दशकयताकै बाक्लो हिमपात

हिमपातले दैनिक जनजीवन प्रभावित भए पनि बाली सप्रने आसले किसान हर्षित छन्
हिउँले राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका थिए । सबैजसो कार्यालय र विद्यालय बन्द छन् ।
प्रदेश ब्युरो

धनगढी — सुदूरपश्चिमका पहाडी जिल्लामा सोमबार रातिदेखि बाक्लो हिमपात भएको छ । बझाङ, बाजुरा, डोटी, डडेलधुरा, बैतडी र दार्चुलाका उच्च लेकाली भेकमा हिमपात भएको छ । तराईका जिल्लामा भने वर्षा भएपछि किसान खुसी भएका छन् ।

दशकयताकै बाक्लो हिमपात

दार्चुलामा व्यास र अपिहिमाल गाउँपालिकाका सबै क्षेत्र बाक्लो हिमपातले मंगलबार सेताम्मे भए । व्यासका व्यास, छाङरु, तिंकर, राप्ला, दुम्लिङ, सुन्सेरा, धौलाकोट, हुती, दुहु गाउँपालिकाका विभिन्न उच्च भागमा पनि हिमपात भएको सुन्सेराका मानसिंह कुँवरले जानकारी दिए ।

अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी, घुसा, मार्मा गाउँपालिकाको घोल्जर ताकु, सितोला सेरीको उच्च भूभागमा बाक्लो हिमपात भएको खण्डेश्वरीका लोकेन्द्रसिंह लोथ्यालले बताए । यससँगै नौगाडको इयरकोट, सिप्टी, दल्लेक, मालिकार्जुनको बालशिखर, न्वालपानी, ऐरिछाना, शिखरलगायत विभिन्न उच्च भूभागमा हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

डडेलधुराका उच्च लेकाली भेगमा एक दशकपछि बाक्लो हिमपात भएको छ । सोमबार रातिदेखि डडेलधुरा र बैतडीका उच्च भेगमा भएको हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातले भीमदत्त राजमार्गका विभिन्न सडक खण्डमा यातायात प्रभावित भएको छ । डडेलधुरा र डोटी सिमानाको हगुल्टे लेक, डडेलधुराको भात्काँडा, मेलखर्क, अनार खोली र बैतडीको खोड्पे, सतबाँझ लगायतका क्षेत्रमा भएको बाक्लो हिमपातका कारण यातायात प्रभावित भएको व्यवसायीले जानकारी दिएका छन् । महाकाली यातायात डडेलधुराका प्रमुख वीरबहादुर देउवाले भने, ‘भीमदत्त राजमार्गको हगुल्टेमा भएको हिमपातले रातिदेखि नै यातायात प्रभावित भएको छ ।’

हिमपातका कारण हिउँदे बाली सप्रिने भएकाले कृषकहरू भने खुसी छन् । लेकाली क्षेत्रमा हुने आलु खेतीका लागि हिमपातले फाइदा गर्छ । ‘जनजीवन प्रभावित भए पनि खेतीपातीका लागि राम्रो भएको छ,’ भागेश्वरका कृषक धर्मराज पाण्डेयले भने, ‘पछिल्लो दशकमा भएको यो सबैभन्दा ठूलो हिमपात हो ।’

बझाङमा भएको हिमपातले सडक यातायात अवरुद्ध भएको छ । यात्रु बाटोमा फसिरहेका र चिसोले उनीहरूलाई समस्या भएको छ । धनगढी र महेन्द्रनगरलाई पहाडी जिल्लासँग जोड्ने राजमार्गको फल्डुडे, साहुखर्क, डडेलधुरा, अनारखोली, भातकाँडा, खोड्पे, श्रीभावर, बजपानी, बित्थड, देउलेकलगायत ठाउँमा यातायातका साधनहरू फसिरहेका छन् । यात्रुहरू अलपत्र परेका छन् ।

‘१५ घण्टादेखि हिउँमा फसिरहेका छौं,’ बैतडीको नाचन्थली क्षेत्रमा फसेका धर्म रोकायाले फोनमा भने, ‘गाडीहरू अगाडि बढाउन र पछाडि फर्काउन पनि सकिएको छैन । नजिकै खानेकुरा पाउने पसल पनि छैन । भोक र चिसोले समस्या भएको छ ।’ उनले केटाकेटी र वृद्धवृद्धालाई बढी समस्या भएको बताए । यस क्षेत्रमा करिब २ फिटसम्म हिउँ जमेको छ । जिल्ला प्रशासन कार्यालय बझाङ र बैतडीले पनि सडक खोल्न प्रयास गरिरहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरका अनुसार सडक डिभिजन कार्यालय बैतडीबाट गएका केही डोजरले अनारखोली क्षेत्रका सडकमा हिउँ पन्छाइरहेका छन् ।

घरबाहिर निस्कनै मुस्किल

हिमपातले बझाङ र बैतडीमा लेकाली भेगको जनजीवन प्रभावित भएको छ । बझाङमा साबिकका दहबगर, भैरवनाथ, पीपलकोट, ब्यासी, कफलसेरी, धमेना, कैलाश काँडा, दौलीचौर, सुर्मा, लेकगाउँ, मौलाली, सैनपसेला, भामचौर, स्याडी, देउलेक मष्टा, भातेखोला, रिलु, मेलबिसौना, दाँतोलामा हिउँ जमेपछि दैनिक कामकाज गर्न अप्ठयारो भएको स्थानीयले बताएका छन् ।

यहाँका १३० बढी विद्यालय र दर्जनौं सरकारी कार्यालय बन्द छन् । चिसोले सर्वसाधारण घरबाहिर निस्कन सकिरहेका छैनन् । ‘पशुबस्तुलाई आहारा जुटाउन निकै गाह्रो भइरहेको छ,’ कैलाश गाउँपालिकाका कृष्ण कामीले भने, ‘चरन क्षेत्र बाक्लो हिमपातले ढाकिएका छन् । जंगलबाट घाँस दाउरा गर्न सकिने अवस्था छैन ।’

रेडियो बन्द

हिमपातका कारण बझाङमा सञ्चालित ६ रेडियोले प्रसारण सेवा बन्द गरेका छन् । रेडियोलाई ऊर्जा आपूर्ति गर्ने सोलार स्टेसनलाई हिउँले ढाकेपछि प्रसारण बन्द गर्नुपरेको रेडियो सेतीका प्रबन्धक रमेश केसीले जानकारी दिए ।

पश्चिम तराईमा वर्षा

पश्चिम तराईमा लामो समयपछि वर्षा भएको छ । कैलाली र कञ्चनपुरमा सोमबार रातिदेखि वर्षा भएको हो । आकाशे पानीका भरमा खेतीपाती गर्ने किसानलाई हिउँदे वर्षाले खुसी बनाएको छ । गहुँ तथा अन्य खेतीमा सिँचाइ गर्न नपाएका कृषकले वर्षापछि राहत महसुस गरेका छन् । सिँचाइ सुविधा भएका ठाउँमा पनि आकाशे पानीले बाली सप्रिने र उत्पादन वृद्धि हुने कृषकहरू बताउँछन् ।

कञ्चनपुरमा करिब ३० हजार हेक्टरमा गहुँ खेती गरिन्छ । महाकाली सिँचाइ आयोजनाको नहर गहुँमा सिँचाइ गर्ने बेलामै बन्द हुँदा धेरै कृषकले सिँचाइ गर्न पाएका थिएनन् । यसैगरी युरिया मलको अभावले समेत कृषकहरू चिन्तित थिए । ‘ढिलै भए पनि अहिलेको वर्षाले सबै खेतीलाई फाइदा हुन्छ,’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोनका वरिष्ठ कृषि विकास अधिकृत टिकाराम थापाले भने, ‘सिँचाइ भएको र नभएको दुवै ठाउँमै यसले राम्रै फाइदा गर्छ, गहुँ खेतीलाई अहिले पानी चाहिएको थियो ।’ उनका अनुसार मसुरोलगायत दाल र तरकारी खेतीलाई पनि अहिलेको वर्षाले राहत पुग्नेछ ।

डोटीका लेकाली भेकमा हिमपात भएको छ । अन्य क्षेत्रमा झरी परेको छ । खरेडीले बाली बिग्रने चिन्तामा रहेका किसानहरूलाई मंगलबार रातिबाट परेको झरीले राहत भएको छ । मुर्झाउन लागेको गहुँ बालीमा झरीले सहयोग पुग्ने भन्दै किसानहरू खुसी भएका छन् । ‘आकाशे पानीमा निर्भर रहेका किसानका पाखो खेतका गहुँ बाली खडेरीका कारण ओइलाउन थालेका थिए,’ केआईसिंह ५, जमलकट्टेका नवराज जोशीले भने, ‘गहुँ बाली नष्ट हुन्छ कि भन्ने डर थियो, ढिलै भए पनि मंगलबारको झरीले केही आशा पलाएको छ ।’

यो वर्ष हिउँदमा पानी नपर्दा माटो फुकेको, जमिन फाट्न लागेको दुखेसो किसानहरूले गर्दै आएका थिए । ‘आकाशे पानी गहुँ बालीका लागि मलिलो हुन्छ, हिउँदमा पानी पर्दा किसान खुसी हुन्थे,’ कृषि उपसमिति संयोजक रामचन्द्र राणाले भने, ‘पुस मध्यसम्म पनि पानी परिदिएको भए गहुँ फस्टाउँथ्यो, मंगलबार ढिलो गरी झरी परेको भए पनि केही राहत भने अवश्य हुनेछ ।’

प्रकाशित : माघ ९, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?