कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

हिउँ पर्न छोड्यो, जग्गा बाँझै

बझाङ — प्रत्येक वर्ष हिउँदमा टन्न हिउँ पथ्र्याे । पुस र माघमा त जता हेर्‍यो उतै सेताम्मे । हिउँपानीले जमिन राम्रैसित भिजाउँथ्यो । हर्षबहादुर विष्टको बबेनी फाँटमा लहलह गहुँ फल्थ्यो ।

हिउँ पर्न छोड्यो, जग्गा बाँझै

‘एकै सिजनमा १५/२० क्विन्टल गहुँ बेच्थ्यौं । कला (केराउ) मसुरो पनि उस्तै राम्रो हुन्थ्यो,’ ०६० सालतिरको कुरा सम्झँदै विष्टले भने, ‘अहिले आफैंलाई खान पुग्ने गहुँ फल्दैन ।’


उनको जयपृथ्वी नगरपालिका १, बबेनीको जग्गा प्रत्येक हिउँदमा बाँझै हुन्छ । दु:खी हुँदै भन्छन्, ‘हिउँ पर्न छाड्यो, जग्गा बाँझै छ ।’ उनीमात्र होइन, यस गाउँका करिब १ सय ५० परिवारको ५ सय रोपनीभन्दा बढी जग्गा हिउँदमा खेती हुन छाडेको १५ वर्षभन्दा बढी भयो । पहिला वर्षभरि खान पुगेर पनि बेच्नेले अहिले किनेर खानुपर्छ । वर्षभरि नपुग्नेलाई झनै समस्या भयो ।


एकाएक हिउँ पर्न छाडेको देखेर यहाँका किसान चकित छन् । ‘तल्लो मल्लो गह्रो छुट्याउन नसकिने गरी हिउँ जम्थ्यो । बाटाघाटा सबै पुरिन्थे । माघ मसान्ततिर हिउँ पग्लेपछि मात्र हिंड्ने बाटा देखिन्थे,’ ५० वर्षीय महलबहादुर सिंहले भने, ‘०४५ सालसम्म मान्छे डुबाउने हिउँ परेको सम्झना छ । अचेल के भयो कुन्नि पर्नै छोड्यो ।’


एकाएक हिउँ पर्न छाडेको देखेर सबैभन्दा बढी यहाँका वृद्धवृद्धा अचम्मित छन् । ‘हिउँ परेको दिन रातारात घरका ढोका हिउँले पुरिन्थे । बिहान हिउँ फालेर ढोका खुलाउन धौधौ हुन्थ्यो,’ ९० वर्षीय डल्लो विष्ट हिउँ पर्न छोड्नुको अड्कल छ, ‘कलियुग लागेपछि जमाना फेरिन्छ भन्थे । त्यै भएर यस्तो भएको हो कि ?’ जयपृथ्वी नगरपालिकाको यो गाउँ समुद्र सतहदेखि १८०० मिटर उचाइमा छ ।


साबिकमा ४७ वटा गाविस रहेको यस जिल्लाको समुद्र सतहदेखि सबैभन्दा होचो ठाउँ हाल केदारस्युँ गाउँपालिकाको देउरा ९१५ मिटरमा पर्छ । सबैभन्दा अग्लो ७०३६ मिटरमा रहेको साइपाल हिमालसम्म फैलिएको यस जिल्लाको ८० प्रतिशतभन्दा बढी भूभाग उच्च पहाडी र हिमाली क्षेत्रमा पर्छ ।


केही वर्षअघिसम्म यस जिल्लाका सबै ठाउँमा हिउँ पर्ने गरेको स्थानीय बताउँछन् । सबैभन्दा पछिल्लोपटक ०६७ माघको पहिलो सातातिर जिल्लाभर हिमपात भएको थियो । मात्राका हिसाबले कमै भए पनि जिल्लाकै होचो भूभाग देउरासम्म हिउँ जमेको हेर्न स्थानीयले १४ वर्ष कुर्नुपरेको थियो ।


त्यसअघि ०५३ माघ १९ देखि २१ गतेसम्म लगातार हिमपात हुँदा देउरामै तीन दिनसम्म हिउँ जमेको ७४ वर्षीय शिव भण्डारीले बताए । उनले त्यसअघि एक वर्ष बिराएर हिउँ जम्ने गरेको सम्झिँदै भने, ‘हिउँ पर्ने वर्ष केराका बोट जोगाउन परालको छोपो हाल्थ्यौं । अब त धेरै वर्ष भयो हिउँ परेको छैन ।’


०५३ सालमा भएको त्यो हिमपात पछिल्लो समयको सबैभन्दा भारी भएको थलारा गाउँपालिकाका प्रकाश रोकायाले बताए । ‘एयरपोर्टमा हिउँ जमेको हुनाले जहाज ल्यान्ड हुन सकेन । ६ दिनसम्म हवाई सेवा बन्द भयो,’ उनले भने, ‘त्यसयता गतिलो हिउँ परेको छैन ।’


तल्लो भेगमा हिउँ पर्न छाडे पनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने गरेको छ । तर पहिलेको तुलनामा निकै कम हुने स्थानीयले बताए । जिल्लाको हिमाली भेगमा पर्ने साइपाल गाउँपालिका धलौनका ७० वर्षीय कम्मान बोहरा भन्छन् । ‘३०/३५ वर्षअघिको कुरा गर्ने हो भने त हिउँ नै पर्दैन भन्दा हुन्छ,’ उनले विगत सम्झे, ‘निगालो डुबाउने हिउँ जम्थ्यो, हिउँमा फसेका रतुवा मृग हातैले पक्रिन्थ्यौं । अचेलको हिउँमा राम्रोसँग खुट्टासमेत डुब्दैन ।’


उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ परे पनि बर्सेनि हिउँको मात्रा कम हुन थालेपछि खेतीपाती हुन छाडेको छ । पहिलाको तुलनामा निकै कम हिउँ पर्न थालेपछि किसानले खेतीपाती गर्न छाडेको बताए । ‘महिना दिनसम्म हिउँ जम्थ्यो र बाली सप्रिन्थ्यो । अचेल एक दिन पनि राम्रोसँग जम्दैन । हिउँ जमेन भने तुल (बाली) राम्रो हुँदैन,’ बित्थड चिर गाउँपालिका १ का अध्यक्ष धनबहादुर बोहराले भने, ‘हाम्रो वडाको ५० प्रतिशतभन्दा बढी जमिन हिउँदमा बाँझै हुन्छ ।’


‘बीउ भाग (रोपेको बीउ बराबर) पनि उब्जनी हुन छाड्यो । खेती लगाएर के गर्नु ?’ बित्थडकै कलमती बोहराले भनिन्, ‘जमाना नै उल्टा आए । राम्रोसँग हिउँ देख्न नपाएको ७/८ वर्ष भइसक्यो ।’ उनले ७/८ वर्षअघिसम्म बित्थडमा पुस र माघभरि हिउँ जम्ने गरेको सुनाइन्, ‘अचेल त परिहाले पनि १/२ दिनमै पग्लिसक्छ । बाली नै चेपिँदैन (थिचिँदैन) ।’ उनले भर्खर उम्रिन लागेको हिउँदे बालीमाथि लामो समय हिउँ जमे गहुँ र जौ एउटै बोटमा धेरै बाला लाग्ने गरेको बताइन् ।


हिउँ पर्न छाडेपछि जिल्लाका अधिकांश भूभागमा जमिन बाँझै हुन्छ । ‘हिउँदे बालीको बीउ छरिसकेपछि कम्तीमा साता दिनजति हिउँले छोप्नुपर्छ । यसले माटोमा चिस्यान बढ्छ, माघतिर हिउँ पग्लेपछि एकैपटक बाली हलक्क बढ्छ,’ हिउँ नपर्नु र जग्गा बाँझो हुनुको सम्बन्धबारे जयपृथ्वी नगरपालिका कैलाशका बरेली कामी भन्छन् ।


‘आजभोलि त हिउँ पर्दैन । परिहाले पनि १/२ घण्टामै बिलाउँछ । जग्गा भिज्नै नपाएपछि खेती सप्रिँदैन । रोपेको बीउजति पनि उब्जनी नहुने भएपछि किन दु:ख गर्नु ? कसैले पनि खेती लगाउँदैनन् ।’


हिउँ कम पर्न थालेपछि हिउँदमा बाँझो हुने जग्गाको परिमाण पनि बढ्दै गएको कृषि ज्ञान केन्द्र बझाङले जनाएको छ । केन्द्रका प्रमुख दिलबहादुर सिंहले बर्सेनि बाँझो हुने जग्गाको क्षेत्रफल बढ्दै जान थालेको बताए । उनले भने, ‘हिउँ नपरेका कारण उच्च पहाडी र हिमाली क्षेत्रमा बढी समस्या भएको छ । एकातिर जग्गा बाँझो हुने क्रम बढ्दो छ भने अर्काेतिर खेती गरिएकोमा पनि उत्पादन घट्दै गएको छ ।’


रोग र कीराको प्रकोप वृद्धि

वर्षाैंसम्म जमिनको सतहमा हिउँ नजमेका कारण बालीनालीमा लाग्ने रोग र कीराहरूको प्रकोप बढ्दै गएको किसानहरूको अनुभव छ । पर्याप्त हिउँ नजम्दा रातो कमिला, धिउरा (धमिरा), खुर्मुला जस्ता रोग र कीराले बालीनाली नोक्सान गर्ने गरेका छन् ।


यस्तै हिउँ नपरेकै कारण कालोकीट, सिन्दुरे, पहेंले जस्ता रोगले हिउँदे बालीमा समस्या पार्ने गरेको किसानहरूको भनाइ छ । ‘राम्रोसँग हिउँ नपर्दा उसै पनि खेती राम्रो हुँदैन । त्यहीमाथि कीराले सताउन थाल्यो,’ सुर्मा गाउँपालिका काटैकी लडी बोहराले भनिन्, ‘उब्जनी हुनै छाडेपछि हिउँदमा खेती लगाउन छाडेका हौं,’ उनले जमाथो, मदाने जस्ता झार पनि फैलन थालेका कारण खेतीपाती गर्न समस्या भएको बताइन् ।


हिउँ नपरेका कारण हिउँदे बालीमा मात्र नभएर वर्षे बालीमा पनि कीराको प्रकोप फैलिन थालेको छ । हिउँ कम पर्नु, जरा काट्ने खालका कीरा र नयाँ नयाँ खालका रोगले वर्षे बाली पनि राम्रो नहुने गरेको मष्टा गाउँपालिकाका नवराज द्धालले बताए ।


हिउँ पर्न छाडेसँगै कतिपय गाउँमा खुर्सानी खेती नै हुन छाडेको छ । जयपृथ्वी नगरपालिकाका बिजुली निसानी भन्छन्, ‘सुरुमा राम्रोसँग हुर्किएको खुर्सानी फूल फुल्ने बेला ओइलिएर मर्छ । हामीले खुर्सानी लगाउनै छाडेको १० वर्ष जति भइसक्यो,’ उनले भने ।


माटो खनेर हेर्दा लार्भा जस्तो कालो कीरा भेटिने गरेको र विषादी प्रयोग गर्दा पनि यसको नियन्त्रण नभएको उनले बताए । केही वर्षयता आलु, खुर्सानी र गोलभेंडा जस्ता तरकारी बालीमा यस्ता खालका कीराको संक्रमण बढी देखिएको निसानीले बताए ।

प्रकाशित : माघ ६, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?