१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दोस्रोपटक पनि कांग्रेसद्वारा संसद् अवरुद्ध

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार दोस्रोपटक पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । सोमबार बिहान १२ बजे बसेको बैठकमा प्रतिपक्षी कांग्रेस सांसदले उठेर अवरोध गरेपछि सभामुख कृष्ण बहादुर महराले १५ मिनेटका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए ।

दोस्रोपटक पनि कांग्रेसद्वारा संसद् अवरुद्ध

पहिलो बैठक सुरु भएपछि नेपाली कांग्रेसका उपनेता विजयकुमार गच्छदारले तनहुँको जिपी कोइराला राष्ट्रिय श्‍वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई केन्द्र सरकार भन्दाबाहिर राख्ने सरकारको निर्णय सच्याउन माग गरेका थिए । उनले सरकारले यो निर्णय नसच्याएसम्म संसदको कुनै कारबाही अगाडि बढ्न नदिने बताएका थिए ।


दोस्रोपटक सभामुखले बैठक सुरु भएको घोषणा गर्नु अघि नै कांग्रेस सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए । सभामुख महराले पटकपटक प्रतिपक्षी सांसदलाई बस्न आग्रह गरेका थिए । उनले प्रतिपक्षी सांसदलाई पहिलाको एजेन्डा भन्दा अन्य विषयमा केही छ ? भन्दै प्रश्न गरेका थिए । तर कांग्रेस सांसद केही नबोली उभिरहे ।

सभामुख महराले यस विषयलाई आफूले गम्भीरतापूर्वक लिएको र प्रधानमन्त्रीले पनि यस विषयमा कुरा राखिसकेको हुनाले प्रतिपक्षीले गरेको जस्तो आशंका नगर्न आग्रह गरे । उनले भने, 'यसमा सरकारको गम्भीर ध्यानाकार्षण गराउन चाहन्छु ।'

फेरि सभामुख महराले आजको सबै कार्यसूची हटाएर आज उठाएकै विषय चिकित्सा शिक्षा विधेयकमा छलफल गर्न आग्रह गरे पनि सांसदहरुले उठेर विरोध गरिरहे । उनले भने, ' अघि उपनेताले उठाउनु भएको यो विषय (चिकित्सा शिक्षा विधेयक) आजै हल गर्नुपर्ने विषय भएकोले यो मात्रै कार्यसूचीमा राखेर जाउँ भनेर मैले विशेष अनुरोध गरे। एउटा कार्यसूची मात्रै अगाडि बढाऔं ।'

तरपनि प्रतिपक्षी सांसद उभिरहेपछि सभामुखले माघ ८ गते दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।

प्रकाशित : माघ ७, २०७५ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?