१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

थारू गाउँमा मटान अङ्ना

दुर्गालाल केसी

दाङ — हातमा ढिकरी, अचार, रोटी र रक्सीका बोतल । गाउँभरिका मानिस लक्ष्मीप्रसाद चौधरीको घरमा जम्मा भए । ल्याएको प्रसाद आँगनको बीचमा जम्मा गरे अनि सबैले चौधरीबाट टीका थापे । उनले पनि गाउँलेलाई सकेजति मीठोमसिनो खुवाए ।

थारू गाउँमा मटान अङ्ना

अनि, चौधरीले गाउँलेलाई सम्बोधन गर्न थाले, ‘मैले वर्षभरि गाउँ समाजको नेतृत्व गरेँ, गाउँमा मुद्दा मामिला मिलाएँ । केही गुनासा छन् भने राख्नुहोस् ।’


चौधरी घोराही उपमहानगरपालिका ७, शुक्रबार गाउँका महतवा हुन् । महतवा थारू गाउँको अगुवा हो । माघी पर्वको अवसरमा नयाँ महतवा चुनिन्छ । पुरानाले राम्रो काम गरेको समीक्षा भएमा उसैलाई निरन्तरता दिइन्छ । नभए नयाँ छानिन्छ । महतवाकै आँगनमा गाउँले जम्मा भएर लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व छान्ने कामलाई मटान अङना भनिन्छ । बुधबार मटान अङ्नाबाट लक्ष्मीप्रसाद पुन: महतवा चुनिए ।


गाउँलेले आ–आफ्ना विचार राखे । महतवाको कामबाट सन्तुष्ट भएको भाव व्यक्त भएपछि सबैले फेरि उनैलाई निरन्तरता दिने निर्णय गरे । त्यसपछि गाउँमा वर्षभरि के कस्ता काम गर्ने भन्नेबारे पनि छलफल भयो । ‘मैले आफ्ना योजना सुनाए । गाउँलेले पनि सल्लाह–सुझाव दिए,’ लक्ष्मीप्रसादले भने, ‘हाम्रो थारू गाउँ महतवा प्रथामा चलेको छ ।’


अहिले स्थानीय सरकारका रूपमा वडा कार्यालय भएकाले स्थानीय तहसँग समन्वय गरी विकासका काममा ध्यान दिनुपर्ने सुझाव स्थानीय जन्तराम चौधरीले सुझाए । ‘हाम्रो महतवा प्रथालाई स्थानीय सरकारले पनि महत्त्व दिनुपर्छ,’ उनले भने, ‘हाम्रा कामलाई मान्यता दिनुपर्छ । गाउँको विकासमा महतवाले पनि स्थानीय वडा कार्यालयसँग मिलेर काम गर्नुपर्छ ।’ अनिल चौधरीले जनताको चाहनाअनुसार काम गरेर महतवाले कुशल नेतृत्व दिनुपर्ने सुझाव दिए । ‘यो वर्षौंदेखि चल्दै आएको परम्परा हो,’ उनले भने, ‘यसलाई बचाउन जनताको चाहना बुझेर काम गर्नुपर्छ ।’


गाउँकै गुरुप्रसाद चौधरीले महतवा प्रथा हराउँदै गएकामा चिन्ता व्यक्त गरे । ‘धेरै ठाउँमा महतवा छान्न छोडिएको छ । हाम्रो कला संस्कृति हराउन थाल्यो,’ उनले भने, ‘हाम्रो चिनारी हराउन दिनुहुँदैन ।’ थारू समुदायले हरेक वर्ष माघी पर्वका अवसरमा वर्षभरिको समीक्षा गरी नयाँ योजना बनाउने चलन छ । महतवाकै घरमा जम्मा भएर माघीको शुभकामना आदानप्रदान गर्ने, नाचगान गर्ने र नयाँ नीतिनियम बनाउने चलन रहेको शुक्रबारका नवीन चौधरीले बताए ।

प्रकाशित : माघ ३, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?