२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

‘केसीका माग सम्बोधन भएका छन्’

विप्लव भट्टराई

इलाम — प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले डा.गोविन्द केसीका माग सबै सम्बोधन भएकाले सत्याग्रहको औचित्य नरहेको जनाएका छन् । 

‘केसीका माग सम्बोधन भएका छन्’

बुधवार इलाममा चिकित्सा शिक्षा विधेयक सम्बन्धी छलफल कार्यक्रममा बोल्दै भट्टराईले सम्झौता भएका भन्दा अरू राम्रा केही बुँदा थपिएको दाबी गर्दै केसीले सार्वभौम सांसदलाई नै चुनौती दिएको धारणा राखे ।


डा. केसीको यसअघिको अभियानले थुप्रै सुधारको काम भएको बताउँदै अहिले भने उनी कांग्रेसका उक्साहटमा आन्दोलनमा उत्रिएको आरोप लगाए ।


केसीले पछिल्लो पटक उठाएका मुख्य बुँदाको खण्डन गर्दै भट्टराईले प्रस्तावनाले यसअघि भएका आयोग र उपलब्धिलाई पनि उल्लेख गर्नु डा. केसीका लागि टाउको दुखाइको विषय नहुनु पर्ने धारणा राखे ।


यसअघि आशयपत्र लिएका मेडिकल कलेजलाई विश्वविद्यालयको निर्णय बमोजिम मात्र एक पटकलाई विशेष व्यवस्था गर्ने बुँदा राखिनु स्वाभाविक भएको तर्क उनको छ ।


सिटिइभिटीबाट सञ्चालित प्रमाण पत्र तह मुनिका कार्यक्रम बन्द गर्ने र चालुलाई ५ वर्षभित्र क्रमशः फेजआउट गर्ने साथै आवश्यकता अनुसार अपग्रेट गर्ने विषय विधेयकमा उल्लेख हुनु पनि औचित्यपूर्ण रहेको बताए ।


डा. केसीले उठाएको पूर्वी पहाडी जिल्लालाई सेवा दिने गरी इलाममा मेडिकल कलेज खेल्नुपर्ने विषयलाई उठाउँदै उनले केसीको माध्यमबाट जाँदा २० वर्षसम्म पनि मेडिकल कलेज खुल्न असम्भव हुने उनको दाबी छ । ‘डा. केसीको यसअघिको माग बमोजिम नै चिकित्सा शिक्षा विश्वविद्यालय खोल्ने उल्लेख गरिएको हो,’ उनले भने, ‘केसीले विधेयकका सबै बुँदा अध्ययन नगरी सत्याग्रह थालेका हुन् ।’


ताप्लेजुङबाट काठमाडौँ फर्कने क्रममा बुधवार इलाममा चिकित्सा शिक्षा विधेयकको बारेमा भएको छलफलका क्रममा भट्टराईले नेपालको संविधान निर्माण गर्न जति छलफल भएको थियो, त्यसपछि यो विधेयकमा सबैभन्दा बढी छलफल भएर आएको बताए ।


मेडिकल–डेण्टल तथा नर्सिङ शिक्षामा अध्ययन गर्न चाहने विद्यार्थीले विगतमा एकमुष्ट शुल्क तिर्नुपर्ने अवस्था रहेकाले त्यसको नियन्त्रण प्रयास गरिएको उनको भनाइ थियो ।

प्रकाशित : माघ २, २०७५ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?