३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

विदेशमा लगानी र खाता–‘अनुसन्धानको कार्यक्षेत्र प्रधानमन्त्री कार्यालयकै’

काठमाडौँ — नेपालीले स्विस बैंकमा गरेको बचत र विदेशमा गरेको शंकास्पद लगानीको विषय प्रधानमन्त्री कार्यालयकै कार्यक्षेत्रमा पर्ने अर्थ मन्त्रालयले औंल्याएको छ ।

विदेशमा लगानी र खाता–‘अनुसन्धानको कार्यक्षेत्र प्रधानमन्त्री कार्यालयकै’

मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सरकारका प्रवक्ता गोकुल बाँस्कोटालाई नेपालीको विदेशमा लगानीबारे सोधेका थिए । बाँस्कोटाले यसको उत्तर दिन अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहाललाई आग्रह गरे ।


दाहालले भने, ‘अनुसन्धान गर्ने कार्यक्षेत्र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागको हो । यी दुवै विभाग अहिले प्रधानमन्त्री कार्यालयमातहत छन् ।’ अर्थ मन्त्रालयअन्तर्गतका यी दुई विभाग केपी शर्मा ओली प्रधानमन्त्री भएपछि प्रधानमन्त्री कार्यालयमातहत लगिएका हुन् ।


स्विस बैंकमा नेपालीले हालसम्म ४६ करोड ८ लाख २१ हजार स्विसफ्रयांक (हालको विनिमय दरअनुसार ५२ अर्ब ७ करोड २७ लाख ७३ हजार रुपैयाँ) बचत गरेको खुलासा भएको छ । ‘दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट्स’ (आईसीआईजे) को सहकार्यमा खोज पत्रकारिता केन्द्रले सार्वजनिक गरेको तथ्यअनुसार बानेश्वर गंगादेवी टोल ठेगाना उल्लेख भएकी मीनु शाह छिब्बरको मात्रै उक्त बैंकमा २ अर्ब ६१ करोड रुपैयाँ छ साथै ५५ नेपालीले विदेशमा शंकास्पद लगानी गरिरहेको विवरण पनि सार्वजनिक भएको छ ।


सरकारका उच्च अधिकारी र सरोकारवाला निकायले यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन् । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले भने, ‘यसबारे मलाई केही जानकारी छैन ।’


राजनीतिक दलका केही नेताले भने नेपालीको विदेशमा लगानी र स्विस बैंकमा बचतबारे छानबिन माग गरेका छन् । ‘असाध्य क्यान्सरझैं नेपालमा भ्रष्टाचार राज्य र समाजका सबै अंगमा यति नराम्ररी फैलिइसक्यो कि यसलाई सामान्य झारफुकले निको पार्न गाह्रो छ,’ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘यसमा सरकार आफैं त महादेव...कसलाई दिने वर भनेजस्तो छ ।’

नेकपाका नेता भीम रावलको ट्वीट छ, ‘यसबारे थप छानबिन गरी नेपाल सरकारले कानुनी कारबाही अगाडि बढाओस् ।’


‘शंकास्पद व्यक्ति र संस्थाको बैंक खाता तत्काल रोकियोस्, संसद्ले यस विषयमा सशक्त कदम उठाउनुपर्छ,’ राप्रपाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले भनेका छन्, ‘अवैध सम्पत्ति जफत गर्न र अपराधीलाई कारबाही गर्न प्रधानमन्त्रीले दह्रो कदम चाल्ने आशा गर्छु ।’


विवेकशील साझा पार्टीले निष्पक्ष छानबिन गरी कानुनी कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ । ‘मुलुककै अर्थतन्त्र तहसनहस पार्न सक्ने यो धन्दाको विरोध र सरकारलाई निरन्तर खबरदारी गर्न हामी सबै राजनीतिक दल र नागरिक समाजलाई आह्वान गर्दछौं,’ उसले भनेको छ ।

प्रकाशित : माघ ४, २०७५ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?