२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सुपारीको सुप्लोबाट टपरी

पर्वत पोर्तेल

काँकडभिट्टा — तराईका केही जिल्लामा सुपारी फल्छ भन्ने धेरैलाई थाहा छ । तर सुपारीको सुप्लोबाट थाल–कचौरा बन्छ भन्ने कमैलाई थाहा होला ।

सुपारीको सुप्लोबाट टपरी

झापा मेचीनगर–९, थोप्ले बिरानमा सुपारीको सुप्लोबाट थाल, कचौरा र चम्चा बनाउन सुरु गरिएको छ । स्थानीय सुपारी किसान हरि दाहाल तथा इन्जिनियरहरू काठमाडौंका विधान पोखरेल, हेटौंडाका कोवित बानियाँ र दाङका स्वाभिमान आचार्यले यो कारखानामा साझेदारी गरेका छन् । ‘सुपारी प्रयोगमा आए पनि सुप्लो खेर गइरहेको थियो,’ दाहालले भने, ‘त्यसबाट टपरी, कचौरा बनाउन थाल्यौं ।’


सुपारी चोखो हुने धार्मिक विश्वासका कारण विवाह, व्रतबन्ध, पूजा, श्राद्धजस्ता कार्जेमा यसबाट बनेका सामानको प्रयोग बढिरहेको छ । भारतको तमिलनाडुमा सुपारीको सुप्लोबाट थाल बनाइन्छ भन्ने इन्टरनेटबाट पत्ता लागेपछि उनीहरू यो काममा लागेका थिए । चार जना मिलेर करिब डेढ करोड लगानी गरे । मेसिन भित्र्याए । झापा र हेटौंडामा मेसिन राखेर उत्पादन गरिँदै छ ।


झापा, मोरङ र सुनसरी सुपारी खेतीका लागि प्रख्यात छन् । तीन जिल्लामा करिब ३६ लाख सुपारीका बोट रहेको एक अध्ययनले देखाएको छ । ‘एउटा बोटबाट वर्षमा ८/९ वटा सुप्लो झर्छ । सबैतिर गरी वार्षिक ३ करोडभन्दा धेरै सुप्लो खेर गइरहेको रहेछ,’ दाहालले सुनाए, ‘खेर गइरहेको सुप्लो सुपारीजस्तै बिक्री हुने भएपछि किसान पनि मक्ख छन् ।’


कारखानाले किसानसँग प्रतिगोटा २ रुपैयाँका दरले सुप्लो खरिद गर्छ । एउटा सुप्लोबाट न्यूनतम ३ वटा थाल उत्पादन हुन्छ । किसानबाट संकलित सुप्लो प्लास्टिकको टनेलमा संग्रह गरिन्छ । सुप्लोलाई पहिलो पटक धोएर केही समय भिजाएर ब्रसले सफा गरिन्छ । करिब २५० डिग्री सेन्टिग्रेट तापक्रममा तताइन्छ । त्यसपछि मेसिनमा हालेर आवश्यकताअनुसार आकारमा ढालेपछि सामग्री तयार हुन्छ । ‘यो प्रयोगमा सहज, शुद्ध र विषादीमुक्त पनि हुन्छ,’ दाहालले थपे, ‘वातावरणीय हिसाबले पनि उपयोगी हुन्छ ।’


दाहालका अनुसार उद्योगमा अहिले ५ महिलासहित ७ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । १२ जनाजतिले आंशिक रोजगारी पाएका छन् । उत्पादन बढदै गएपछि श्रमिकसमेत थप्ने योजना छ । दाहालका अनुसार उत्पादित थाल–कचौरा वरपरकै सहर र काठमाडौंसम्म पुग्छ । होलसेलमा एउटा चम्चाको मूल्य ७५ पैसा प्रतिगोटा पर्छ ।

प्रकाशित : माघ ७, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?