कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

राष्ट्रिय गौरवको अरुण तेस्रो जलविद्युत् धमाधम 

– साढे आठ महिनामा परियोजनाको १५ प्रतिशत काम
देवनारायण साह

मकालु, संखुवासभा — राष्ट्रिय गौरवको बहुप्रतीक्षित अरुण तेस्रो जलविद्युत परियोजनाको निर्माण कार्य तीव्र रूपमा अघि बढाइएको छ । निर्माण कम्पनीले सुरुङ, विद्युत् गृहलगायत विभिन्न संरचना एकसाथ निर्माण गरिरहेको छ ।

राष्ट्रिय गौरवको अरुण तेस्रो जलविद्युत् धमाधम 

निर्माण काम सुरु भएको साढे आठ महिनामा परियोजनाको १५ प्रतिशत काम सकिएको छ । अरुण नदीको पानीको बहाव परिवर्तनका लागि सुरुङ खन्ने, बाँध निर्माण, पावर हाउसमा पानी लग्नका लागि सुरुङ, सडक निर्माण र पहाडभित्र पावर हाउस निर्माणको काम भइरहेको परियोजनाले जनाएको छ ।


निर्माण कम्पनी भारतको सतलज जलविद्युत निगमले सतलज जलविद्युत निगम अरुण तेस्रो पावर डेभलप्मेन्ट कम्पनी प्राली (एसएपीडीसी) स्थापना गरेर निर्माण काम अघि बढाएको छ । संखुवासभाको मकालु गाउँपालिका ३ र ५ स्थित फ्याक्सिन्दा दोभानमा बाँध निर्माणका लागि अरुण नदीको बहाव परिवर्तन गर्न निर्माण कम्पनीले ११ मिटर परिधिको ३ सय ९३ मिटर सुरुङ खन्ने कार्य दुवैतर्फबाट गरिरहेको छ ।


निगमले भारतीय कम्पनी जयप्रकाश एशोसिएट लिमिटेडलाई अरुण तेस्रोको डाइभर्सन, टनेल, बाँधलगायत निर्माण कामको ठेक्का दिएको छ । जयप्रकाश एशोसिएटका सिनियर उपाध्यक्ष अजयप्रसाद गुप्ताले अरुण नदीको पानीको बहाव परिवर्तनका लागि मकालु गाउँपालिका ३ स्थित चिसोपानी नयाँबस्तीको मुनि सुरुङ खन्ने काम ६२ मिटर सकिएको बताए । ‘दुवैतर्फबाट सुरुङ खन्ने कार्य २४ सै घण्टा भइरहेको छ,’ उनले भने, ‘आउँदो मार्च महिनासम्ममा सुरुङ खन्ने काम सम्पन्न गरेर अरुण नदीमा अस्थायी बाँध निर्माण गरी अप्रिलबाट नदीको पानी डाइभर्सन गरिसक्छौँ ।’


दुई स्थानमा अस्थायी बाँध

पानी मोड्नका लागि बाँध निर्माण स्थलभन्दा अगाडी र पछाडि नदीमा दुई ठाउँ अस्थायी बाँध निर्माण गर्ने उनको भनाई थियो । बाँध निर्माणका लागि नदीको दायाँ र बायाँ दुवै छेउको पहाड तेर्सो पार्ने काम भइरहेको छ । नदीको बायाँ छेउमा रहेको चिसोपानी नयाँबस्ती हटाएर तेर्सो पार्नका लागि एक्जाभेटरले खन्ने कार्य भइरहेको छ भने दायाँ छेउमा ढलान गर्ने कार्य भइरहेको गुप्ताले बताए । ‘नदीको पानी बहाव परिवर्तनसँगै बाँध निर्माण सुरु गर्नका लागि दायाँ र बायाँतिरको पहाडलाई तेर्सो पारेर ढलान गर्ने काम गरिरहेका छौँ,’ उनले भने, ‘पानीको बहाव परिवर्तनसँगै बाँध निर्माणका क्रममा पहाडबाट कुनै किसिमको असुरक्षा हुन नदिन तेर्सो मिलाउने काम सक्छौँ ।’


निगमले बाँधबाट पावर हाउसमा पानी पुर्‍याउन ९ दशमलव ५ मिटर परिधिको ११ दशमलव ७८ किलोमिटर सुरुङ खन्ने तयारी गरिरहेको छ । एसएपीडीसीका प्रमुख कार्यकारी अधिकृत सतिशकुमार शर्माका अनुसार पावर हाउसमा पानी पुर्‍याउने मूल सुरुङ खन्नका लागि ४ ठाउँ सहायक सुरुङ खन्ने कार्य एकसाथ भइरहेको छ । ‘बाँध नजिकै ५ सय ९ मिटर पहिलो सहायक सुरुङ ३ सय ६५ मिटर खनिसकिएको छ,’ उनले भने, ‘सुरुङ खन्ने कार्य २४ सै घण्टा भइरहेकाले प्रत्येक दिन २ पटक विस्फोट गराएर ५ मिटर सुरुङ खनिसक्छौँ ।’


मुख्य एक, सहायक ४ सुरुङ

७ सय ४७ मिटरको दोस्रो सहायक सुरुङ बाँध निर्माण स्थलदेखि ४ दशमलव ९६ किलोमिटरमा आमरङमा, ७ दशमलव १५ किलोमिटरमा तेस्रो सहायक सुरुङ सुन्तलेमा र चौथो सहायक सुरुङ चिचिला गाउँपालिका ३ दिदिङ पुखुवामा निर्माण भइरहेको शर्माले बताए ।


दोस्रो, तेस्रो र चौथो सहायक सुरुङ, पावर हाउस, ट्रान्स्फर्मर हाउस, टेलरेस टनेललगायत निर्माण काम भारतको पटेल इन्जिनियरिङ लिमिटेडलाई निगमले ठेक्का दिएको छ । पटेल इन्जिनियरिङले कोसी राजमार्गस्थित छयाङकुटीदेखि दिदिङ पुखुवासम्म सडकको ट्रयाक खोलेर निर्माण सुरु गरिसकेको छ ।


प्रमुख कार्यकारी अधिकृत सतिशकुमार शर्माका अनुसार दिदिङ पुखुवामा पहाड भित्र पावर हाउस कम्प्लेक्स र ट्रान्स्फर्मर हाउस निर्माणका लागि सुरुङ खन्ने कार्य सुरु भइसकेको छ ।

‘१ सय ७९ दशमलव ५ मिटर लम्बाई, २२ दशमलव ५ मिटर चौडाइ र ४९ दशमलव ५ मिटर उच्चाइको अण्डरग्राउण्ड पावर हाउस निर्माणका लागि दुई ठाउँबाट सुरुङ खन्न सुरु गरिसकिएको छ,’ उनले भने, ‘पावर हाउससँगै १ सय ५३ दशमलव ९४ मिटर लम्बाई, १६ मिटर चौडाइ र २३ मिटर उचाइको ट्रान्स्फर्मर हाउस र २४ मिटर परिधि भएको १ सय ४९ मिटर अग्लो सर्ज साफटसमेत निर्माण गर्छौँ ।’


२२५ मेगावाट क्षमताका दुई टर्वाइन

पावर हाउसमा आउने बाँधको पानीलाई दुई वटा सुरुङमा बाँडेर स्टिल पाइपमार्फत पानी प्रवाह गरेर २२५/२२५ मेगावाट क्षमताको ४ वटा टर्वाइन घुमाएर ९ सय मेगावाट विद्युत् उत्पादन गर्ने छ । परियोजनाको भौतिक निर्माणका लागि आवश्यक सम्पूर्ण संरचना तयारीसँगै निगमको प्रत्यक्ष निगरानीमा काममा तीव्रता दिएको शर्माको भनाई थियो ।


‘नदीको बहाव परिवर्तन गर्ने सुरुङ, बाँध निर्माणका लागि पाखो मिलाउन, सहायक सुरुङ र पावर हाउस निर्माणका लागि सुरुङ खन्नका लागि नेपाली सेनाको प्रत्यक्ष निगरानीमा २४ सैं घण्टा विस्फोट गराएर काम भइरहेको छ,’ उनले भने, ‘संरचना निर्माण गर्न २४ सय जनाले काम गरिरहेका छन् ।’ तीमध्ये १७ सय नेपाली प्राविधिक तथा कामदार छन् ।

उनले छयाङकुटीदेखि दिदिङ पुखुवासम्मको सडकको ट्रयाक एक साताअघि खोलेर पावर हाउस साइडमा निर्माण काम सुरु भएको बताए । आउँदो मार्चसम्ममा छयाङकुटीदेखि दिदिङ पुखुवा सडक बनिसकेपछि निर्माणले थप गति लिने शर्माको भनाई छ । उक्त सडकअन्तर्गतको खगुवा खोलामा पुल निर्माण अन्तिम चरणमा पुगेको छ । उनले त्यसपछि परियोजना निर्माण स्थलमा ६ हजार बढीले २४ सैं घण्टा काम गर्ने वातावरण निर्माण हुने बताए ।


भौतिक निर्माणको काम अघि बढेपछि ओम मेटल्स इन्फरा प्रोजेक्टस लिमिटेडलले हाइड्रो मेकानिकल र बिएचइएल दिल्लीले इलेक्ट्रो मेकानिकल काम सुरु गर्छ । ‘ओम मेटल्सले स्टिलका सामग्री बनाउने काम गरिरहेको छ,’ उनले भने, ‘भौतिक निर्माणको काम अन्तिम चरणमा जाने बित्तिकै ओम मेटल्स र बिएचइएलले पनि सामग्री तथा उपकरण ल्याउने काम सुरु गरिहाल्ने तयारीमा छ ।’


परियोजनाका लागि १ सय ७५ दशमलव ७१ हेक्टर जग्गा लिइएको छ । जसमा १ सय २३ दशमलव २२ हेक्टर जङ्गल क्षेत्र छ । जसमध्ये ४८ दशमलव ८७ हेक्टर निजी जग्गा मुआब्जा वितरण गरेर अधिग्रहणको काम सम्पन्न भइसकेको छ । जिल्ला प्रशासन कार्यालय संखुवासभामा परियोजनाले १ अर्ब २२ करोड ११ लाख १० हजार मुआब्जा वितरण गरेको छ । मकालु ३ चिसोपानी नयाँबस्तीको ५ घर परिवारलाई थप मुआब्जा र ११ घरलाई घर आवास निर्माणका लागि मुआब्जा दिएर बाँध निर्माणको काम थालेको छ ।


एसएपीडीसीका प्रमुख कार्यकारी अधिकृत शर्माले ६ महिनाअघिबाट निर्माण काम सुरु गरेर ४५ दशमलव १४ किलोमिटर सडक, नुम, खोक्तक, खगुवा र अरुण खोलामा पुल निर्माण अन्तिम चरणमा पुगेको बताए । उनले सुरुङ निर्माणको काम समेत अघि बढेको छ भने भवन निर्माणको काम समेत भइसकेको बताए । सुरुङ खन्नका लागि माइन विस्फोट गराइने हुँदा सेना ब्यारेकसमेत निर्माण गरिएको उनले बताए ।


छयाङकुटीदेखि दिदिङ पुखुवासम्म २८ दशमलव ६९, तेस्रो सहायक सुरुङसम्म १४ दशमलव ४५, सर्ज शाफ्ट पुग्न १ किलोमिटर र चौथो सहायक सुरुङसम्म पुग्न ८ सय ५० मिटर सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सडक निर्माणको काम मार्चभित्र सम्पन्न हुने शर्माको भनाई थियो ।


आयोजना निर्माण स्थल जाने सडक निर्माण पूरा हुन लागेकाले ढुवानीमा समेत सहज भएको छ । परियोजना निर्माण स्थल फ्याक्सिङा दोभान र पावर हाउस दिदिङ पुखुवामा विद्युत् पुर्‍याउन विद्युत् प्राधिकरण वितरण खाँदबारीसँग सहमति भइसकेको छ । तिरतिरे सब–स्टेसन माम्लिङबाट ३३ केभी प्रसारण लाइन अगस्तसम्ममा पुर्‍याउने गरी काम भइरहेको छ । त्यसका लागि जग्गा अधिग्रहणलगायत प्रक्रिया पूरा गरेर विद्युत् खम्बा जडानको काम सुरु गरिसकेको शर्माले बताए । उनले यही लाइनबाट पछि स्थानीयलाई नि:शुल्क विद्युत् आपूर्ति गर्ने बताए ।


परियोजनाले ४ सय केभिएको २ सय १७ किलोमिटर ट्रान्समिशन लाइन निर्माण गरेर ढल्केबर–मुजफरपुर प्रसारण लाइनमा जोड्नका लागि १९ अर्ब ७७ करोड ६० लाख लागतमा ५ सय १ वटा टावर निर्माण गर्नका लागि प्रक्रिया अघि बढाएको छ । ट्रान्समिसन लाइन निर्माणका लागि संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिराहा, महोत्तरी जिल्लामा जग्गासम्बन्धी सबै समस्या समाधान गरेर नेपाल सरकारलाई बुझाइसकिएको शर्माले बताए । ट्रान्समिशन लाइन निर्माणका लागि नेपाल सरकारले लाइसेन्स दिन ढिलाइ गरिरहेको उनले गुनासो पोखे ।

‘परियोजना समयमा सक्न कोसी राजमार्ग बाधक हुने देखिएको छ,’ उनले भने, ‘बाँध साइडसम्म पुग्ने कोसी राजमार्ग बर्षायाममा चल्नै नसक्ने अवस्था हुन्छ त्यसैले नेपाल सरकारले तत्काल कोसी राजमार्गको अवस्था राम्रो बनाउनु पर्छ ।’ ट्रान्समिशन लाइन निर्माणका लागि पनि सरकारले तत्काल लाइसेन्स दिन उनले माग गरे । परियोजनाबाट प्रभावित परिवालाई रोजगारी दिनुपर्ने पिडिएमा उल्लेख भए पनि अहिलेसम्म रोजगारी नपाएको उनीहरूको गुनासो छ ।


प्रमुख कार्यकारी अधिकृत शर्माले सिपमूलक तालिम र रोजगारी दिनका लागि योजना निर्माण गरेर लगानी बोर्डबाट स्वीकृत भएर कार्यान्वयन भइसकेको बताए । उनले परियोजनामा योग्यता अनुसारको काम गर्न आउन स्थानीयलाई आग्रह गरे । उनले बोर्डबाट स्वीकृत भएको योजनासमेत कार्यान्वयन गरेर सीप मूलक तालिम दिन सुरु गर्ने तयारी भइसकेको बताए । प्रकोप व्यवस्थापन योजनालाई अन्तिम रूप दिने कामसमेत अघि बढिसकेको शर्माको भनाई छ ।


उनले सन् २०२२ सम्ममा परियोजना निर्माण सम्पन्न गर्ने उद्देश्यले काम अघि बढाइएको बताए । निर्माण सामग्री आपूर्ति कोसी राजमार्गबाट भइरहेको तर त्यसको अवस्था जिर्ण रहेकोले केही समस्या भएको उनले बताए । उनले कोसी राजमार्गमा बाह्रै महिना सञ्चालन हुने अवस्था नभए परियोजनाको निर्माण काम समयमा पूरा गर्न कठिन हुने बताए ।

परियोजना पूरा हुँदासम्ममा सरकारले ३ सय ४८ अर्ब रुपैयाँ पाउने बताए । आयोजना सरकारलाई हस्तान्तरण गर्नुपूर्वको समयको आयकरबाट ७७ अर्ब, रोयल्टीबाट १ खर्ब ७ अर्ब र नि:शुल्क विद्युतबाट १ खर्ब ५५ अर्ब रुपैयाँ नेपालले पाउने छ । आयोजनाबाट सरकारले २१ दशमलव ९ प्रतिशत विद्युत् नि:शुल्क पाउनेछ । जुन ९ सय मेगावाटमध्ये १ सय ९७ मेगावाट हुन आउँछ ।


‘आयोजना प्रभावित क्षेत्रका प्रतिपरिवारलाई प्रतिमहिना ३० युनिट विद्युत् निःशुल्क पाउनेछन्,’ उनले भने, ‘दुई चरणमा गरेर १ अर्ब ६० करोड रुपैयाँ बराबर सेयर पाउनेछन् ।’ आयोजना निर्माण, स्वामित्व ग्रहण, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा बनिरहेको छ ।

उक्त मोडलअन्तर्गत आयोजना चालू अवस्थामा सरकारलाई २५ वर्षपछि हस्तान्तरण गर्नुपर्नेछ । सम्झौताअनुसार ८५ किलोमिटर सडक सतलजले बनाउनेछ । पीडीए सम्झौताअनुसार तोकिएको समयमा वित्तीय स्रोत जुटाई तोकिएकै अवधिमा विद्युत् उत्पादन गर्न सुरु गरे सतलजले प्रतिमेगावाट ५० लाखका दरले ४ अर्ब ५० लाख रुपैयाँ एकमुष्ट अनुदान पाउनेछ ।


समयमा विद्युत् उत्पादन गर्न सके एसएपिडिसिले १० वर्ष पुरै र थप पाँच वर्षसम्म ५० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर छुट पाउनेछ । आयोजनाबाट वार्षिक ३ अर्ब ९२ करोड २४ लाख युनिट विद्युत् उत्पादन हुनेछ ।


संखुवासभास्थित ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको अनुमानित लागत १ खर्ब ४ अर्ब रुपैयाँ रहेको छ । तुम्लिङटार विमानस्थलबाट ७० र सीमावर्ती भारतीय बजार जोगबनीस्थित रेलवे स्टेसनबाट ३ सय किलोमिटर दुरीमा परियोजना स्थल छ ।

प्रकाशित : माघ ७, २०७५ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?