दुई अस्पताललाई केन्द्र मातहत राख्न कांग्रेसको दबाब

काठमाडौँ — कांग्रेसले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका दुई अस्पताललाई संघबाट हटाउने सरकारको निर्णय सच्याउन र डा. गोविन्द केसीका माग पूरा गराउन दबाब दिँदै सोमबार संसद्का दुवै सदन अवरुद्ध गर्ने भएको छ ।

राजधानीबाहिर रहेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई अस्पताललाई संघीय सरकारमातहत नल्याएसम्म सदनमार्फत सरकारलाई दबाब दिइराख्न निर्देशन दिएका थिए । सोहीअनुसार सोमबार सदनका दुवै बैठक चल्न नदिने रणनीति कांग्रेस संसदीय दलले बनाएको हो ।


संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले ११ मध्ये तनहुँको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई मात्रै सरकारले पूर्वाग्रही रूपमा संघीय सरकार मातहतबाट हटाउने प्रक्रिया अघि बढाएकाले नसच्याएसम्म सदनमा दबाब दिइराख्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा समेत दुई अस्पताललाई प्रदेशमातहत विकास गर्न खोजिएको जानकारी दिएका थिए ।


स्वास्थ्य मन्त्रालयले राष्ट्रियस्तरमा रहेका ११ मध्ये ९ अस्पताललाई मात्रै गठन आदेशमार्फत संघीय सरकारमा राख्ने प्रक्रिया अघि बढाएको छ । ‘मन्त्रिपरिषद् बैठकले ९ अस्पताललाई मात्रै गठन आदेशमार्फत संघीय सरकारमातहत राख्ने प्रक्रिया अघि बढाएको छ, दुई अस्पतालबारे केही बोलेको छैन,’ मन्त्रालय स्रोतले भन्यो, ‘केही नबोल्नुको अर्थ यी दुई अस्पताललाई प्रदेशमातहत राख्ने भन्ने हामीले बुझेका छौं ।’


केन्द्रमातहत रहनेमा कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सिंहदरबार वैद्यखाना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, मानसिक अस्पताल, नरदेवी आयुर्वेद अस्पताल, सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र राष्ट्रिय आयुर्वेदिक अनुसन्धान तथा तालिम केन्द्र छन् ।


‘दुई अस्पताललाई केन्द्र मातहतबाट हटाउन खोजिएकोमा सोमबार दुवै सदनमा विरोध गर्छौं, सँगै डा. गोविन्द केसी र सरकारबीच भएको सम्झौता कार्यान्वयनका लागि दबाब दिन्छौंं,’ राष्ट्रिय सभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले भने, ‘प्रतिशोधपूर्ण निर्णय नसच्याएसम्म सदनमा दबाब दिइराख्छौं ।’


प्रतिनिधिसभाका प्रमुख सचेतक खाँण र राष्ट्रिय सभाका प्रमुख सचेतक सरिता प्रसाईंले सोमबार सांसदलाई अनिवार्य उपस्थिति हुन हिवप जारी गरेका छन् । दलका पदाधिकारीबीच आइतबार भएको छलफलअनुसार प्रतिनिधिसभामा दलका उपनेता विजयकुमार गच्छदार र राष्ट्रिय सभामा सांसद बद्री पाण्डेले आफ्ना धारणा राखेपछि सिटबाट उठेर विरोध गर्ने रणनीति कांग्रेसले बनाएको छ ।


दुवै अस्पतालको सेवा विस्तार हुँदै

गिरिजाप्रसाद कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र तनहुँको दुलेगाैंडामा छ । सेती गंगा सामुदायिक अस्पतालको नाममा रहेको यो अस्पताल ०७२ साउन १ गतेबाट गिरिजाप्रसाद कोइरालाको नाममा सञ्चालन गरिएको हो ।


२०७३ वैशाख ३० बाट यो अस्पताल राज्यलाई हस्तान्तरण गरिएको थियो । २०७० असार २४ को गठन आदेशमार्फत केन्द्रमातहत राखिएको थियो । ७ सय रोपनीमा विस्तार हुँदै गरेको अस्पताल ३५ शय्याको छ ।


सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेको खजुरामा सञ्चालित छ । महायज्ञबाट ५ करोड रुपैयाँ जम्मा गरेर अस्पताल स्थापना गरिएको थियो । अस्पताललाई तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले पहिलोपटक बजेट विनियोजन गरेको थियो ।


सुमदायले मात्रै चलाउन नसकेपछि प्रखर परोपकार मिसन नेपाल, भरतपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोग र सरकारको आर्थिक सहयोगमा त्रिपक्षीय मोडलबाट अस्पताल चल्दै आएको छ ।


यो अस्पताल पनि गठन आदेशमार्फत केन्द्रमातहत गएको थियो । तीन बिघामा अस्पतालको विस्तारित विशेषज्ञ सेवासहित भौतिक पूर्वाधार निर्माण भइरहेको छ ।

प्रकाशित : माघ ७, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?