१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सप्तरीमा प्रहरी माथि आक्रमणमा संलग्न चाैधरीकाे जवाफी कारबाहीमा मृत्यु

अवधेशकुमार झा

राजविराज — सप्तरीमा बुधबार बिहान प्रहरी कारबाहीमा एकजना मारिएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टका अनुसार प्रहरीको हत्यालगायतका विभिन्न आपराधिक घटनामा संलग्न रहेका सप्तरी सुरुङगा नगरपालिका ६ कडोरवनाका ३५ वर्षीय दीपेन्द्र जयसवाल चौधरी प्रहरी कारबाहीमा मारिएका हुन् ।

सप्तरीमा प्रहरी माथि आक्रमणमा संलग्न चाैधरीकाे जवाफी कारबाहीमा मृत्यु

चौधरी तराईमा सशस्त्र संघर्षरत समूह प्रगतिशील तराई मुक्ति मोर्चाका प्रमुख नेता रहेको विष्टले बताए । उनी लामो समयदेखि प्रहरीको सर्वाधिक खोजीमा (मोस्ट वान्टेड सूचीमा) थिए ।


साताअघि सप्तरी जिल्लाको खडग नगरपालिकास्थित बिसनपुर चौकमा साँझपख ड्युटीमा रहेका बेला प्रहरी हवल्दार महेन्द्र यादवमाथि गोली प्रहार भएको र उक्त मोर्चाले जिम्मा लिएपछि प्रहरीले सिजन उपनामका चौधरीको खोजी तीव्र पारेको थियो । प्रहरी हवल्दारमाथि गोली प्रहार भएपछि प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयले प्रगतिशील तराई मुक्ति मोर्चामा आबद्ध रहेकाको खोजीका लागि संयुक्त अपरेसन सुरु गरेको थियो ।


सोही क्रममा नियमित गस्तीमा राजविराजबाट रूपनीतर्फ बुधबार बिहान साढे ४ बजे गइरहेको प्रहरी टोलीमाथि रूपनीबाट राजविराजतर्फ आइरहेको नम्बर खुल्न नसकेको मोटरसाइकलमा सवार व्यक्तिलाई प्रहरीले चेकजाँचका लागि रोक्न खोज्दा उनीहरूले प्रहरीमाथि गोली प्रहार गरेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा पछाडि बसेका चौधरीको घटनास्थलमै मृत्यु भएको एसपी विष्टले जानकारी दिए ।


मोटरसाइकल चलाइरहेका अर्का व्यक्ति भने अँध्यारोको फाइदा उठाउँदै भागेको उनले बताए । ‘प्रदेश प्रहरी कार्यालयको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको अपरेसनका क्रममा चौधरी मारिएका हुन्,’ एसपी विष्टले भने ।


प्रहरी कारबाहीमा मारिएका चौधरी ०७२ सालमा सप्तरीको झुटकी प्रहरी चौकीका असई रेसम सुब्बाको गोली हानि हत्या, इलाका प्रहरी कार्यालय कडोरवनाको गाडीलाई लक्षित गरी बम विस्फोटलगायत घटनामा संलग्न रहनुका साथै साताअघि सप्तरीको बिसनपुर चौकमा ड्युटीमा रहेका प्रहरी हवल्दारमाथि गोली प्रहार गर्ने घटनामा समेत संलग्न रहेको एसपी विष्टले बताए ।


मारिएका चौधरीका साथबाट एक थान कटुवा पेस्तोल, बीएमएम लेखिएको जंगी गोली एक राउन्ड, प्रगतिशील तराई मुक्ति मोर्चा लेखिएको पर्चा फेला परेको प्रहरीले जनाएको छ । यसैगरी घटनास्थलबाट पड्किएको गोलीको खोका सानो एक थान र ठूलो एक थान तथा दुईवटा मोबाइल फेला परेका छन् । मारिएका चौधरी सवार रहेको मोटरसाइकल र चलाउने व्यक्तिबारे प्रहरीले खोजी भइरहेको बताएको छ ।


यसैबीच चौधरी संलग्न रहेको प्रगतिशील तराई मुक्ति मोर्चाका सैन्य कमान्डर निशान्त थारूलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । उनलाई कहाँबाट पक्राउ गरियो भन्ने विषयमा बिहीबार पत्रकार सम्मेलन गरेर मात्र जानकारी दिइने एसपी विष्टले बताए ।


प्रहरी कारबाही शंकास्पद

प्रहरीको जवाफी कारबाहीमा चौधरीको मृत्यु भएपछि केहीले प्रहरीको कारबाही शंकास्पद रहेको आरोप लगाएका छन् । उनीहरूले मानव अधिकारवादीहरूले यसमा चासो लिनुपर्ने तथा निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् ।


प्रहरीको गोली लागेर पछाडि बसेका मानिस ढलेर लड्दा पनि अगाडि चलाउने व्यक्ति मोटरसाइकल लिएर भागेको भन्नु, मोटरसाइकलको नम्बरसमेत पहिचान हुन नसक्नु, प्रहरीमाथि उनले चलाएको गोली कसैलाई नलाग्नु तर प्रहरीले चलाएको गोली टाउकैमा लाग्नु लगायतका विषयले पनि घटनालाई शंकास्पद बनाएको सतारुढ नेकपाका केन्द्रीय सदस्यसमेत रहेका पूर्वसांसद अमर मण्डलले बताए ।


उनले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे । जिल्लाका अन्य राजनीतिक दलका नेताहरूले पनि प्रहरी कारबाहीलाई शंकास्पद भन्दै छानबिनको माग गरेका छन् ।

प्रकाशित : माघ ९, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?