बयालपाटा अस्पताल : स्वास्थ्य सेवा नि:शुल्क

मेनुका ढुंगाना

अछाम — सुदूरपश्चिमको दुर्गम क्षेत्रमा नि:शुल्क स्वास्थ्य सेवा दिइरहेको अछामको बयालपाटा अस्पतालले स्थापनाको १० वर्षभित्र १० लाख बढीलाई सेवा दिएको छ ।

बयालपाटा अस्पताल : स्वास्थ्य सेवा नि:शुल्क

जिल्ला समन्वय समितिले संयोजन गरेको सार्वजनिक सुनुवाइमा अस्पतालले सुदूरपश्चिम र कर्णाली प्रदेशका जनतालाई सेवा दिएको जनाएको हो । ‘नेपालका अन्य ठाउँबाट प्रदान हुने सर्जरी सेवा सशुल्क भए पनि हामीले नि:शुल्क सेवा दिएका छौं,’ अस्पतालका मेडिकल निर्देशक डा. विकास गौचनले भने, ‘यसरी सर्जरीलगायत अस्पतालबाट प्रदान गरिने सबै सेवा नि:शुल्क प्रवाह गरेका छौं ।’ दुर्गम तथा पिछडिएका क्षेत्रका जनताका लागि स्वास्थ्यसम्बन्धी सबै सेवा नि:शुल्क उपलब्ध गराएको न्याय हेल्थ नेपालका कार्यकारी निर्देशक एसपी कलौनी बताउँछन् ।


‘यस क्षेत्रका जनताको आर्थिक अवस्था कमजोर छ जसले गर्दा सर्जरी सेवाका लागि पैसा हँुदैन र समयमै उपचार नभए ज्यान गुमाउनुपर्ने भएकाले सबै किसिमका सेवा नि:शुल्क प्रदान गरेका हौं,’ उनले भने । बयालपाटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने परिकल्पना गरेको सांसद भीम रावलले बताए ।


‘बयालपाटा अस्पताल धेरै प्रयत्नपछि अहिलेको अवस्थामा आएको हो । अस्पताललाई दीर्घकालीन रूपमा सञ्चालन गर्न स्थानीय, प्रदेश तथा संघीय सरकारको लगानी थप गर्न पहल गरिरहेको छु,’ उनले भने, ‘शिक्षण अस्पताल भयो भने जिल्लामा व्यवसाय बढ्छ । अर्थतन्त्र अगाडि जान्छ ।’


शय्या थपिएपछि राहत

अस्पतालमा अन्य घर निर्माण भएसँगै भर्ना भएका बिरामीलाई नयाँ भवनमा राख्न थालिएको छ । अहिले ३४ शय्यासहितको सुविधायुक्त भवनबाट बिरामीले सेवा लिइरहेका छन् ।


स्वास्थ्य मन्त्रालयबाट यसअघि १५ शय्या सञ्चालनको स्वीकृति पाएको अस्पतालमा हाल ५० शय्या छन् । यसअघि बेडको अभावमा कमै बिरामीलाई मात्र अस्पतालमा भर्ना गर्न सकिने अवस्था थियो ।


संस्थामार्फत सञ्चालन

न्याय हेल्थ नेपाल नामक संस्थामार्फत सञ्चालित यो सामुदायिक अस्पतालले सरकारको समन्वयमा यहाँका जनतालाई सबै स्वास्थ्य सेवा नि:शुल्क प्रदान गरिरहेको छ । अस्पतालले हाल विभिन्न १२ बढी किसिमका सेवा नि:शुल्क दिइरहेको छ ।


अस्पतालले बहिरंग सेवा, चौबीसै घण्टा अन्तरंग, आकस्मिक, आधुनिक प्रयोगशाला, डिजिटल एक्सरे, ब्लड बैंक तथा दन्त सेवा प्रदान गर्दै आइरहेको छ ।


साथै शल्यक्रियामार्फत प्रसूति सेवा, हर्निया तथा हाइड्रोसिल र एपेन्डिक्सको आकस्मिक सर्जरी तथा हाडजोर्नीको सर्जरी नि:शुल्क गरिन्छ । बिरामीका लागि अस्पतालले सरकारबाट उपलब्ध हुने ७० प्रकारका औषधिसहित थप २ सय प्रकारका औषधि पनि नि:शुल्क उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित : माघ ४, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?