३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

लमही–कोइलाबास सडक : धमाधम स्तरोन्नति

दुर्गालाल केसी

दाङ — लमही–कोइलाबास खण्ड धमाधम स्तरोन्नति भइरहेको छ । सडक फराकिलो गरी कालोपत्रे गर्ने कामले तीव्रता पाएको छ । लामो समयदेखि जीर्ण यो खण्डमा अहिले तीव्र गतिमा काम भएपछि कोइलाबास नाकामा फेरि रौनक आउने आशा पलाएको हो । 

लमही–कोइलाबास सडक : धमाधम स्तरोन्नति

सडकको ३६ प्रतिशत काम भइसकेको कुमार श्रेष्ठ निर्माण सेवाका परियोजना इन्चार्ज राजेन्द्र श्रेष्ठले बताए । साढे ३३ किमिमध्ये अहिले ९ किमि अस्पाल्ट कालोपत्रे भइसकेको र बाँकी फराकिलो पार्ने काम भएको उनले बताए । ‘पहाड काट्न २ किमि मात्रै बाँकी छ । १ महिनामा पहाड काटेर सकिन्छ,’ उनले भने, ‘त्यसपछि ग्राभेल र कालोपत्रेको काम हुन्छ ।’


उनका अनुसार निर्माणमा ३ सय १७ कामदार खटिएका छन् । ९ एस्काभेटर, २ ग्रेडर, ४ पानी टयांकी, ४ रोलर, पिच गर्न आवश्यक पर्ने सबै मेसिन र सामग्री प्रयोग गरी कम्प्युटर प्रणालीमा काम भइरहेको उनले बताए । कालिका कुमार जेभीले ७६ करोडमा निर्माणको ठेक्का लिएको थियो । ३० महिना अर्थात डिसेम्बर २०१९ मा काम सम्पन्न गर्नुपर्ने सम्झौता छ । डिजाइनमा ढिलाइ भएर ६ महिनापछि काम सुरु भएकाले निर्धारित मितिभन्दा ६ महिनापछिसम्म काम हुने भएको छ ।


पलायो आशा

नेपाल–भारत सीमा क्षेत्रको पुरानो नाका कोइलाबास सडकको अवस्था राम्रो नहुँदा सुक्दै गएको थियो । पूर्व–पश्चिम राजमार्ग सञ्चालन भएपछि कोइलाबासबाट भारत आवतजावतमा कमी आएको थियो । अब सडक निर्माणपछि फेरि नाकामा रौनक आउने आशा पलाएको छ ।


सडकको सुविधा नभएका कारण वर्षातको समयमा भारतको बाटो हुँदै कोइलाबास पुग्नुपर्ने बाध्यता थियो । सडक कठिन भएकैले बजार जीर्ण भएपछि जनसंख्या घट्दो क्रममा छ । पहिलेको सिंगो गाविस अहिले गाउँपालिकाको एउटा वडामा सीमित छ ।


अब सडक कालोपत्रे भएपछि फेरि नाकामा रौनक आउने आशा पलाएको गढवा गाउँपालिका ८, कोइलाबासका वडाध्यक्ष सद्दाम सिद्दिकीले बताए । ‘यहाँको नाका सुक्नुको मुख्य कारण सडक नै हो । सडक राम्रो नभएपछि आवतजावत कम भयो । बजारको चहलपहल घटयो,’ उनले भने, ‘अब सडक स्तरोन्नति हुन थालेपछि फेरि चहलपहल बढ्ने आशा पलाएको छ । सडक नियमित भएमा नाका चल्न पनि सजिलो हुन्छ ।’


०४० अघिसम्म नाका राजस्व संकलनका हिसाबले देशकै दोस्रो स्थानमा थियो । अहिले सुनसान छ । कोइलाबास बजारै सुकिसकेको छ । पुराना घर भग्नावशेष छन् । पुराना व्यापारी अवसरको खोजीमा भारतका साथै नेपालका अन्य सहर पसेपछि कोइलाबास सुनसान भएको हो । पहिले राप्ती अञ्चलका सबै सामान यही नाकाबाट निकासी तथा पैठारी हुन्थे ।


राप्तीका पहाडी जिल्ला रुकुम, रोल्पा, सल्यानबाट पैदल मानिसहरू नुन र अन्य सामान किन्न कोइलाबास पुग्थे । ०४० तिर पूर्व–पश्चिम राजमार्ग बनेपछि कोहलपुर, नेपालगन्ज हुँदै जमुनाहा नाका पुग्न सहज बाटो भयो । यसैगरी चन्द्रौटादेखि कृष्णनगर सडक पक्की भयो । यहाँबाट बढनी नाकामा सहज पहुँच भयो । अन्य नाकामा पुग्न राम्रो सडक हुनु र कोइलाबास पुग्न कठिन सडक हुनुले मानिसहरूको आवतजावतमा कमी आएको हो ।


सडक किनारका संरचनाले समस्या

गढवा–कोइलाबास खण्डमा धमाधम काम भए पनि लमही क्षेत्रमा घर, टहरा, विद्युत्का पोल र टेलिफोनका तार नहट्दा त्यस क्षेत्रमा काम सुरु गर्न ढिलाइ भएको परियोजना इन्चार्ज श्रेष्ठले बताए । ‘हामी कुर्दाकुर्दा हैरान भयौं । घरजग्गाको समस्या समाधान नहुँदा निर्माणमा ढिलाइ भयो,’ उनले भने, ‘अहिलेसम्म पनि सडक किनारका संरचना नहटाएपछि लमहीमा बीचको ७ मिटर मात्रै कालोपत्रे गर्न थालिसकेका छौं ।’


लमही–कोइलाबास हुलाकी राजमार्ग हो । नेपालगन्जस्थित हुलाकी राजमार्ग कार्यालयअन्तर्गत भारतीय कन्सल्टेन्सीको निगरानीमा निर्माणको काम भइरहेको छ । लमही–गढवा खण्डमा जग्गाको मुआब्जा वितरण गर्न पटक पटक आग्रह गर्दा पनि जग्गाधनीहरू लिन नआएका कारण संरचना हटाउन ढिलाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


८ सय जनालाई मुआब्जा दिने सूचना प्रकाशन गरेकामा हालसम्म लमहीका १ सय ६५, गढवाका १४ र गंगापरस्पुरका ३ गरी १ सय ८२ जनालाई १७ करोड ६४ लाख ३७ हजार ७१ रुपैयाँ मुआब्जा दिएको कार्यालयले जनाएको छ । मुआब्जा वितरणका लागि ३५ करोड निकासा भएकामा अझै १७ करोड ३५ लाख ६२ हजार ९ सय २९ रुपैयाँ बाँकी रहेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । ‘मुआब्जा लिन नआएर काममा ढिला भएको छ । छिटो लिन आउनूस् भनेर धेरैपटक सम्बन्धित वडामा खबर पठाएका छौं,’ रिजालले भने, ‘तर पनि आइरहेका छैनन् । लिन नआएका कारण समस्या भएको छ ।’


सडकको इतिहास धेरै पुरानो

उक्त सडक निर्माणका लागि पटक पटक प्रयास भए पनि पूर्णता पाउन सकेको थिएन । कोइलाबास सडकको इतिहास लामो छ । राजा महेन्द्रको प्रत्यक्ष शासनकालमा भारतको बिडला कम्पनीले महेन्द्रसँग दाङको उत्तरी क्षेत्रको महाभारत शृंखलाभित्र रहेको कोइलाखानी उत्खनन गर्न अनुमति मागेको थियो । राजा महेन्द्रले त्यतिबेला पहिले कोइलाबास–घोराहीको सडक निर्माण भएपछि मात्र अनुमतिका लागि सोच्न सकिने बताएको जानकारहरू बताउँछन् ।


राजाको उक्त सुझावपछि बिडला कम्पनीले सुरु गरेको कोइलाबासको सडक निर्माण देउखुरी क्षेत्रको जंगल विनाश हुन थालेपछि रोकिएको थियो । त्यसपछि ०१८ सालमा बडाहाकिम बनेका दामोदर घिमिरेले सडक निर्माणमा निरन्तरता दिएका थिए ।

प्रकाशित : माघ ६, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?