२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हेलिकप्टर चढ्दा ऋणैऋण

तेम्बाथान, सिन्धुपाल्चोक — जुगल गाउँपालिका–३ स्थित तेम्बाथानका ५५ वर्षीय दावा शेर्पालाई मुटुको समस्या देखिएपछि घरमा रुवाबासी चल्यो । काम गरिरहेका बेला उनी अकस्मात लडेका थिए । बेहोस भएका उनलाई उपचारका लागि कहाँ लाने भन्दै परिवार चिन्तित भए ।

हेलिकप्टर चढ्दा ऋणैऋण

नजिक स्वास्थ्यचौकी थिएन । पुग्नै दुई दिन लाग्छ । जानैपरे पनि भीरको बाटो । तत्काल बोकेर लाने अवस्था थिएन । परिवारले आफन्तको सहयोगमा हेलिकप्टर झिकाए । बिरामी भएकै दिन अस्पताल पुर्‍याउन कठिनाइ भयो । भोलिपल्ट मात्र दावाले अस्पताल देख्न पाए ।


हेलिकप्टरबाट त्रिभुवन विमानस्थलमा बिरामी उतारेर मेडिकल कलेज जोरपाटी पुर्‍याइयो । त्यहाँ उपचार हुन नसकेपछि ओम अस्पताल चाबहिल लगियो । झन्डै एक महिना अस्पताल राखेपछि उनी ठीक भए । परिवारले ऋण गरेर हेलिकप्टरको १ लाख ३० हजार रुपैयाँ बुझाए । ‘उपचार खर्च मात्र ४ लाख लाग्यो,’ श्रीमती सेडोमाले भनिन्, ‘हेलिकप्टर चढ्दा लिएको ऋण अझै तिर्न सकेको छैन ।’ हेलिकप्टरमा बिरामी लाँदाको ऋण १ लाख छ । वर्षको ३० हजार ब्याज बुझाउने गरेको उनले सुनाइन् । आम्दानीको स्रोत केही छैन ।


बारीको उत्पादनले खान पुग्दैन । चामल किनेर खानुको विकल्प छैन । परिवार ५ जनाको छ । ‘ऋण कसरी तिर्ने भन्ने पीरले सताएको छ,’ उनले भनिन्, ‘उपचार गर्दा लागेको ऋण तिर्दातिर्दै मानसिक रोगी भइएला जस्तो छ ।’


यो समस्या उनको मात्र होइन । गाउँमा १ सय ६० घरधुरी छ । बाक्लो बसोबास शेर्पा समुदायको छ । नजिक स्वास्थ्यचौकी नहुँदा सुत्केरी ब्यथा लाग्दासमेत हेलिकप्टर खोज्नुपर्ने बाध्यता गाउँलेसामु छ ।


उता निमाटोलकी ६३ वर्षीया छिरी शेर्पा २०७२ माघमा टाउको दुखेर थला परिन् । बाटो अप्ठ्यारो भएकैले बोकेर स्वास्थ्यचौकीसम्म लाने आँट गाउँलेले गरेनन् । छिरीलाई पनि परिवारले ऋण गरेर हेलिकप्टरमा उपचारका लागि काठमाडौं लगे । त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचार भयो । एक महिनासम्म अस्पताल बसेर गाउँ फर्किए पनि रोग ठीक नभएको उनले दु:खेसो पोखिन् । ‘सबै गरेर उपचार खर्च मात्र ५ लाख लाग्यो,’ उनले बिलौना गर्दै भनिन्, ‘अहिलेसम्म तिर्न सकेको छैन ।’


अहिले ब्याज तिर्दै बसेको उनले सुनाइन् । ब्याज तिर्न पनि ऋण लिनुपर्ने बाध्यता छ । हेलिकप्टरमा मात्र १ लाख २० हजार खर्च लाग्यो । हेलिकप्टर चढदा लागेको ऋण मात्र तिर्न १ लाख छ । अहिले परिवारलाई कताबाट खर्च जुटाएर ऋण तिर्ने भन्ने पिरलो छ ।


उनकै बुहारी मिङमा ल्हामुलाई सुत्केरी ब्यथा लाग्यो । गाउँमा सुत्केरी गराउन नसकेपछि हेलिकप्टरकै सहारा लिनुपर्‍यो । घटना २०७१ सालको हो । ८८ हजार तिरेर हेलिकप्टरमा काठमाडौं पुर्‍याएको श्रीमान् जाङ्बु शेर्पाले बताए । ‘हेलिकप्टरसहित सबै गरेर ५ लाख खर्च लाग्यो,’ उनले भने, ‘चौंरी बेचेर ऋण तिरें ।’ अप्रेसन गरेर बच्चा निकालेको उनले सुनाए ।


छोरा जन्मियो । तीन महिना अस्पताल राखे । ‘यही एउटा छोरा भए पुग्यो,’ उनले दुखेसो पोख्दै भने, ‘अर्को सन्तान जन्माउने चाहना भए पनि ऋण गरेर हेलिकप्टरमा अस्पताल लाने अवस्था छैन ।’ उनले खर्चकै पीरले सन्तान थप्ने चाहना मरेको बताए ।


सिंगो गाउँको समस्या यही छ । जटिल बिरामी भए पनि तत्काल अस्पताल पुर्‍याउन सकिँदैन । बिरामी पर्दा जंगली जडीबुटीको भर पर्नुपर्ने बाध्यता छ । बिरामीको उद्धारका लागि हेलिकप्टर बोलाइरहनुपर्ने भएकाले तेम्बाथान आधारभूत विद्यालय नजिकै हेलिप्याड बनाइएको छ । वडा नम्बर ३ का सदस्य नोर्बु शेर्पाका अनुसार हेलिप्याड बनाएको ५ वर्ष भयो । ‘दीपु, तेगा, तेम्बाथान गाउँमा बिरामी पर्दा उपचार गर्न लाने स्वास्थ्यचौकी छैन,’ उनले भने, ‘बिरामी हुँदा हेलिकप्टर बोलाउनुपर्छ, ऋण गरेर हेलिकप्टरमा बिरामी लगे पनि अहिलेसम्म गाउँलेले ऋण तिर्न सकेका छैनन् । गाउँलेको ऋण छ त केबल उपचार गर्दा खेरीको मात्र छ ।’


गाउँलेले पटक–पटक गाउँमै स्वास्थ्यचौकी माग गर्दै आएका छन् । अहिलेसम्म सुनुवाइ भएको छैन । स्वास्थ्यचौकी पंगरपुमा छ, जहाँ पुग्न डेढ दिन पैदल हिँड्नुपर्छ । अधिकांश बालबालिकाले पोलियो थोपा खान पाएका छैनन् । बच्चाले जन्मिएको ९ महिनासम्म रोगविरुद्ध लगाउनुपर्ने सुईसमेत पाएका छैनन् । ‘स्वास्थ्यकर्मी गाउँमा आउँदैनन्,’ अगुवा कामी शेर्पाले भने, ‘सानो बच्चा बोकेर जाँदा भीरको बाटो छ, हिँड्नेले बच्चा समाउनु कि भीर समातेर बाटो काट्नु ? यही समस्याले गर्दा गाउँका बालबालिका पोलियो थोपा खानबाट वञ्चित छन् ।’


गुम्बाथाङमा स्वास्थ्यकर्मी आउँछन् । त्यहाँ पुग्न ५ घण्टा बढी हिँड्नुपर्छ । गाउँको सबैभन्दा ठूलो समस्या उपचारको छ । २०५१ सालयता उपचारमा हेलिकप्टरको भर पर्दै आएको अगुवा कामीले बताए । हेलिकप्टर बोलाउन पनि सजिलो छैन ।


बिरामीलाई घरमा छाडेर मोबाइलमा नेटवर्क खोज्दै उकालो लाग्नुपर्छ । कहिले त फोन लगाउँदैमा दिन बित्छ । ‘गाउँमा सबै कुराको समस्या छ,’ कार्यक्रमका सिलसिलामा तेम्बाथान पुगेका गाउँपालिकाका प्रमुख होमनारायण श्रेष्ठले भने ।

प्रकाशित : माघ ६, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?