१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गौतम बुद्ध विमानस्थलमा बौद्धमार्गी देशबाट उडानको प्रस्ताव

निर्माण ६३ प्रतिशत सकियो
माधव ढुंगाना

भैरहवा — गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनीमा बौद्धमार्गी देशहरूबाट उडानको प्रस्ताव आएको छ । सरकारले पनि निर्माण सकिनासाथ अन्तर्राष्ट्रिय हवाई उडान तयारी गरेको जनाएको छ ।

गौतम बुद्ध विमानस्थलमा बौद्धमार्गी देशबाट उडानको प्रस्ताव

उडान सञ्चालन गर्न चाहने विदेशी एयरलाइन्स कम्पनी र हवाई रुटका विषयमा सरकारले गृहकार्य थालेको हो । ०७६ असार १३ सम्म निर्माण सक्ने गरी विमानस्थल आयोजनाले काम गरिरहेको छ ।

निर्माण अन्तिम चरणमा पुगेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान तयारीको गृहकार्य थालेको जनाएको छ । ‘विमानस्थल निर्माण सम्पन्नपछि सीधै अन्तर्राष्ट्रि्रय हवाई उडान थाल्ने छौं,’ पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले फोन सम्पर्कमा भने, ‘भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुने गरी एयर रुट मिलाइएको छ ।’

यहाँबाट कतै नरोकिईकन सीधै अन्तर्राष्ट्रिय उडान चलाउने निश्चित भइसकेको र यसबारे काम सुरु भइसकेको उनले जनाए । सीधा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न भारतले रुट अनुमति दिनेमा शंका गर्नुपर्ने कारण नरहेको उनले स्पष्ट पारे । नेपालगन्ज र महेन्द्रनगरको हवाई रुटबारे वार्ता जारी रहेको उनले जनाए । ‘भारतले रुट दिँदैन कि भन्ने छैन । विमानस्थलबाट आउने/जाने दुवै उडान निर्बाध हुनेछन्,’ उनले भने, ‘यसबारे डिजाइनका सबै काम भइरहेको र काम दु्रतगतिमा अगाडि बढिसकेको छ ।’

लुम्बिनीलाई लक्षित गरी निर्माण थालिएको विमानस्थल सक्नासाथ विश्वका अधिकांश बुद्ध धर्मावलम्बी मुलुक सीधा उडान सञ्चालनका लागि लालायित देखिएका छन् । ०५५ मा प्रथम विश्व बौद्ध शिखर सम्मेलनले जारी गरेको लुम्बिनी घोषणापत्रले तत्काल अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने प्रस्ताव पारित गरेको थियो ।

मन्त्री अधिकारीले पछिल्लो समय नेपालसँग भएका हवाई बैठकमा धेरै अन्तर्राष्ट्रिय कम्पनीले सीधै लुम्बिनीका लागि उडान सञ्चालन गर्ने इच्छा जाहेर गरिरहेको बताए । उनका अनुसार श्रीलंका, म्यानमार, चीन, जापान, थाइल्यान्ड, क्याम्बोडियालगायत भारतसमेत इच्छुक छ । कतार एयरवेजले पनि इच्छा जनाएको छ । ‘ती राष्ट्रले नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएपछि आह्वान गर्ने तयारीमा हामी छौं,’ उनले भने, ‘लुम्बिनीका लागि उडान सञ्चालन अनुमति माग्ने धेरै मुलुक छन् ।’

एसियाली विकास बैंकले गरेको अध्ययनअनुसार सञ्चालनमा आएपछि पहिलो वर्ष ५ लाख, सन् २०२० सम्म २० लाख, २०२५ सम्म २५ लाख र २०२७ सम्म वार्षिक ६० लाख पर्यटकले यो विमानस्थल प्रयोग गर्नेछन् । जसमा चीन, जापान, कोरिया, सिंगापुर, थाइल्यान्ड, हङकङ, म्यानमार, श्रीलंकालगायतबाट सीधै हवाई उडान हुनेछ । भारतलगायत दक्षिण एसियाली मुलुक र आन्तरिक पर्यटकको चाप बढ्नेछ ।

६३ प्रतिशत काम सकियो

आयोजना प्रमुख प्रवेश अधिकारीले भौतिक पूर्वाधारको निर्माण कार्यसँगै आवश्यक उपकरण खरिद प्रक्रिया पनि सुरु भइसकेको जानकारी दिए । आयोजनाको बाँकी २० प्रतिशतभन्दा धेरै काम उपकरणसँग सम्बन्धित छन् ।

३ हजार मिटर लामो धावन मार्गमा गरिनुपर्ने ४ तहको पिचमध्ये हाल दोस्रो तहको पिच २ हजार ३ सय मिटरमा सकिएको छ । उनले १० दिनपछि तेस्रो तहको पिच हुने जनाए । ‘निर्धारित समयमा लगभग आयोजना निर्माण सम्पन्न हुने गतिमा छौं,’ उनले भने ।

प्रकाशित : माघ ८, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?