेख गरिएको र हालसम्म पनि सक्रिय यो कम्पनी सन् २००८ मा खोलिएको हो,’ नेपालिक्स नाम दिइएको खुलासामा भनिएको छ । सुमार्गी मात्रै हैन एयरबेलमा नेपालस्थित सुमार्गीको कम्पनी मुक्तिश्री प्रालिमा काम गर्ने अर्जुन शर्मा, ब्रिटिश भर्जिन आइल्यान्डस्को जोधार इन्भेष्टमेन्ट्स प्रालि र अरू १२ जना विदेशी नागरिक लगानीकर्ता हुन् ।


सुमार्गीले यही कम्पनीबाट विदेशी लगानी भन्दै सम्पत्ति शुद्धीकरण गरेको पुष्टि हुन आउँछ । सन् २००८ देखि २०१३ सम्म सुमार्गीले ९ पटकमा ६ करोड ३१ लाख ८५ हजार ५३३ अमेरिकी डलर (६ अर्ब ३१ करोड ८५ लाख ५३ हजार ३५५ रुपैयाँ) एयरबेलबाट आफ्ना नेपाली कम्पनीमा रकम भित्र्याएका छन् । यस बाहेक पनि सुमार्गीले अरू विभिन्न विदेशी कम्पनीबाट करीब ६ करोड अमेरिकी डलर (करीब ६ अर्ब रुपैयाँ) अहिलेसम्म नेपाल भित्र्याइसकेका छन् । २०७४ पुसमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तयार गरेको प्रारम्भिक अध्ययन प्रतिवेदन अनुसार उक्त रकम अवैध हो ।


‘सुमार्गी र शर्माले विदेशमा लगानी गरेर कानूनको उल्लंघन गरे,’ खुलासामा भनिएको छ, ‘त्यति मात्रै होइन नेपालका सरकारी निकायसँग अनुमति नलिई विदेशी लगानीका नाममा विदेशको आफ्नै कम्पनीबाट नेपालमा रकम भित्र्याउने काम समेत गरे ।’ सुमार्गीले एयरबेलमा आफ्नो लगानी नभएको प्रतिक्रिया दिएका छन् । ‘साइप्रसको एयरबेल भन्ने कम्पनीमा कसरी मेरो लगानी हुनु ? तपाईंले पाउनुभएको डकुमेन्टमा त्यही सूचना छ भने लेख्नुस्,’ उनको भनाई उद्धृत गर्दै खोपकेले लेखेको छ, ‘मेरो टेलिफोन कम्पनीको मालिक नै एयरबेल हो । एयरबेलको मालिक टेलियासोनेरा हो ।’


उनले यो दावी गरेपनि कतै औपचारिक कतै अनौपचारिक रुपमा उनको विदेशी कम्पनीहरुसँग सम्बन्ध छ । १२ मे २०१० मा ब्रिटिश भर्जिन आइल्यान्डस्को बिचौलिया ल फर्म ‘ट्राइडेन्ट ट्रष्ट’ ले जोधार इन्भेष्टमेन्ट कम्पनी दर्ता गरिदिएको थियो । जसका एक लगानीकर्ता हुन् सुमार्गीको कम्पनीमा काम गर्ने मुक्तिश्री प्रालिका डाइरेक्टर समेत रहेका अर्जुन शर्मा । त्यही जोधार इन्भेष्टमेन्टबाट २६ पटकमा ४ करोड ८३ लाख ७२ हजार २२२ अमेरिकी डलर (४ अर्ब ८३ करोड ७२ लाख २२ हजार २१० रुपैयाँ) रकम सुमार्गीले विदेशी लगानीको अनुमति नलिई नेपाल भित्र्याएका छन् । जोधारले सन् २०१३ नोभेम्बर २२ मा एक हजार ६० कित्ता शेयर ब्रिटिश भर्जिन आइल्यान्डस्मा दर्ता भएको वर्ल्ड वाइड इन्क्रेडिबललाई हस्तान्तरण गरेको छ । वर्ल्ड वाइड सोही दिन सुमार्गीको नाममा दर्ता रहेको एयरबेल सर्भिसेजको पनि अंशियार भएको थियो । यसका लगानीकर्ता भने सुमार्गी हुन् ।


यतिमात्रै हैन सुमार्गीले आफू र निकटस्थ उपेन्द्र महतो र अर्जुन शर्मा, निरजगोविन्दको नाममा विदेशमा खोलिएका कम्पनीहरूबाटै नेपालस्थित कम्पनीहरूमा विदेशी लगानी ल्याइएको देखिन्छ । ब्रिटिश भर्जिन आइल्यान्डसमा दर्ता जोधार इन्भेष्टमेन्ट कम्पनीका एक जना निर्देशक शर्मा हुन । जुन जोधार इन्भेष्टमेन्ट कम्पनीबाट सुमार्गीका नेपालस्थित कम्पनीहरूमा ४ करोड ८३ लाख ७२ हजार २२२ अमेरिकी डलर (४ अर्ब ८३ करोड ७२ लाख २२ हजार २१० रुपैयाँ) भित्रिएको छ । सुमार्गीले साइप्रसको टिपोलोजियाबाट पनि पनि १६ लाख ७१ हजार ९१ अमेरिकी डलर (१८ करोड ८० लाख रुपैयाँ) लगानी ल्याइसकेको छन् । जसको लगानीकर्ता हुन् उपेन्द्र महतो, रोमियो अब्दो र अन्य १० विदेशी । साइप्रसको टिपोलोजिया ब्रिटिश भर्जिन आइल्यान्डस्का धेरै वटा कम्पनीहरूसंग सम्बन्धित देखिन्छ ।


सुमार्गीले ब्रिटिश भर्जिन आइल्यान्डस्मा निरजगोविन्द श्रेष्ठ र रोमियो अब्दोका भाइ मिशेल अब्दोको कम्पनीबाट समेत विदेशी लगानी भनेर नेपाल पैसा ल्याएका छन् । रोमियोको भाइ मिशेल र निरजको नाममा ट्याक्स हेवन मुलुक ब्रिटिश भर्जिन आइल्यान्डस्मा नोस्टल बिजनेश कर्व कम्पनी दर्ता छ । नोस्टल बिजनेश कर्व कम्पनीले विदेशी लगानीको अनुमति नै नलिई सुमार्गीको मुक्तिश्री सिमेन्ट इन्डष्ट्रिजको नेपाल इन्भेष्टमेन्ट बैंकको ००१०१०१०२९९५९६ खातामा १८ लाख ९९ हजार ८८८ अमेरिकी डलर (हालको विनिमय दर अनुसार २१ करोड ८ लाख ८७ हजार ५६८ नेपाली रुपैयाँ) नेपाल भित्र्याएको छ ।


महतो र श्रेष्ठसँग अन्तरसम्बन्धित व्यक्तिबाट सुमार्गीले अनुमति समेत नलिई विदेशी लगानी भित्र्याएको अर्को तथ्य पनि छ । नेपालीद्वय श्रेष्ठ र महतोसंगका साझेदार रोमियो अब्दोकी श्रीमती मारिया अब्दो हुन् । सन् २०११ मा नबिल बैंकको ०२०१०१७५०११५० खातामा मुक्ति श्री प्रालिका लागि मारिया अब्दोले २ लाख ४९ हजार ९६८ अमेरिकी डलर (२ करोड ७७ लाख ४६ हजार ४४८ नेपाली रुपैयाँ) जम्मा गरेकी थिइन् ।


सुमार्गी र उनको कम्पनीमा काम गर्ने शर्माले भने विदेशमा लगानी गरेर एउटा कानूनको मात्रै उल्लंघन गरेनन्, नेपालका सरकारी निकायसँग अनुमति नलिई विदेशी लगानीको नाममा एयरबेलबाट रकम समेत भित्र्याए । गैरकानूनी रूपमा विदेशमा कम्पनी खोल्ने, त्यसैबाट अनुमति नै नलिई नेपाल भित्र्याउने काम अवैध सम्पत्ति बैध बनाउने अर्थात् कानूनी भाषामा सम्पत्ति शुद्धीकरणको अपराध मानिन्छ । यसबाट नेपालको गैर कानूनी आर्जन, विदेशमा पुर्‍याउने, विदेशमा कम्पनी खोल्ने त्यसमा राख्ने, पछि त्यसैलाई विदेशी लगानी भनेर नेपाल भित्र्याउने चक्र कसरी चलिरहेको छ भन्ने यसबाट पुष्टि हुन्छ ।


यसका लागि उनले नेपालमा करछली गरेको उदाहरण पनि छ । महालेखा परीक्षकको ५४ औं प्रतिवेदन अनुसार, दुई पटक गरेर सुमार्गीले ९५ करोड ५० लाख र ४५ करोड ३८ लाख रुपैयाँ कर छली गरेका छन् । महालेखाको सो प्रतिवेदन अनुसार, उनले नेपाल र विदेशमा रहेका कम्पनीहरूबीच शेयर बिक्री गर्ने नाममा कुल १ अर्ब ४० करोड ८८ लाख रुपैयाँ कर छली गरेका छन् ।


‘हामीले प्रारम्भिक प्रतिवेदनमा एक कम्पनी भनेर विवरण लेखेका छौं । त्यो कम्पनी व्यापारी अजेयराज सुमार्गीको हो’ प्रतिवेदन तयार गर्ने तत्कालीन पूर्व कार्यवाहक महालेखा परीक्षक सुकदेव खत्रीले भने, ‘उनले यहाँको र विदेशी कम्पनीको शेयर बिक्री गर्दा न्यून मूल्यांकन गरी कर छली गरेका हुन् ।’ सुमार्गीले यस्तै विभिन्न प्रक्रिया अपनाएर अहिलेसम्म करीब १२ करोड अमेरिकी डलर नेपाल भित्र्याइसकेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनले यसलाई ‘अवैध’ भनेर विस्तृत अनुसन्धान गरिरहेपनि निष्कर्षमा पुर्याउन सकेको छैन ।यो विवरण खुलासा गर्दै सुमार्गीसंगै विदेशमा लगानी गर्ने र अन्तरसम्बन्धीतहरुको विवरण पनि सार्वजनिक भएको छ । ‘नेपालमा व्यवसाय गर्ने, गैरकानूनी आर्जन विदेश पुर्‍याउने, विदेशमा कम्पनी खोली त्यसैमार्फत नेपालमा विदेशी लगानी भित्र्याउने चक्रमा वीरेन्द्र महतो, उपेन्द्र महतो, निरजगोविन्द श्रेष्ठ र अजय सुमार्गीको संलग्नता छ,’ खुलासामा भनिएको छ । यो प्रक्रिया पुरा गर्न नेपालमा कर छली वा कुनै गैरकानूनी कमाइ कर छल्नका लागि सुरक्षित स्थान मानिने ‘ट्याक्स हेवन’ मुलुक पुर्‍याउने र प्रत्यक्ष वैदेशिक लगानी भन्दै पुनः नेपालमै भित्र्याउने गरेको उल्लेख छ । उक्त व्यक्तिहरुले यो चक्र पूरा गर्ने मुख्य माध्यम नेपालको ठूलो दूरसञ्चार कम्पनी एनसेललाई बनाइएको दावी छ । ७ असार २०५८ मा स्थापना भई पटक पटक खरीद बिक्री भएर हालको एनसेल बिक्री पूँजीगत लाभकर शीर्षकमा झन्डै ६१ अर्ब कर छली भएको भन्दै ठूला करदाता कार्यालयले कर निर्धारण गरेको थियो । त्यो रकम अहिले बढेर ७३ अर्ब रुपैयाँ पुगेको छ । यो कर छली गरी भगाईएको एनसेलको तत्कालिन ८० प्रतिशत लगानीकर्ता टेलियासोनेरासँग विदेशमा उठबस र कारोबार गर्ने व्यक्तिहरू भने नेपालमै व्यवसाय गरेर बसिरहेको उल्लेख छ । ‘त्यसमा गैरआवासीय नेपाली उपेन्द्र महतो, महतोको धेरैजसो कम्पनीका व्यावसायिक साझेदार निरजगोविन्द श्रेष्ठ, अजेयराज सुमार्गी र सुमार्गीको कम्पनीमा काम गर्ने मुक्तिश्री प्रालिका डाइरेक्टर समेत रहेका अर्जुन शर्मा पर्छन्,’ खुलासामा भनिएको छ । प्राप्त विवरणहरूले एनसेलको यो कर छली प्रकरणमा कतै यिनै व्यक्तिहरू समेत संलग्न त थिएनन् ? भन्ने शंका खुलासामा गरिएको छ ।


कसरी उनीहरुको संलग्नता ?


खोपकेका अनुसार सबैभन्दा पहिला आईसीआईजेसँग आबद्ध साइप्रसका खोज पत्रकार स्तेलियोस ओरफानिदेशले पठाएको विवरण केलाइएको छ । ती विवरणलाई केलाएपछि व्यापारी अजेयराज सुमार्गी र अर्जुन शर्मा साइप्रसको एयरबेल सर्भिसेज लिमिटेड कम्पनीका लगानीकर्ता हुन् भन्ने पुष्टि भयो । एयरबेलको शेयर ब्रिटिश भर्जिन आइल्यान्डस्मा दर्ता भएको जोधार इन्भेष्टमेन्ट प्रालिले खरीद गरेको थियो । यो एयरबेलका अन्य लगानीकर्ता भने नेपाली व्यवसायी सुमार्गी, उनको कम्पनीमा काम गर्ने शर्मा र अन्य ११ विदेशी नागरिक छन् ।


११ मध्ये एक मोहम्मद एमर्सी हुन् । जो नेपालका व्यापारी अजेयराज सुमार्गीका कम्पनीहरू र मेरो मोबाइल हुँदै २०६६ फागुनबाट एनसेल ब्रान्डले चिनिने कम्पनीसँग जोडिन्छन् । एमर्सी टेलियासोनेरा ग्रुपको वरिष्ठ सल्लाहकार र तत्कालीन मेरो मोबाइलको २०५८ असारदेखि २०६१ चैत १७ गतेसम्मको लगानीकर्ता स्पाइस नेपाल प्रालिको सञ्चालक समिति सदस्य हुन् ।


खोज पत्रकार स्तेलियोसले उपलब्ध गराएको दस्तावेज अनुसार, २०१३ सेप्टेम्बर १२ मा सुमार्गीको एयरबेलको २० कित्ता शेयर १ करोड ५२ लाख युरो (करीब २ अर्ब रुपैयाँ) मा टेलियासोनेरा नर्वे नेपाल होल्डिङ्सले खरीद गरेको थियो । यसको ६ दिनपछि ४० कित्ता शेयर २ करोड ९ लाख युरो (३ अर्ब ९८ करोड रुपैयाँ) मा टेलियासोनेरा नर्वे नेपाल होल्डिङले नै पुनः खरीद गर्‍यो । त्यसबेला एनसेलमा विभिन्न होल्डिङ कम्पनीहरूमार्फत टेलियासोनेरा नर्वे नेपाल होल्डिङले लगानी गरेको थियो ।


टेलियासोनेरासंग गैरआवासीय नेपाली महतो र श्रेष्ठको पनि समबन्ध छ । यसबारे थाहा पाउन ट्याक्स हेवन मुलुक साइप्रसमा लगानी भएको टिपोलोजिया कम्पनीबारे बुझ्न जरूरी छ । २५ मे २००७ मा दर्ता भएको टिपोलोजियाका लगानीकर्ता हुन् महतो र ११ विदेशी नागरिक । ११ विदेशीमध्येका एक लगानीकर्ता हुन् रोमियो अब्दो । लेवनानी मूलका बेलारुसी नागरिक अब्दो १९९७ देखि बेलारुसमा व्यवसाय गर्छन् । अब्दो टेलियासोनेराले नेपालमा लगानी गरिरहेका बेला एनसेलको अध्यक्ष थिए । अब्दोकी श्रीमती मारियाको नामबाट सुमार्गीको कम्पनीमा लगानी समेत आएको छ ।

यिनै अब्दो र महतोबीचको साझेदारीमा बेलारुसमा स्पार्टली भेन्चर्स, ‘वेलारुसियन–नेप्लिज–काजकास्थान’ (बीएनके) ग्रुप लिमिटेड कम्पनी दर्ता भएको भेटियो । यिनै अब्दो टेलियासोनेराको तर्फबाट एनसेलका अध्यक्ष भएको बेला २३ जेठ २०६३ देखि १६ चैत २०६८ सम्म ऐनसेलको २० प्रतिशत लगानीकर्ता व्यक्ति हुन्, महतो । उनले सुरूमा सिनर्जी नेपाल प्रालिमार्फत एनसेलमा लगानी गरे । पछि सिनर्जी नेपाल प्रालिबाट फेरि आफैंलाई एनसेलको २० प्रतिशत शेयर बिक्री गरे । १६ चैत २०६८ मा विदेशस्थित कम्पनीका आफ्नै साझेदार निरजगोविन्दलाई २० प्रतिशत शेयर बिक्री गरेर एनसेलबाट बाहिरिए । ठूला करदाता कार्यालयले सर्वोच्च अदालतमा पेश गरेको विवरण अनुसार, सिनर्जीले उपेन्द्रलाई र उपेन्द्रले निरजगोविन्दलाई बिक्री गर्दा करीब ३ अर्ब राजस्व छली भएको छ ।


एनसेल बिक्री प्रकरणमा कर छलीमा जोडिएका अर्का नेपाली व्यक्ति हुन् निरजगोविन्द श्रेष्ठ । महतो र अब्दो लगानीकर्ता रहेको ‘वेलारुसियन–नेप्लिज–काजकास्थान’ (बीएनके) ग्रुपका एक लगानीकर्ता हुन् श्रेष्ठ । टेलियासोनेराले एनसेल बिक्री गर्दा २० प्रतिशत शेयरका हिस्सेदार थिए, उनी । एनसेलको ८० प्रतिशत शेयर टेलियासोनेराले मलेशियाको आजियटालाई बिक्री गर्दा श्रेष्ठले पनि आफ्नो २० प्रतिशत शेयर नेपाली नागरिक भावना सिंह श्रेष्ठलाई बिक्री गरेका थिए । यो बिक्री प्रकरणमा श्रेष्ठले समेत करीब ११ अर्ब रुपैयाँ कर छली गरेको भन्दै ठूला करदाता कार्यालयले कर निर्धारण गरिसकेको छ । त्यस विरुद्ध उनी २०७४ असोजमा सर्वोच्च अदालत गए, अदालतले ‘तत्काल कर असुल नगर्नु/नगराउनु’ भन्ने अन्तरिम आदेश दिएकाले कर असुली प्रक्रिया अहिले अवरुद्ध छ ।


यी तीन जनासंग अन्तरसम्बन्धित रहेको टेलियासोनेराले नेपालको एनसेलमा लगानी गरी ८ वर्षपछि बाहिरिसकेको छ । जसले कर छल्न र त्यसलाई शुद्धीकरण गर्न शक्तिकेन्द्रलाई रिझाएको उल्लेख छ । ‘टेलियासोनेराले नेपालको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई सोझो घुमाउरो पारामा आफ्नो हितमा परिचालन गरेको छ,’ खुलासामा भनिएको छ । तत्कालीन (वर्तमान पनि) प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद पत्र नै पठाएको भेटिएको छ । सन् २०१५ मा प्रधानमन्त्री ओलीलाई लेखेको पत्रमा भनिएको छ, ‘लाभांश फिर्ता लैजाने विषयलाई सफल निष्कर्षमा पुर्‍याउन नेपालका आधिकारिक निकायहरूसँगको वार्तालाई हामी निरन्तरता दिने छौं । साथ र सहयोगको लागि धेरै आभारी छौं ।’


टेलियासोनेराले पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र शेरबहादुर देउवाबाट समेत साथ र सहयोग पाएको थियो । तत्कालीन प्रधानमन्त्री दाहालले २०७३ फागुनमा नेपालबाट बाहिरिसकेको टेलियासोनेरालाई करको दायित्व सुम्पेर एनसेललाई उन्मुक्ति दिने मनसाय मन्त्रिपरिषद् बैठकमा सुनाएका थिए । तर, कर छलीलाई सघाउ पुग्ने भनेर तत्कालीन कार्यवाहक मुख्य सचिव रामप्रसाद आचार्य, अर्थ सचिव शान्तराज सुवेदी र राजस्व सचिव राजन खनालले त्यसलाई माइन्यूट उठाउन नमानेपछि यो प्रयास सफल हुनसकेको थिएन । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कर छुट दिने पक्षमा देखिने कुनै काम गरेनन् तर, कर असुली गर्नमा पनि कुनै चासो देखाएका थिएनन् ।


व्यापारीहरुले नेपालमा यस्तो रकम ल्याइरहेपनि कतिपयलाई लाग्छ जस्तो भए पनि नेपालमा लगानी भित्रिनु सकारात्मक कुरा हो । तर, यस्तो लगानीलाई सकारात्मक मान्नु नहुने धेरै आधार पेश गर्छन् राष्ट्र बैंकमा स्रोतमाथि निगरानी र सम्पत्ति शुद्धीकरण सम्बन्धी काम गर्ने वित्तीय जानकारी इकाइको प्रमुख भएर पाँच वर्ष काम गरेका धर्मराज सापकोटा । ‘यो कुरालाई म दूधमा हुने मिसावटसँग तुलना गर्छु । दूधमा पानीसम्म मिसायो भने ठीकै होला, तर डिजेल मिसायो भने खानयोग्य हुँदैन,’ राष्ट्र बैंकका पूर्व निर्देशक तथा सम्पत्ति शुद्धीकरण मामिला विज्ञ सापकोटाले भने, ‘गैरकानूनी तवरबाट कमाइएको रकम देशको अर्थतन्त्रमा परिचालन भयो भने, गैरकानूनी क्रियाकलापबाट कमाउनेहरू बलियो हुँदै जान्छन् । राज्य निरीह हुँदै जान्छ ।’

प्रकाशित : माघ २, २०७५ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?