नेविसंघ अस्तव्यस्त, नेतृत्व आफूतिर ल्याउन शीर्ष नेताकै रस्साकसी

काठमाडौँ — कांग्रेस भ्रातृसंस्था नेपाल विद्यार्थी संघलाई आफूअनुकूल बनाउन पार्टीका शीर्ष नेताहरू नै लागिपरेका छन् । नैनसिंह महर नेतृत्वको कार्यसमितिको अवधि माघ २ देखि समाप्त भएपछि उनीहरू आआफ्नै पक्षको तदर्थ समिति बनाउन कस्सिएका हुन् ।

नेविसंघ अस्तव्यस्त, नेतृत्व आफूतिर ल्याउन शीर्ष नेताकै रस्साकसी

महर नेतृत्वको कार्यकाल भदौ २ मै सकिए पनि महाधिवेशन गर्ने प्रयोजनका लागि पहिलो पटक २ र दोस्रो पटक ३ महिना समय थपिएको थियो । कामचलाउमा परिणत भएको अहिलेकै कार्यसमिति लम्ब्याउने कि तदर्थ समिति बनाउने भन्नेमा संघ र पार्टीभित्र मतैक्य छैन ।


पार्टी सभापति शेरबहादुर देउवा महरको कार्यक्षमताप्रति सन्तुष्ट छैनन् तर गृहजिल्ला डडेलधुराकै भएका कारण उनको विपक्षमा जान पनि तयार देखिँदैनन् । संस्थापनपक्षमै उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री प्रकाशरण महत महरको विकल्प खोजीमा छन् । तदर्थ समिति बनाएर महाधिवेशनमा जानुपर्ने तर्क उनीहरूको छ । महामन्त्री पूर्णबहादुर खडका भने महर नेतृत्वकै समिति लम्ब्याउनुपर्ने पक्षमा छन् ।


निधि संघका वर्तमान महामन्त्री सरोज थापालाई तदर्थ समिति बनाएर महाधिवेशनमा जानुपर्ने पक्षमा छन् । महर नेतृत्वको कार्यसमितिले महाधिवेशन गराउन नसक्ने भन्दै थापासहित संस्थापन पक्षका ९ जनाले सुरुमै राजीनामा दिएका थिए । उनीहरूको राजीनामा स्वीकृत भएको छैन । महर कार्यसमितिको कार्यकाल बढाउँदा उमेर–हदका कारण नेतृत्वको प्रतिस्पर्धाका लागि संघर्षरत दर्जनौं युवाको भविष्य डामाडोल हुने थापाको तर्क छ । संघको नेतृत्वमा ३२ वर्षसम्मका युवाले मात्रै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था विधानमा गरिएको छ ।


संस्थापन पक्षबाटै पार्टी सहमहामन्त्री महत वर्तमान कार्यसमितिकै सहमहामन्त्री प्रेम जोशीलाई तदर्थ समितिको संयोजक बनाउने कसरतमा छन् । उनी संघको महाधिवेशन गराउन पार्टीबाट खटिएका निर्देशन समिति संयोजकसमेत हुन् । संस्थापन पक्षबाटै उपाध्यक्ष पुष्प शाही तदर्थ समितिको नेतृत्वका लागि राजीनामा दिएर बसेका छन् । उनी देउवापत्नी आरजुनिकट छन् ।


संस्थापन इतरपक्षमा पनि महरलाई नै थप समय दिने कि तदर्थ समिति बनाउने भन्नेमा एकमत छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल मनोजमणि आचार्यको नेतृत्वमा तदर्थ समिति बनाएर महाधिवेशनमा जानुपर्ने पक्षमा छन् । आचार्य महरसँगै संघको एघारौं महाधिवेशनमा प्रत्याशी बनेका थिए । पौडेलको यो अडानमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायतको साथ छ । तर, महामन्त्री शशांक कोइराला दुवैतिर ठिक्क छन् । तदर्थ समिति बनाए वा अहिलेकै कार्यसमितिलाई थप समय दिए पनि मान्य हुने उनको भनाइ छ ।


पौडेल पक्षीय अधिकांश पदाधिकारी तथा केन्द्रीय सदस्य भने जसरी पनि महरलाई हटाएर तदर्थ समिति बनाउन जुटेका छन् । उनीहरूले बिहीबार जुलुससहित सभापति देउवा र वरिष्ठ नेता पौडेललाई भेटेर कार्यकाल नबढाउन चेतावनी दिएका थिए । पौडेलनिकट पदाधिकारी तथा सदस्य गरी ४५ जनाले तदर्थ समितिको माग उठाएर राजीनामा दिएका छन् ।


संस्थापन इतरमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने महाधिवेशन गराउन महर नेतृत्वकै कार्यसमितिलाई अझै ६ महिना समय दिनुपर्ने पक्षमा छन् । सिटौला पक्षबाट वर्तमान संघको कार्यसमितिमा महामन्त्री कुन्दन काफ्लेसहित पदाधिकारी तथा सदस्यको संख्या ४० भन्दा बढी छ । तदर्थ समिति बनाउँदा यही अनुपातमा आफ्नो पक्षको प्रतिनिधित्व हुन नसक्ने ठानेर नै सिटौला वर्तमान कार्यसमितिको कार्यकाल बढाउने पक्षमा लागेको संस्थापनइतर एक केन्द्रीय सदस्यले बताए ।


‘महर नेतृत्वको कार्यसमिति अहिले काम चलाउ हैसियतमा छ, माघ १० गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले यसैलाई समय दिएर महाधिवेशन गराउनेतिर जाने कि तदर्थ समिति बनाउने एउटा निर्णय लिन्छ,’ पार्टीका सहमहामन्त्री महतले भने, ‘अहिलेसम्म के गर्ने भन्नेमा कुनै टुंगो लागिसकेको छैन ।’

प्रकाशित : माघ ५, २०७५ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?