मनाङका हिमताल जमे,  दिउँसै तापक्रम माइनस

माथिल्लो मनाङमा रातको समय खोलानाला जम्ने र भित्री भागबाट बग्ने गर्छ
आश गुरुङ

लमजुङ — मनाङमा यसपटक पुस महिना स्थानीयको अपेक्षाअनुरूपको हिमपात भएन । चिसोले यतिबेला हिमताल सबै जमेका छन् । यहाँको तापक्रम अहिले माइनस १६ डिग्री सेल्सियससम्म मापन गरिएको छ । दिउँसोसमेत तापक्रम माइनसमा छ ।

मनाङका हिमताल जमे,  दिउँसै तापक्रम माइनस

पोखरी तथा तालतलैयाको पानी प्राय: शून्य डिग्रीमा जम्ने भएकाले तापक्रम माइनसमा रहेको स्थानीयले बताएका छन् । माथिल्लो मनाङस्थित होटल तिलिचोका सञ्चालक छिरिङ लोप्साङ गुरुङका अनुसार तालतलैया पूरै जमेका छन् । ‘जमेको तालमा पर्यटक रमाउने गरेका छन् । हामी पनि बेलाबेला गएर रमाउने गर्छौं,’ उनले भने । उनका अनुसार पुस, माघ र फागुनका तीन महिना ताल जम्छ । त्यसपछि बिस्तारै पग्लिने उनले बताए ।


स्थानीयका अनुसार तालमा आउने ससाना हिमनदीसमेत जमेका छन् । पानी भित्रबाट बगेको छ । माथिल्लो मनाङमा रातको समय खोलानाला जम्ने र भित्री भागबाट बग्ने गरेको छ । छेउछाउ दिउँसोसमेत जमेको हुन्छ । संसारकै सबैभन्दा अग्लो उचाइमा रहेको तिलिचो ताल (४,९१९ मि.), भ्राकामा पर्ने केंचो ताल अर्थात् आइसलेक (४,६०० मि.), धारापानीको नाचैमा पर्ने डोना अर्थात् ठुलागी (४,७०० मि.), थोंचेमा पर्ने पोंकर (३,९७५ मि.), मनाङको गंगापूर्ण ताल (३,५४० मि.) लगायत सबै जमेका छन् । विश्वचर्चित यी ताल हेर्न बर्सेनि पर्यटक आउँछन् । स्थानीयका अनुसार मनाङमा सानाठूला गरी डेढ दर्जन हिमताल छन् । ती सबै जमेका छन् ।


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख बाबुलाल तिरुवाका अनुसार माथिल्लो क्षेत्रमा दिउँसो नै तापक्रम माइनसमा छ । राति माइनस १६ डिग्रीसम्म झर्छ । उनका अनुसार मनाङमा बर्सेनि हजारौं पर्यटक आउँछन् । चिसो मौसममा दैनिक १०/१५ जना हुन्छन् । चिसो समयमा जम्ने, हिउँ परेपछि हिउँले ढाकिने र गर्मीयाममा पग्लिएपछि हिमाली छाया देखिने दृश्यले पर्यटकको मन लोभिने गरेको छ । अहिले दैनिकजसो हिउँ नपरे पनि मौसम निकै चिसो रहेको उनले बताए । ‘चिसोले धाराको पानीसमेत जम्ने समय हिमताल नजम्ने कुरै हुँदैन,’ उनले भने ।

यो पनि पढौं : चिसोले जम्यो खोला, पानीका लागि बरफ पगाल्दै मनाङवासी

प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार चामेमा पुस २३ गतेयता हिउँ परेको छैन । माथिल्ला भेगमा भने कहिलेकाहीँ परिरहेको छ । मौसम भने चिसो छ । साँझबिहान माइनस १० डिग्री हुने उनले बताए । उनका अनुसार दिउँसो घाम लागेको समय माइनस ३ डिग्रीसम्म झर्छ । राति माइनस १६ सम्म झर्छ ।


‘दुई साताअघि माइनस २२/२३ डिग्रीसम्म पुगेको थियो । अहिले तापक्रम केही बढेको छ तर चिसोको अनुभवमा खासै फरक छैन,’ उनले भने । उनले बस्ती नजिकैका केही तालमा पुगेको र ती ताल अहिले जमेको अवस्थामा रहेको बताए । ‘म २/३ वटा ताल घुमेँ । ती सबै जमेका छन् । बस्ती नजिकैका ताल जमेपछि हिमाल नजिकका ताल किन नजम्ने ? स्थानीयले तालहरू जमेका छन् भन्ने जानकारी दिएका छन्,’ उनले भने । उनका अनुसार धारामा बिहान पानी आउँदैन । खोल्साखोल्सीका सबै पानी जमेको उनले बताए ।


मनाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले जिल्लाको मौसम निकै फरक रहेको बताए । ‘मनाङका ताल तीन महिना जम्छन् । हिउँ परेका बेला सेता देखिन्छन् । अरू बेला नीला देखिन्छन् । यो मनाङका हिमतालको विशेषता हो,’ उनले भने । उनका अनुसार जिल्लाका ४ वटै स्थानीय तहको कुनै न कुनै ठाउँमा ताल छन् । निकै सुन्दर देखिने ती पर्यटकका लागि आकर्षणका केन्द्र हुन् ।


प्रकाशित : माघ ६, २०७५ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?