कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पाठशालामा कृषिशाला

करिश्मा चौधरी

वीरेन्द्रनगर — स्थानीयवासी कलाधर जैसीले आफ्नो टोलछिमेकको विद्यालय कुनै दिन कृषि क्याम्पसका रूपमा विकास होस् भनेर ८ घार मौरी दिएका थिए । ६ वर्षमा अहिले जनज्योति माध्यमिक विद्यालयमा ९१ घार पुगेका हुन् ।

उनी आफैँले मासिक पारिश्रमिक लिएर ती मौरी रेखदेख गर्छन् । ‘मौरी चराउन सुर्खेतका विभिन्न ठाउँदेखि कैलालीसम्म पुर्‍याउँछु,’ उनी भन्छन् ।


एक वर्षमा सात पटकसम्म मह काढ्छन् । स्थानीय सहकारी संस्थासँग सहकार्य गरेर प्रशोधन गरीवरी बजारमा लैजान्छन् । मह स्थानीय बजारसँगै काठमाडौं र पोखरासम्म पुग्छ । जैसीका अनुसार स्थानीय बजारमा मह प्रतिकिलो साढे पाँच सय रुपैयाँमा बिक्री हुन्छ ।


यही शैक्षिक सत्रमा विद्यालयले १२ क्विन्टल मह उत्पादन गरिसकेको छ । प्रधानाध्यापक नारायणप्रसाद सिग्देलका अनुसार ८ क्विन्टल त बिक्री भइसकेको छ । बराहताल गाउँपालिका–५ बड्डीचौरस्थित यो विद्याजलय वरपर मौरी, माछा र खसीब्राखा पनि छन् । कृषि र भेटेनरी अध्ययन गर्ने विद्यार्थीले प्रयोगात्मक सीप सिक्दै आएका छन् । विद्यालयले बर्सेनि सरदर २० लाख रुपैयाँ आफैँ कमाउने गरेको छ ।


त्यस्तै अहिले मंगुर जातका करिब चार हजार माछा पनि पालिएको छ । मंगुर माछाको हेरचाह विद्यार्थीले गर्ने गरेका छन् । त्यस्तै रहु, ग्रासकार्प, नैनी, कमलकार गरी करिब आठ हजार माछा पालिएको छ । यी माछाको रेखदेखमा एकजना कर्मचारी राखिएको छ । सिग्देलका अनुसार वार्षिक १० क्विन्टलसम्म माछा बिक्री हुने गरेको छ । उनका अनुसार प्रतिकिलो तीन सयका दरले माछा बिक्री हुन्छ । स्थानीय बजारसँगै विभिन्न जिल्लाका विद्यार्थी रहेकाले उनीहरूले आफ्नो जिल्लामा पनि पठाउने गर्छन् ।


विद्यालयले वार्षिक तीन लाख बराबरको खसी/बाख्रा बेचिरहेको छ । अहिले ५७ बाख्रा छन् । बाख्राको रेखदेखका लागि दुईजना कर्मचारी छन् । त्यस्तै धान खेती पनि गर्दै आएको छ । यस वर्ष ७६ मुरी धान बेचेको प्रअ सिग्देलले जनाए । उनका अनुसार १ हजार २ सय रुपैयाँ मुरीका दरले धान बिक्यो । खेत जोत्न र ढुवानीका लागि टयाक्टर प्रयोग गरिन्छ ।


उनले भने, ‘बीउको नर्सरी बनाएर विद्यार्थी र अभिभावकलाई बेर्ना बेच्ने योजना छ, जसले विद्यार्थी र अभिभावक तरकारी खेतीमा आकर्षित हुनेछन् ।’ विद्यालयका अनुसार स्वआर्जन गरेको रकमले निजी स्रोतमा राखेका शिक्षकलाई तलब खुवाउन सजिलो भएको छ ।

प्रकाशित : माघ ८, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?