१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

राजदूत शेर्पालाई परराष्ट्रले फिर्ता बोलायो

सामान लिन अस्ट्रेलिया पुगिन्, फर्किएर राजीनामा दिने
घनश्याम खडका

काठमाडौँ — अस्ट्रेलियाकी राजदूत लक्की शेर्पालाई परराष्ट्र मन्त्रालयले फिर्ता बोलाएको छ । मानव तस्करी आरोपमा मन्त्रालयले छानबिन थालेसँगै नेपाल आएकी उनी जागिर जाने पक्का भएपछि सरसामान लिन मंगलबार पतिसँगै अस्ट्रेलिया गएकी छन् ।

राजदूत शेर्पालाई परराष्ट्रले फिर्ता बोलायो

राजदूतकै हैसियतमा अस्ट्रेलिया गए पनि शेर्पाले दूतावासमा काम नगर्ने र सामान लिएर फर्केपछि राजीनामा दिने परराष्ट्रका अधिकारीहरूले बताएका छन् । ‘उहाँ दूतावास गई काम गर्नुभएको छैन, क्यानबेरास्थित निवासमै बसेर फर्कने तयारीमा लाग्नुभएको छ,’ परराष्ट्रका एक अधिकारीले भने, ‘केही दिनमा आउनु हुनेछ र राजीनामा दिनु हुनेछ ।’


ती अधिकारीका अनुसार बर्खास्त भएर बेइज्जती खेप्नुभन्दा राजीनामा दिन मन्त्रालयले सुझाएपछि उनी सामान लिन क्यानबेरा गएकी हुन् । ‘राजीनामा गरेर जाँदा कूटनीतिक उन्मुक्ति नपाइने भएकाले सामान ल्याउन र आउन–जान झन्झट हुन्थ्यो,’ ती अधिकारीले भने, ‘त्यो टार्न मन्त्री र सचिवसँग सल्लाह गरेरै उहाँ जानुभएको हो ।’ उनी गत डिसेम्बर ८ मा नेपाल फर्किएदेखि त्यहाँको कार्यभार अधिकृत दुरपदा सापकोटाले सम्हालिरहेकी छन् ।


परराष्ट्रका अनुसार लक्कीलाई सबैभन्दा अप्ठेरो ७ महिनाअघि किनेको गाडीले पारेको छ । अस्ट्रेलियाली डलर ९० हजारको हाराहारीमा किनिएको टोयोटाको पजेरो सेकेन्ड हयान्डमा बेच्दा धेरै घाटा नहोस् भनेर उनी उपयुक्त ग्राहकको खोजीमा लागेकी छन् । लेटेस्ट ब्रान्डको उक्त गाडीको मूल्य नेपालमा ३ करोडभन्दा माथि पर्ने मन्त्रालयका अधिकारीहरू बताउँछन् ।


कूटनीतिक सुविधाअन्तर्गत एक वर्ष प्रयोग गरेको गाडी नेपाल ल्याउँदा ढुवानी खर्च सरकारले व्यहोर्ने नियम छ । किनेको एक वर्ष ननाघेकाले त्यो सुविधा लक्कीलाई छैन । ‘त्यसमाथि यसरी ल्याउँदा गाडीको कूल मूल्यको २ सय २५ प्रतिशत भन्सार लाग्छ,’ स्रोतले भन्यो, ‘यो सबै गर्दा धेरै खर्च हुने भएकाले उहाँ सक्दो राम्रो भाउमा गाडी बेच्ने सुरमा हुनुहुन्छ ।’ उनले सामान प्याक गर्न थालेको र परराष्ट्रका कर्मचारीलाई फिर्ती टिकटका लागि आग्रहसमेत गरेको स्रोतले बतायो ।


शेर्पालाई उनकै चालक वाङचुक शेर्पाले आफूलाई पैसा लिएर अस्ट्रेलिया लगेको र बन्धक बनाई काममा लगाएको आरोप लगाएका थिए । विवादमा तानिएपछि उनीबारे छानबिन गर्न परराष्ट्रले तीन सहसचिव सम्मिलित छानबिन समिति गठन गरेको थियो । आफू गलत अरोपको सिकारमा परेकाले राजदूत भएर काम गर्न पाउनुपर्ने माग उनले गरेकी थिइन् । यससम्बन्धमा मिडियालाई प्रष्ट पार्न उनले गत शुक्रबार पत्रकार सम्मेलन गर्ने तयारीसमेत गरेकी थिइन् । मन्त्रालयको दबाबका कारण त्यो हुन नसकेको स्रोतले बतायो ।


शेर्पा डेढ वर्षअघि तत्कालीन माओवादीको कोटामा अस्ट्रेलियाका लागि राजदूत नियुक्त भएकी थिइन् ।

यो पनि पढौं : राजदूत शेर्पा स्पष्टीकरण दिन हाजिर

प्रकाशित : माघ ३, २०७५ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?