१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

विजौरी सामूहिक बलात्कार काण्डका मुख्य दोषी १० वर्षपछि पक्राउ

दुर्गालाल केसी

दाङ — दाङको बिजौरीमा १० वर्षअघि भएको सामूहिक बलात्कार काण्डका मुख्य दोषी बिहीबार पक्राउ परेका छन् । 

विजौरी सामूहिक बलात्कार काण्डका मुख्य दोषी १० वर्षपछि पक्राउ

सर्वोच्च अदालतबाट २०७२ फागुन ३० गते फैसला भई ९ वर्ष ११ महिना २ दिन कैद सजाय र ५० हजार जरिवाना तोकिएका तुलसीपुर उपमहानगरपालिका १८ बिजौरीका ३१ वर्षीय विष्णु चौधरीलाई पक्राउ गरी जिल्ला अदालतमार्फत घोराही कारागार चलान गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।


२०६५ चैत १५ गते गढवाकी १७ वर्षीया कल्पना खनालमाथि सामूहिक बलात्कार भएपछि उनको ८४ औं दिनमा उपचारका क्रममा मृत्यु भएको थियो । तुलसीपुर आफन्तलाई भेट्न गएकी खनाल नेपाल बन्दका कारण हिड्दै आइरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका १८ बिजौरीमा केही युवाहरुले नियन्त्रणमा लिई रातभर बलात्कार गरेका थिए ।


अदालतको फैसलापछि फरार भनिए पनि राजनीतिक शक्तिको आडमा खुलारुपमा हिडिरहेका चौधरीलाई प्रहरीले लामो समयपछि पक्राउ गरेको छ । उनी यसअघि माओवादी केन्द्र निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य थिए । चौधरी जनता विद्यापीठ बिजौरीको स्ववियू उपसभापति भएको बेला बलात्कार काण्ड भएको थियो ।


अदालतले सजाय फैसला गरिसक्दा पनि उनले बिजौरीमा असहाय बालविकास नेपाल नामक संस्था दर्ता गरी सञ्चालन गरिरहेका थिए । तत्कालीन सभामुख ओनसरी घर्तीले २०७३ पुस २९ मा केन्द्रको उद्घाटन गरेकी थिइन् । चौधरीविरुद्ध नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारीमाथि आक्रमण गरेको र विश्वविद्यालयको सम्पत्ति तोडफोड गरी चोरी गरेको घटना सम्वन्धमा समेत अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले बताएका छन् । उनी अन्य कुनै आपराधिक घटनामा संलग्न भएको भए जानकारी उपलब्ध गराउन प्रहरीले सार्वजनिकरुपमा सबैलाई अनुरोध गरेको छ ।


उक्त बलात्कार घटनामा संलग्न अन्य ६ जनाले सजाय भुक्तान गरिसकेको र मोहन पुन अझै फरार रहेको डिएसपी घर्तीले जानकारी दिए ।

प्रकाशित : माघ ४, २०७५ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?