३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

‘राजा’को छलले गाउँ लिलामीमा

मुनुवा, कैलाली —  जिमीदार रिसाए अप्ठ्यारोमा परिएला भनेर गाउँलेले लालपुर्जा बुझाए । नदिनेहरुबाट जबर्जस्ती लिइयो । जिमीदारले तिनै लालपुर्जा धितो राखेर बैंकबाट ऋण लिए, चुक्ता गरेनन् । प्रदेश प्रमुख मोहनराज मल्ल र उनका दाइ टेकबहादुरले लिएको ऋणले ५२ किसानको जग्गा लिलामी छ । 

‘राजा’को छलले गाउँ लिलामीमा

यो कथा हो मुनुवा, कैलालीका बासिन्दाको । आफूले थाहै नपाई बैंकमा पुगेको लालपुर्जाको । समाजका अगुवाले फाइदाका लागि गरिब किसानका खेत कसरी बैंकको कालोसूचीमा पुर्‍याइदिन सक्छन्, यसले दर्शाउँछ ।

प्रदेश ७ का प्रमुख मोहनराज मल्ल र उनको परिवारका केही सदस्य २८ वर्षदेखि नेपाल बैंकको ऋण नतिरेर कालोसूचीमा छन् । कालोसूचीमा रहेको व्यक्ति प्रदेश प्रमुख हुन योग्य नहुने प्रश्न एकातिर उठेको छ भने अर्कातिर उनको परिवारले थाहै नदिई खेतबारी लिलामीमा पुर्‍याइदिएका ५२ परिवार गाउँलेको कथा छ । ‘कस्सो बैंकले गाउँ नै किन्ने मान्छे भेटेनछ र हाम्रो जग्गा अझै लिलामीमा छ, मल्लराजाले त गाउँ नै बेचिदिएका हुन्,’ स्थानीय कामकिसन थारूले गुनासो पोखे ।

कथा सुरु हुन्छ करिब एक सय वर्षपहिले । त्यति बेला दाङबाट आएका मुन्नु थारूले जंगल फाँडेर मुनुवा बस्ती बसाले । जानकी गाउँपालिका ७ मा पर्ने यो गाउँमा पहिले थारूमात्रै बसोबास गर्थे । ३०/३५ परिवारको जिम्मा लिएर मुन्नु नै गाउँको जिमीदार बने । उनको मृत्युपछि छोरा बुथसिंहले बिँडो थामिरहेनन् । यसबीच गाउँमा अरू जातिका पनि बसोबास गर्न आइसकेका थिए ।

बुथसिंहले केही वर्षमै ‘जिमीदार’ पदवी मोहनराज मल्लको परिवारलाई सुम्पिए । २०३० सालतिर मोहनका जेठा दाइ टेकबहादुर जिमीदार भए । यो पञ्चायतकाल थियो । मल्ल परिवार पञ्चायत समर्थक थियो । यही जिमीदारीको फेरबदलबाट सुरु भएको जग्गाको लहरोले अहिले प्रदेश प्रमुख भएका मोहनसम्मको पहरो थर्किएको छ ।

‘जिमीदार भएपछि टेकबहादुरले किसानको गरिखाने खेत लिलाममा चढाइदिए । पहिलो पुस्ताले लिएको लालपुर्जा अहिले तेस्रो पुस्ताले खोजी गर्दा बल्ल हल्लीखल्ली भएको छ,’ मुनुवाका मानप्रसाद कठरियाले भने, ‘गाउँका नयाँ जिमीदार मल्लले उति बेला थारूका सोझा अगुवा भलमन्सालाई फकाएर साधारण किसानको घरखेत बेचाइदिने काम गरे ।’


राइस मिलका नाममा

कमलप्रसाद बडायकका अनुसार टेकबहादुरले मुनुवामा २०३२/३३ सालतिर राइस मिल खोले । छोरा दुष्यन्तका नाममा खोलिएको यो राइस फ्लोर मिल सम्भवत: जिल्लाकै ठूलो थियो । मिलमा धान खरिद र चामल उत्पादन गरी पठाउने काम हुन्थ्यो । केहीले रोजगारी पनि पाए । किसानले धान बिक्री गर्न पाए । मिलमा तोरी पेल्ने र गहुँ पनि खरिद हुने भएकाले स्थानीयलाई फाइदै थियो ।

‘नयाँ जिमीदारको नयाँ कामप्रति थारू किसान खुसी थिए,’ कमलप्रसादले भने, ‘यसअघि किसानले घरको उब्रेको धान/गहँ‘ सीमापारि भारतीय व्यापारीलाई तिकुनिया पुर्‍याएर बेच्नु पथ्र्यो कि टीकापुरको सत्ती बजार पुग्नुपथ्र्यो ।’ मिलले भाउ राम्रो नदिए पनि बयलगाडामा सत्ती वा भारत पुर्‍याउनभन्दा यहीँ बेच्नु सजिलो थियो । ‘मिलले जिमीदारप्रति सबैमा सकारात्मक धारणा बनायो, उनलाई सबैले मान्न थाले,’ कमलप्रसाद भन्छन् ।

यो सजिलो धेरै समय रहेन । दुई–तीन वर्षमै मिल बन्द भयो । किसानको पुरानै समस्या फर्कियो । मिलमा धेरै घाटा भएकाले बन्द भएको हल्ला चल्यो । ‘तर, यही मिलले जनतालाई दिएको सुविधा देखाएर जग्गा धितोमा राख्ने दाउ जिमीदारको रहेछ,’ अर्का स्थानीय गोरकु कटरियाले भने, ‘घाटामा गएको हल्ला उनीहरूले नै चलाएका रहेछन् । बन्द भएको ४/५ महिनामा मल्लका घरका मान्छेले मिल चलाउन गाउँलेका खेतका पुर्जा बैंकमा राखेर पैसा निकाल्ने कुरा गर्न थाले ।’

उनका अनुसार त्यससँगै मल्लका मानिसले लालपुर्जा मागेर संकलन गर्न थाले । कटरियाले भने, ‘पुर्जा माग्दा साधारण किसानलाई सबैकुरा भनिएको थिएन । घरमा लालपुर्जा किन राख्ने, मल्ल राजाको भजनी दरबारमा राखौं मात्रै भनिएको थियो । उनीहरूले केही जान्नेबुझ्नेलाई चाहिँ मिल घाटामा गएकाले बैंकबाट पैसा झिक्न किसानको पुर्जा माग्नुपरेको भनेका थिए रे ।’


पीडित ७५ वर्षे चोधुराम र उनको परिवार । तस्बिर : मोहन बुढाऐर/कान्तिपुर


जबर्जस्ती पनि उठाइयो पुर्जा

कसैलाई फकाएर त कसैलाई धम्क्याएर मल्ल परिवारले पुर्जा संकलन गरेको स्थानीय युवक रामराजा चौधरी बताउँछन् । उनले आफ्ना बुबा चोधुलाल चौधरीबाट ५ बिघा जग्गाको पुर्जा टेकबहादुरले जबर्जस्ती खोसेको दाबी गरे । भने, ‘बुबाले लालपुर्जा दिन मानेकै थिएनन् रे, मल्ल राजाले बैंकमार्फत जग्गा लिलामी गर्छन् भन्ने कुरा उनलाई थाहा थियो ।’ ७५ वर्षे चोधुलाल भन्छन्, ‘मेरो नाममा ८ बिघा जग्गा थियो । मल्लका कारिन्दा दिनदिनै पुर्जा लिन घर आउन थाले । छोरा सन्ततिका लागि जमिन कसरी बचाउने चिन्ता भयो ।’ पछि कसैले उनलाई आधा जमिन बचाउने जुक्ति दिएछ । ‘हामी तीन–चार जना भएर सुटुक्क धनगढी गयौं । आधीजति जग्गा छोराको नाममा सारियो,’ उनले भने ।

आखिरीमा त्यही मात्र उनीसँग बच्यो । अर्का स्थानीय भक्तबहादुर बडायक त्यति बेला मल्लका कारिन्दाले ‘राजा’लाई अक्कर परेका बेला सहयोग नगरे गाउँ, समाज र घरपरिवारको कुनै दु:ख पर्दा नहेर्ने उर्दी नै फैलाएको बताउँछन् । ‘यही डरले धेरैले पुर्जा दिए, मेरा बाले त्यही डरमा दिए । मल्लका मान्छेले मात्रै होला खुसीले दिएका, अरूले त चित्त दुखाएरै लालपुर्जा दिएका हुन् । कतिको त खोसियो,’ उनले भने ।

मल्लले घरपरिवारको झगडा मिलाउने नाममा पनि पुर्जा कब्जा गरेको कमलप्रसादले बताए । उनका हजुरबुबा वंशराम र भाइ रामबतासबीच अंशसम्बन्धी झगडा थियो । वंशरामको साढे १२ बिघा जग्गा थियो । रामबताससँग साढे ११ बिघा थियो । ‘दुवै बाजे भाइमा बराबरी पाउनुपर्ने भनी झगडा सुरु भयो,’ उनले भने, ‘झगडा टेकबहादुर कहाँ पुग्यो । उनले दुवैको पुर्जा जफत गर्दै आफैं मिलेर बस्न आदेश गरे । उनको रजाइँ चलेका बेला पुर्जा माग्न को जान सक्ने ?’ यो २०४१/४२ सालको कुरा भएको उनले बताए ।

जिमीदारले किसानको पुर्जा लिएर गएको केही दिनपछि बैंकका कर्मचारी गाउँ आएका थिए । स्थानीयका अनुसार नेपाल बैंक र वाणिज्य बैंकका कर्मचारीले कागजमा औंठाछाप लगाएर गए । ‘कागजमा के लेखिएको थियो, अनपढ समाजलाई के थाहा ?,’ भक्तबहादुरले भने, ‘बैंक र मालपोत कार्यालयले जग्गाधनीसँग पुर्जा बन्धकी धितो राख्ने नराख्ने सम्बन्धमा सोध्नुपथ्र्यो ।’

लिलामीबारे वर्षौं अनभिज्ञ

मल्ल परिवारले किसानलाई गुमराहमा पारेर लगेको लालपुर्जा फिर्ता दिनुपर्ने रामकिसन चौधरीको माग छ । ‘बैंकको ऋण साहु मल्ल परिवारबाटै असुल उपर हुन पर्‍यो,’ उनले भने । वडा नम्बर ७ का कार्यालय सहयोगी रामकिसनका बाजे रंगरामको नाममा रहेको २ बिघा ९ कट्ठा जग्गा लिलामीमा छ ।

बाजेबाट जग्गाको पुर्जा लिइएको कुरा रामकिसनले कक्षा १० मा पढदै गर्दा थाहा पाएका थिए । त्यस बेला उनको उमेर १७/१८ वर्ष थियो । उनी भन्छन्, ‘पञ्चायतकालमा गाउँका राजाले बैंकलाई गाउँ नै बेचिदिएका हुन्, कस्सो ती सबै खेतबारी किन्ने मान्छे बैंकले नभेटेर अहिलेसम्म बेचिएनछ । अहिले पनि हाम्रो खेत लिलामै छ नि । कसले बचाउने ?’

परमानन्द बडायकको तेस्रो पुस्ताले मात्रै कमाइ खाने खेत लिलामी परेको थाहा पायो । परमान्दका नाति भक्तबहादुर र भाइ देवराजले समस्या परेका बेला थोरै जमिन बेच्ने निधो गरे । ‘बाजेले भनेअनुसार दुई भाइ नाति पुर्जाका लागि मल्ल राजाको भजनी घरमा गयौं,’ भक्तबहादुरले भने, ‘मल्ल परिवारले पुर्जा बैंकबाट निकाल्न नसकेको कुरा सुनाए ।’ पुर्जा नहँ‘दा दुई भाइको अंशबन्डा र बैंकिङ कारोबार रोकिएको उनले बताए । अंशबन्डा र बेचबिखन गर्ने बेलामा मात्र धेरै किसानले पुर्जा बैंकमा रहेको थाहा पाए ।

नेपाल बैंकले सावाँब्याज नतिरेको देखाउँदै २०४४ देखि धितो जमानीको पुर्जा लिलाममा राखेको हो । मोहनराज र टेकराज दाजुभाइले ५२ किसानको पुर्जा नेपाल बैंक र वाणिज्य बैंकमा राखेर ऋण लिएका थिए । उनीहरूले वाणिज्य बैंकमा आफ्नो धेरै र किसानको थोरै जग्गा धितो राखेका थिए । आफ्नो जग्गा बढी राखेकैले मल्लले २०७१ मा वाणिज्य बैंकको कर्जा तिरेको रामकिसन बताउँछन् । मल्ल परिवारले आफ्नो नामको पुर्जा २०७१ भदौ ५ मा वाणिज्य बैंकबाट फुकुवा गरेको देखिन्छ ।

मल्ल परिवारले बैंकमा रोक्का जमिन पनि किसानलाई बेचेर ठगी गरेको रामकिसनको आरोप छ । मल्लले वाणिज्य बैंकमा रोक्का रहेको ३ बिघा जग्गा १५ वर्षअघि उनका बुबालाई ९० हजारमा बेचेका थिए । ‘त्यही जमिनको पुर्जा फुकुवा गर्ने बेला थप १५ लाख मागे,’ उनले भने, ‘अहिलेसम्म पास गरिदिएका छैनन् ।’

७ किसान आफैंले फुकुवा गरे

नेपाल बैंक लिमिटेडले ऋण असुली न्यायाधिकरणमा लैजानुअगाडि अन्तिम पटक २०६४ मा धितोको दोब्बर रकम तिरेर पुर्जा फुकुवा गर्न सक्ने अवसर दियो । यसबेला मुनुवाका सात किसानले आफ्नो जग्गा फुकुवा गरेका छन् । ‘फुकुवा त गरेँ हजुर, कसरी गरेँ, पीडा मनभित्र गुम्सिएकै छ,’ सुखीरामले भने ।

साढे तीन बिघा जग्गा फुकुवा गर्दा उनले २ लाख १५ हजार ६२ रुपैयाँ बैंकलाई तिरे । फुकुवा गर्दा साहुसँग लिएको ऋण चुक्ता गर्न वार्षिक २६ क्विन्टल धान र १० क्विन्टल गहुँ ब्याजबापत साहुलाई बुझाउँदा घरमा खाद्य संकट झेले उनले । गत वर्ष एक बिघा बेचेर सबै ऋण चुक्ता गरेको उनले बताए । बाजेको नामको साढे ११ बिघाको पुर्जा छुटाउन जग्गा बेच्ने किसान कमलप्रसाद पनि हुन् ।

गत मंसिरमा ३८ किसानले नेपाल बैंकको टीकापुर शाखामा जग्गा फुकुवाको सुविधा उपलब्ध गराउन निवेदन दिएका छन् । यसअघि उनीहरूले स्थानीय, प्रदेश र केन्द्रको चुनावी उम्मेदवार, पार्टीका नेता र प्रधानमन्त्रीलाई समेत यसबारे जानकारी गराए । ‘पुर्जा फुकुवाका लागि चौतर्फी पहल गर्दै आएका छौं,’ रामकिसनले भने, ‘तर सुनुवाइ भएको छैन ।’

प्रदेश प्रमुख मोहनराज र उनका दाइ टेकबहादुरले भजनी र मनुवा मिलको नाममा नेपाल बैंकबाट ९८ लाखभन्दा बढी ऋण लिएको देखिन्छ । मल्ल समूहले यो ऋणमा तत्कालीन भजनगाता, मनुवालगायत गाविसका ५२ परिवारको घरजग्गा धितो राखेको छ । तेस्रो पक्ष धितोका नाममा गरिब किसानलाई लोभलालचमा पारेको स्थानीयको आरोप छ ।

प्रकाशित : माघ ५, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?