पूर्वमन्त्री पाण्डे ४ करोड धरौटीमा रिहा

अख्तियारले २ वर्ष कैद र २ अर्बभन्दा बढी बिगो दाबी गरेको थियो

काठमाडौँ — विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री एवं ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेलाई ४ करोड रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

पूर्वमन्त्री पाण्डे ४ करोड धरौटीमा रिहा

सिक्टा सिँचाइ आयोजनाको नहर निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा पाण्डे धरौटीमा छुटेका हुन् ।


अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले बुधबार पाण्डेसित ४ करोड धरौटी माग्ने निर्णय गरेको हो । पाण्डेले रकम नबुझाए पनि ग्लोबल आईएमई बैंकको ग्यारेन्टीपत्र राखेर धरौटीमा छुटेको जानकारी अदालत स्रोतले दिएको छ ।


विशेष अदालतले अख्तियारको फरार सूचीमा रहेका पाण्डेलाई अदालतमा हाजिर हुन १५ दिनको म्याद जारी गरेको थियो । उनी म्यादभित्रै बुधबार अदालतमा हाजिर भएका हुन् ।

सिक्टा सिँचाइ आयोजनाको नहर निर्माण गुणस्तरहीन भएको ठहर गर्दै अख्तियारले गत मंसिर २१ मा कालिका कन्स्ट्रक्सनका मालिक पाण्डेसहित सिक्टा सिँचाइ आयोजनाका अधिकारीहरूविरुद्ध मुद्दा दायर गरेको थियो ।


अख्तियारले अभियोगपत्रमा पाण्डेलाई दुई वर्ष कैद सजाय र २ अर्ब १३ करोड ७६ लाख ८० हजार रुपैयाँ बिगो मागदाबी गरेको थियो । सीटीसीई कालिका कन्स्ट्रक्सन जेभीले सिक्टा सिँचाइ आयोजनाको ४५ मध्ये ४२ किलोमिटर नहर निर्माणको ठेक्का ६ अर्ब रुपैयाँमा लिएको थियो ।

गुणस्तरहीन निर्माणका कारण नहरमा अहिलेसम्म गरिएको लगानी शून्य अवस्थामा पुगेको ठहर अख्तियारको छ ।

प्रकाशित : माघ २, २०७५ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?