१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हिमपातसँगै बेंसीमा झरी

हुम्ला/मुगु — कर्णाली प्रदेशका उच्च लेकाली बस्ती र हिमाली जिल्लामा हिमपात भएको छ । हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । माथिल्ला क्षेत्रमा हिमपात भएसँगै औल (बेंसी) क्षेत्रमा पानी परेपछि जाडो बढेको छ ।

हिमपातसँगै बेंसीमा झरी

हिमपातले हुम्ला, मुगु र डोल्पाका बासिन्दा प्रभावित भएका छन् । सदरमुकाम सिमकोटलगायत हुम्लाभर हिमपात जारी छ । हिमपात मंगलबार बिहान ५ बजेबाट सुरु भएको हो । सिमकोटमा झन्डै २ फिट हिउँ जमेको छ । हिमपातले हवाई सेवा ठप्प भएको छ । अधिकांश पसल बन्द छन् ।


सरकारी कार्यालय खुले पनि सेवाग्राही नआउँदा कामकाज हुन सकेन । हिमपातले आवतजावत बन्द छ । सिमकोटको दिउँसोको तापक्रम माइनस ७ पुगेको छ । हिमपातका कारण जिल्लाका अधिकांश गाउँका बासिन्दा बाहिर निस्कन सकेका छैनन् । हिउँ परेपछि गाउँ सेताम्मे बनेका छन् ।


नाम्खा गाउँपालिका ६, लिमीका जाङ, हल्जी र तिलको अन्य गाउँसँग सम्पर्क टुटेको छ । ती गाउँका बासिन्दाले यसअघि नै गाउँ छोडिसकेका छन् । अहिले हिमालपारिको बस्ती भनेर चिनिने लिमीमा गाउँ हेरालु र गुम्बाका पुजारीमात्र छन् ।


रारामा एक फिट हिउँ

पर्यटकीय गन्तव्य रारामा १ फिट हिउँ परेको छ । घुम्न आएका पर्यटक हिउँमा रमाएको रारा पर्यटन विकास समिति अध्यक्ष देवीकृष्ण रोकायाले बताए । हिमपातले जनजीवन प्रभावित बनेको छ भने सडक अवरुद्ध बनेका छन् । बाक्लो हिमपातले गुच्ची च्याउलगायत विभिन्न जडिबुटी र वनस्पति फस्टाउने रोकाया बताउँछन् ।


मुर्मा, पिना, कार्कीबाडा, ताल्चा, झयारी, बाम, कोटिला, मुन्दु, खमाले, माग्री, मुगुलगायत क्षेत्रमा हिमपात भएको छ । जिल्लामा एक साताअघि पनि हल्का हिमपात भएको थियो । दोस्रो पटक किसानलाई चाहेजति हिमपात भएको छायानाथ रारा नगरपालिका–३ का नरेन्द्र रावलले बताए । हिमपातले किसानलाई उत्साहित बनाएको छ । हिमपात भएपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी एक्लै बाहिर नजान, न्यानो कपडा लगाउन र जोखिम परे आपसमा सहयोग गर्न आग्रह गरेको छ ।


डाँडा सेताम्मे

जाजरकोटका कुशे, बारेकोट, जुनीचाँदे गाउँपालिका र नलगाड नगरपालिकाका उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि डाँडा सेताम्मे बनेका छन् । हिमपातले जिल्लाभर चिसो बढेपछि अधिकांश विद्यालय बन्द भएका छन् । चिसोले सदरमुकाम सुनसान बन्यो भने ज्याला मजदुरी गर्नेले मंगलबार काम गर्न सकेनन् । चिसो र हिमपातका कारण जिल्लाका ४ सय ६२ विद्यालयका ७० हजार विद्यार्थी पठनपाठनबाट प्रभावित बने ।


२७ वर्षदेखि परेन हिउँ

मुगुको खत्याड गाउँपालिका ८, सुकाढिक गाउँमा हिउँ नपरेको करिब २७ वर्ष भएको छ । २०४८ सालमा गाउँ सेताम्मे हुने गरी हिउँ परेको थियो भने त्यसपछि हिउँ नपरेको स्थानीयको भनाइ छ । हिउँदमा अग्ला डाँडासम्म हिउँ आउने भए पनि गाउँमा नपर्ने गरेको स्थानीय अगुवा राजबहादुर कार्कीले बताए । उनका अनुसार हिउँ हेर्न अहिले लेकतिर उक्लिनुपर्ने अवस्था आएको छ ।


हिउँ नपर्दा खेतीयोग्य जमिन बाँझिएको उनले जनाए । सुकाढिक खोला सुक्दै जाँदा सिँचाइ गर्न कठिनाइ परेको र हिउँ नपर्दा समस्या भएको उनको भनाइ छ । समुद्री सतहदेखि १३ सय फिट उचाइमा रहेको सुकाढिक गाउँमा एक सय १५ घरधुरी छन् ।


‘सुकाढिक गाउँमा हिउँ पर्थ्याे रे भन्ने कथा जस्तै भइसक्यो,’ स्थानीय महिला स्वास्थ्य स्वयंसेविका दाना गिरीले भनिन्, ‘हिउँ पर्न छोडेपछि बर्सेनि खाद्यान्नको अनिकाल सुरु भएको हो ।’ पुस/माघ लागेपछि गाउँमा हिउँ आउला भन्ने आशा लागे पनि हिमपात हुन छाडेको उनी बताउँछिन् । उनका अनुसार गतिलो आकाशे पानी नपरेको ५ वर्ष भइसकेको छ ।


जमिनले राम्रोसित पानी नपाउँदा अन्नबालीदेखि घाँसपातका लागि स्थानीयलाई दु:ख भएको उनी बताउँछिन् । यहाँको रिघा, आम र हयाङलु गाउँमा पनि हिउँ नपरेको धेरै वर्ष भइसकेको छ ।

प्रकाशित : माघ ९, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?