डा. केसी संक्रमणको ‘उच्च जोखिममा’

अतुल मिश्र

काठमाडौँ — चिकित्सा शिक्षा सुधारको माग राखी ११ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी स्वस्थ्य संक्रमणको उच्च जोखिममा रहेको चिकित्सकले बताएका छन् । केसी त्रिवि शिक्षण अस्पतालको आईसीयूमा भर्ना गरिएका छन् ।

डा. केसी संक्रमणको ‘उच्च जोखिममा’

उनको शरीरमा सेतो रक्तकणिकाको संख्या ३ हजारमा झरेको चिकित्सकको भनाइ छ ।


संक्रमणको जोखिम ध्यानमा राखी केसीलाई स्वास्थ्य टोलीबाहेक कसैसँग भेट्न दिइएको छैन । ‘अहिले उहाँलाई आईसीयूमा आइसोलेसनजस्तै राखेका छौं,’ उपचारमा संलग्न एक चिकित्सकले भने, ‘उहाँको अवस्था स्थिर छ ।’ अस्पतालका अनुसार केसीलाई एन्टिबायोटिक दिई निमोनियाको उपचार गरिँदै छ । शनिबार पूर्वराष्ट्रपति डा. रामवरण यादव शिक्षण अस्पताल गएर केसीको स्वास्थ्यबारे जानकारी लिएका छन् ।


चिकित्सकको चेतावनी

नेपाल चिकित्सक संघले केसीको जीवनरक्षा माग्दै आन्दोलनमा उत्रने चेतावनी दिएको छ । संघले शनिबार विज्ञप्तिमार्फत केसीका माग अक्षरश: पालना गर्न सरकारसँग आग्रह गरेको छ । केसी संघका आजीवन सदस्य हुन् । १६औं पटक अनशन बसेको ११औं दिन बित्दासमेत सरकारले कुनै चासो नदेखाएको उल्लेख गर्दै संघले यसअघिको सम्झौतालाई आफूअनुकूल व्याख्या गरी भ्रम सिर्जना गर्न खोजिएको दाबी गरेको छ ।


विज्ञप्तिमा ‘प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा सम्झौता गरिए पनि उनीबाटै अलग परिस्थितिमा सम्झौता भएकाले संसद्लाई आदेश गर्न नसक्ने भनी आएको गैरजिम्मेवार अभिव्यक्ति’ ले मुलुकको इज्जत र प्रतिष्ठामा आँच पुगेको दाबी गरिएको छ । संघले केसीको जीवनरक्षाका लागि जुनसुकै बेला अप्रिय कदम उठाउन बाध्य हुने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सरकार हुने चेतावनीसमेत दिएको छ ।

प्रकाशित : माघ ५, २०७५ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?