१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

तिलौराकोटमा उत्खनन

मनोज पौडेल

कपिलवस्तु — विदेशी पुरातत्त्वविद्सहितको विज्ञ टोलीले बुद्धस्थल तिलौराकोट (प्राचीन कपिलवस्तु) मा उत्खनन थालेको छ । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने उद्देश्यले बेलायतको डुर्‍हाम युनिभर्सिटी, पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषका पुरातत्त्वविद् संलग्न टोलीले अध्ययन/अन्वेषण थालेको हो ।

तिलौराकोटमा उत्खनन

शाक्यवंशीय राजधानी तिलौराकोट प्रवेश गर्नासाथ प्राचीन सहरको झल्को दिने गरी उत्खनन अघि बढाइएको छ । गत साताबाट सुरु गरिएको उत्खनन फागुन १६ मा सकिने बताइएको छ ।


यसपटक ३ ठाउँमा उत्खनन गरिँदै छ । मध्यक्षेत्रमा पाइएको सय/सय मिटर लम्बाइ/चौडाइको प्रशासनिक भवन संरचनाको पश्चिमी सुरक्षा किल्ला पर्खालको उत्खनन सुरु गरिएको हो । २० देखि ३० मिटर लम्बाइसम्म खनेर अध्ययन गरिँदै छ । त्यहाँ ४ वर्षअघि जियोफिजिक्स (भू–भौतिक) सर्भे गर्दा ठूलो संरचना पाइएको थियो ।


त्यस्तै समयमाई मन्दिरदेखि उत्तर–पश्चिममा गत वर्ष १५ मिटर लम्बाइ र ६ मिटर चौडाइको ट्रेन्च बनाएर उत्खनन गरिएको थियो । त्यही स्थलमा यस वर्ष बृहत् उत्खनन गरिँदै छ । मध्यक्षेत्रमै रहेका पोखरीका संरचनामा उत्खनन थालिएको छ । यसपटक उत्तर–दक्षिण ट्रेन्च खनेर अध्ययन थालिएको हो ।


नयाँ ठाउँ तिलौराकोट पर्खालबाहिर रहेको कन्थक स्तूपमा उत्खनन गरिँदै छ । यसका लागि जापानी नागरिक डा. नोबुओ कसाईले १ करोड रुपैयाँ सहयोग गरेका छन् । यस ठाउँमा बेलायती कर्मचारी वाडेलले सन् १८९८ मा खनेका थिए । त्यसपछि पहिलोपटक उत्खनन हुँदै छ । राजकुमार सिद्धार्थले ज्ञान प्राप्त गर्न दरबार छाडेर जाँदा सँगै लिएर गएको कन्थक घोडा आधी बाटोबाट फर्काएपछि दरबार आउने क्रममा तिलौराकोट नजिक उक्त घोडा मरेको थियो ।


त्यसैको सम्झनामा कन्थक स्तूप नाम राखिएको हो । यसपटक वैज्ञानिक तरिकाले अध्ययन अनुसन्धान गरिने विभाग प्रमुख पुरातत्त्व अधिकृत रामबहादुर कुँवरले बताए । अनुसन्धान क्रममा भू–भौतिक सर्भे, ड्रोन फोटोग्राफी, टोपोग्राफी, फिल्ड वाकिङ, सोसियो इकोनोमी र भिजिटर सर्भे गरी अनुसन्धान गरिने उनले बताए । ‘उत्खनन परिणाम राम्रो हुँदा खुसी छौं,’ उत्खनन परियोजना सहसंयोजक तथा वरिष्ठ पुरातत्त्वविद् कोषप्रसाद आचार्यले भने ।


उत्खननबाट उक्त कालमा घर बनाउँदा के–के प्रयोग गरिन्थ्यो ? कस्तो घर बनाइन्थ्यो र आर्थिक–सामाजिक पाटो पत्ता लाग्ने उनले बताए । कुन समयमा कस्ता समुदायको बसोबास थियो भन्ने पनि थाहा लाग्नेछ । यसले तिलौराकोटको विकासक्रम पत्ता लाग्ने र ऐतिहासिक रूपमा प्रमाणित हुने उनले बताए ।


यसबारे रहेका भ्रम चिरेर विश्वको ध्यान तान्न थप सहयोग पुग्ने दाबी उनको छ । ‘धेरै महत्त्वपूर्ण प्रमाण फेला परेका छन्,’ लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेय शाक्यपुत्रले भने, ‘अब छिट्टै तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन्छ ।’ ३ वर्षयता उत्खनन क्रममा केन्द्रीय प्रशासनिक संरचना, ऐतिहासिक पोखरी, हतियार बनाउने उद्योग, व्यवस्थित सहरका पुराना संरचना भेटिएका छन् । करिब ५ सय पञ्चमार्क सिक्का पाइएका थिए ।


त्यस्तै ईसापूर्व आठौं शताब्दीका भवनका किल्ला पर्खालको पोस्टहोल (काठ र बाँसका खाँबाका डोब) पनि पाइएको थियो । सन् २०१३ देखि यहाँ उत्खनन अन्वेषण भइरहेको छ ।

प्रकाशित : माघ ४, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?