१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

पोल्यान्ड लैजाने भन्दै करोडौं ठगी

काठमाडौँ — डेढ वर्षअघिको एउटा विश्वासले गोरखा तान्द्राङका उद्धव लामिछानेलाई यतिबेला पर्नु आपत् परिरहेको छ । गाउँले भएको नाताले उनले डेनियल भनेर चिनिने अनिल परियारलाई पटकपटक गरेर साढे आठ लाख रुपैयाँ दिए ।

ललितपुरको जावलाखेलमा प्रमिसल्यान्ड कन्सल्टेन्सी चलाएर बसेका डेनियलले पोल्यान्ड लगिदिने आश्वासन दिएर उद्धवसँग पैसा लिएका थिए । उनी पोल्यान्ड त पुगेनन् बरु आफ्नै फसेको रकम उठाउने चक्करमा लाखौं रुपैयाँ खर्चिसके । दौडधुप र हैरानी त कति–कति ।


डेनियलको ठगीको जालोमा पर्ने उद्धव मात्रै होइनन्, प्रहरी परिसर काठमाडौं र ललितपुरमा मात्रै उनीविरुद्ध २१ जनाले उजुरी दिएका छन् । जसमा पीडितहरूको एक करोड हाराहारी रकम ठगिएको देखिन्छ । पीडितहरूले प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि खोजबिन सुरु भएको थियो । तर डेनियल सम्पर्कमा नआएपछि प्रहरीले सरकारी वकिलको कार्यालय हुँदै उच्च अदालत पाटनबाट पक्राउ पुर्जी जारी गराएको छ । उच्च अदालत पाटनका न्यायाधीश रमेशप्रसाद राजभण्डारीले २०७४ मंसिर २७ गते प्रमिसल्यान्ड कन्सल्टेन्सीका सञ्चालक डेनियल भन्ने अनिलविरुद्ध पक्राउ पुर्जी जारी गरेका छन् । तर वर्ष दिन भइसक्दा पनि प्रहरीले अनिललाई न पक्राउ गर्न सकेको छ, न उनीबाट ठगिएकाहरूले नै रकम पाउन सकेका छन् ।


उद्धवका अनुसार पोल्यान्डमा एक फुड ट्रकमा काम लगाइदिने र मासिक साढे ५ सय युरो तलब हुने भनेपछि उनले एक–एक लाख रुपैयाँ दिएका थिए । त्यसलगत्तै अनिलले अफर लेटर आएको भन्दै थप एक लाख मागेका थिए । यसरी पटक–पटक गरेर साढे आठ लाख बुझाएपछि अनिलकै सल्लाहमा पवन बस्ताकोटी, दिपेश उप्रेती र प्रमेश लामिछानेसहित उद्धव दिल्ली पुगेका थिए ।


उनीहरू चारै जना १२ दिन पहाडगन्जमा, ४ दिन करोलवागमा र विकासपुरीमा गरेर झन्डै चार महिना बसे । त्यतिबेला पोल्यान्ड जाने आसमा करिब १८ युवा दिल्ली पुगेका थिए । कान्तिपुरसँग सम्पर्कमा आएका आधा दर्जनभन्दा बढी पीडितका अनुसार दिल्ली पुगेकाहरूले औसतमा ५ देखि ८ लाख रुपैयाँसम्म फसाएका देखिन्छन् । उनीहरूले दिल्ली आउजाउ, बसाइ र दूतावासमा अन्तर्वार्ताका निम्ति लाग्ने शुल्क गरी थप डेढदेखि दुई लाख रुपैयाँसम्म खर्चेको देखिन्छ ।


पेप्सीकोलाका अशोक कोइराला पनि डेनियलबाट ठगिए । प्लस टु सकेर बसेका अशोकले एक साथीमार्फत डेनियललाई भेटेका थिए । साथीकै कुरामा विश्वास गरेर उनीसहित रमिला रम्तेल, सञ्जु पुर्कोटी र सुरेश मिजारले जनही १ लाख २० हजारका दरले ४ लाख ८० हजार रुपैयाँ बुझाए । अशोकले भने, ‘दसैंपछि इन्डिया हुँदै पोल्यान्ड लैजान्छु भन्थ्यो । तर पछि काम हुन्छ भन्दै झुलाइरह्यो ।’


फसेको पैसा उठाउन महिनौंसम्म दौडेपछि डेनियलले उनलाई चेक दिए । तर खातामा रकम भेटिएन । यसरी रकम नभएको खाताको चेक पाउनेमा अशोक मात्रै थिएनन् । पोल्यान्ड जाने सपनाको पासोमा परेर ठगिएका १५ जनाले प्रहरी परिसर ललितपुरमा पनि उजुरी दिए । प्रहरीका अनुसार १५ पीडितले करिब ४० लाख रुपैयाँ फसाएको देखिन्छ । उद्धवसहितका साथीहरूले १२ लाख रुपैयाँ ठगेको उजुरीसहित प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता गरेपछि डेनियलविरुद्ध पक्राउ पुर्जी जारी भएको देखिन्छ ।


धादिङको ज्यामरुङका डेनियल श्रेष्ठ र उनकी पत्नी रुष्मा श्रेष्ठको पनि झन्डै १० लाख रुपैयाँ ठगी भएको छ । पोल्यान्ड जान उनीहरूले सुरुमा जनही १ लाख २० हजारका दरले २ लाख ४० हजार नगदै दिएका थिए । परियारले पोल्यान्डबाट अफर लेटर आएको भन्दै थप ६ लाख ५० हजार रुपैयाँ मागेका थिए । श्रेष्ठ दम्पतीले पनि उनीविरुद्ध प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता गराएका छन् ।


बाराको निजगढ घर भई शंखमूल बस्ने सृष्टिना अधिकारी र उनका साथी विवेक राजभण्डारीले पनि सुरुमा जनही १ लाख २५ हजार र पछि प्रोसेसिङ खर्च भन्दै जनही १ लाख गरेर झन्डै ५ लाख बुझाए । पोल्यान्ड लैजाने प्रक्रिया नै सुरु नभएपछि सृष्टिनाले रकम फिर्ता मागिन् । त्यसपछि चतुर डेनियलले पोल्यान्डबाट वर्क पर्मिट आएको नक्कली कागज देखाएर झुक्काए ।


डेनियलले पोल्यान्डबाट आएको भन्दै माइकल वेचल नामक एक विदेशी नागरिकलाई पनि चिनाएका थिए । उनको कन्सल्टेन्सीमा बसेर माइकलले कैयन्सँग अन्तर्वार्ता पनि लिएका थिए । गोदावरीका सरोज थापा पनि डेनियललाई बुझाएको १ लाख २५ हजार रुपैयाँ फिर्ता लिने उपायको खोजीमा भौंतारिइरहेका छन् । उनले भने, ‘ठगिएको थाहा पाएपछि खोजिरहेको छु । तर डेनियल सम्पर्कमा छैनन् ।’


कान्तिपुरले गरेको अनुसन्धानले डेनियल भारतका विभिन्न सहरमा लुक्दै आएको देखिन्छ । उनले अवैध रूपमा पोल्यान्ड र रसिया छिराउने नाममा दर्जनौंसँग लाखौं रुपैयाँ उठाएर कैयन्लाई बिल्लीबाठ पारेका छन् ।

प्रकाशित : माघ ९, २०७५ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?