न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउन पत्रकार महासंघको दबाब

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकार र सञ्चार माध्यमहरूलाई दबाब दिने कार्यक्रम घोषणा गरेको छ ।

महासंघले सोमबार विज्ञप्ति जारी गरी न्यूनतम पारिश्रमिक कार्यान्वयन, ऐन बमोजिम सेवा, शर्त, सुविधा लागू गरी पत्रकारको आर्थिक एवं भौतिक सुरक्षाका विषयमा माघ ७ देखि एक सातासम्म सम्बद्ध सञ्चार माध्यमहरूलाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ ।

सूचना तथा प्रसारण विभागले हरेक वर्ष अनलाइन नवीकरण गर्ने नाममा सयौं अनलाइन सञ्चार माध्यमको दर्ता खारेज गर्ने सूचना प्रकाशन गरेकोप्रति महासंघले आपत्ति जनाएको छ । महासंघले संविधानत: कुनै पनि सञ्चार माध्यमको दर्ता खारेज नगरिने सुनिश्चितता भए पनि अनलाइन खारेज गर्न सुरु गरिएको प्रक्रिया तत्काल रोक्न र गलत निर्णय सच्याउन माग गरेको छ । महासंघले दर्ता खारेज गर्ने सूचना फिर्ता नभए संघर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिएको छ ।

प्रकाशित : माघ ७, २०७५ १८:२०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

संवैधानिक आयोगको नियुक्तिमा आपत्ति छ : पौडेल

माधव अर्याल

पाल्पा — नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले संवैधानिक आयोगको नियुक्ति गरेकोप्रति आपत्ति जनाएका छन् ।

उनले वर्तमान नेकपा सरकारले विपक्षी दलका नेताको अनुपस्थितिमै संवैधानिक परिषद्को बैठक बसेर निर्णय गर्नु संविधानको मर्ममाथि प्रहार भएको बताए ।

नेपाली काँग्रेस जिल्ला कार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटमा उनले विपक्षी दलको नेता बिना संवैधानिक परिषद्को बैठक बस्नु गलत भएको बताए । उनले यसरी विभिन्न आयोगमा नियुक्ति गरेकामा आपत्ति प्रकट गरे ।

‘सरकारले विपक्षी दलको नेता बिनाको बैठक राखेर संविधानको मर्ममाथि प्रहार गरेको छ,’ उनले भने, ‘संवैधानिक व्यवस्थालाई चुनौती दिने काम भएको छ ।’ उनले संवैधानिक परिषद्माथि चुनौती दिएर आफ्ना मान्छे नियुक्ति गर्ने काम गरेकामा आपत्ति जनाए ।

सरकारले प्रमुख विपक्षी दलको नेताको उपस्थिति बिना बैठक गरेर आइतबार विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेको थियो । उनले विपक्षी दलको नेताको अनुपस्थितिमा बसेको बैठकले कसरी काम गर्न सक्छ ? भनी प्रश्न समेत गरे ।

प्रकाशित : माघ ७, २०७५ १८:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT