कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सबै क्षेत्रमा सरकारकाे हस्तक्षेप सह्य हुँदैन–देउवा

पोखरा — कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतन्त्रमा कर्मचारी, न्यायपालिका, सेना र प्रहरी स्वतन्त्र रहने भएकाले उनीहरुमाथि हस्तक्षेप गर्न नहुने बताएका छन् । 

सबै क्षेत्रमा सरकारकाे हस्तक्षेप सह्य हुँदैन–देउवा

सभापति देउवाले सरकारबाट कर्मचारीमाथि अनावश्यक हस्तक्षेप भएकाे भन्दै यसबिरुद्ध सदनदेखि सडकसम्म जान बाध्य नपार्न चेतावनी दिए ।


सडकमा गएर मुलुकलाई ठप्प पार्न कांग्रेसले नचाहेको भन्दै उनले कर्मचारीमाथिको थिचोमिचो भने नसहने बताए । ‘कांग्रेसलाई लोकतान्त्रिक मूल्यमान्यताबिरुद्धका कुनै पनि चिथोमिचो असह्य छ’ उनले भने, ‘हामीलाई सडकमा जान बाध्य नपारियोस् ।’


नेपाल निजामति कर्मचारी यूनियन (संघ) गण्डकी प्रदेशको शनिबार पोखरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले राजनीतिमुक्त कर्मचारीतन्त्र चाहिएको बताए । स्वास्थ्य विधेयक, कर्मचारी समायोजनजस्ता नाममा हरेक क्षेत्रमा सरकारले हस्तक्षेप गरेको र कर्मचारीलगायत सेना, न्यायालय, प्रहरी पनि नियन्त्रण गरी पार्टीप्रति प्रतिबद्ध बनाउन खोजेको आरोप उनको थियो । सेनामा र न्यायालयमा हस्तक्षेप हुनसक्ने सम्भावना बढेको भन्दै उनले यसलाई रोक्नेतर्फ लाग्ने उनले बताए ।


कांग्रेस नेताका नामबाट खोलिएका स्वास्थ्य संस्थाको नाम हटाउनु प्रजातन्त्र सिध्याउने खेल रहेको भन्दै आफ्ना नेताको नाम सुन्न पनि अहिलेको सरकारलाई ‘एलर्जी’ भएको उनको टिप्पणी थियो ।


कार्यक्रममा बरिष्ठ नेता रामचन्द्र पौडेलले कर्मचारीको बृति विकासमा बाधा नहुने गरी व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनले कर्मचारीले पनि आफ्नो दायित्व पूरा हुनेगरी काम गर्नुपर्ने बताए ।


सरकारले प्रतिपक्ष र जनतालाई हेप्न थालेको भन्दै उनले यसविरुद्ध कांग्रेसले खबरदारी गर्नुपर्ने बताए । सरकार सर्वसत्तावादतर्फ उन्मुख हँुदै गएकाले सडक र सदनबाट खबरदारी गर्नुपर्नेमा उनको जोड थियो । पौडेलले स्थिर सरकार भए पनि शान्ति सुरक्षा, सुशासन र विकासमा असफल भइसकेको बताए । ‘संवैधानिक निकायलगायत सबै क्षेत्रमा सरकारले हस्तक्षेप थालेर पंगु बनाउन थालेको छ,’ उनले भने, ‘सरकार चरम भ्रष्टाचारतर्फ छ । वाइडवडी, एनसेल, बूढीगण्डकी, चिनीलगायत काण्डमा सरकारको संलग्नता छ ।’ सत्ताकब्जा गरी स्रोतसाधनमाथि कार्यकर्ताको पहुँच बढाएर कस्तो कम्युनिज्म ल्याउन खोजेको उनको भनाई थियो ।


सशक्त प्रतिपक्ष बन्नुपर्ने

कार्यक्रममा बरिष्ठ नेता पौडेलले सभापति देउवाप्रति लक्षित गर्दै कांग्रेस अरुको ‘इस्यू’मा सडकमा जाने नभई आफ्नै ‘इस्यू’मा अघि बढ्नु पर्ने बताए ।


उनले प्रतिपक्षको अस्तित्व प्रदर्शन गर्दै सरकारलाई ठीक बाटोमा हिडाउन सक्नुपर्ने जनाए । कांग्रेस भएकाले लोकतन्त्र पनि सुरक्षित छ भन्ने देखाउन सक्नुपर्ने भन्दै उनले कांग्रेस र कम्युनिष्टको समाजवादबारे बहस गर्नुपर्ने औल्याए ।

प्रकाशित : माघ ५, २०७५ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?