गण्डकमा पानी रोक्न पत्राचार

पानी बढी भएर बाली बिग्रन थालेको गुनासो किसानबाट आएपछि बन्द गरियो

पर्सा — गण्डक नहरमा बढी पानी भएपछि नेपालले भारतीय पक्षलाई पानीको आपूर्ति रोक्न (बन्द गर्न) पत्राचार गरेको छ । भारत बिहार पश्चिमी चम्पारण रामनगरस्थित दोन ब्रान्च कनालका कार्यकारी इन्जिनियरलाई बिहीबार पत्राचार गरी आइतबारदेखि नहरमा पानी रोक्न आग्रह गरिएको नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय बहुअरीका प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद साहले जानकारी दिए ।

गण्डकमा पानी रोक्न पत्राचार

उनका अनुसार किसानकै आग्रहमा पानी रोक्न भारतीय पक्षलाई पत्राचार गरिएको हो । ‘नहरबाट पर्सा र बाराको ११ नम्बर ब्लकसम्म गहुँ तथा अन्य बालीमा सिँचाइ भइसकेको छ,’ उनले भने, ‘अब पानी बढी भएर बाली बिग्रन लागेको गुनासो किसानबाट आउन थालेपछि आइतबारदेखि नहरमा पानी नदिन आशयसहितको पत्राचार बिहीबारै गरेका छौं ।’


गत वर्ष गण्डक मूल नहरको सफाइ गरिएपछि बारा र रौतहटको सीमासम्म अर्थात ११ नम्बर ब्लकसम्मै पानी पुगेको छ । गहुँको सिजनका लागि भारतले नहरमा ५ सय ६८ क्युसेकसम्म पानी दिएको र त्यो बालीका लागि पर्याप्त भइसकेकाले पानी रोक्न आग्रह गरिएको हो ।


गण्डक सम्झौताअनुसार भारतले धान बालीका लागि १० मेदेखि २५ अक्टोबरसम्म र गहुँका लागि २५ डिसेम्बरदेखि २५ मार्चसम्म पानी दिनुपर्छ । अहिले पानी बढी भएकाले नहरबाट तिलाबे र सिक्टा खोलामा पानी झार्ने काम भइरहेको साह बताउँछन् । यसो नगरिए किसानको खेतमा बढी पानी प्रवाह भई बाली नै नष्ट हुने सम्भावना रहेको उनले बताए । पर्साको जानकीटोलाबाट यो नहर भारत हँुदै नेपाल प्रवेश गर्छ । पर्सा, बारा र रौतहट हँुदै वाग्मती नदीमा गएर नहरको पानी झर्छ ।

प्रकाशित : माघ ४, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?