२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

ढुंगामाटोबाटै नमुना घर

तेम्बाथान, सिन्धुपाल्चोक — जुगल ३, तेम्बाथानका मिङ्मार शेर्पाको घर गाउँका अरूको भन्दा ठूलो छ । ढुंगा र माटोले बनाइएको घरमा झ्यालढोका पनि धेरै छन् । भूकम्पयता टहरोमा बस्दै आएको उनको चार जनाको परिवार अब यही घरमा सर्ने तयारी गर्दै छ । ‘टहरोमा धेरै बसियो,’ उनले भने, ‘अब नयाँ घरमा सर्दै छौं ।’ 

ढुंगामाटोबाटै नमुना घर

मंसिरमा निर्माण थालेका उनले पुस अन्तिममा बनाइसकेका हुन् । ‘पहिलाभन्दा अहिले ठूलो घर बनेको छ,’ शेर्पाले भने, ‘ढुंगाको छानो हाल्ने कुरा भए पनि संस्थाबाट जस्ता किन्ने पैसा पाएपछि त्यही हाल्यौं ।’ उनका अनुसार घर भूकम्पप्रतिरोधी छ ।


आडैमा लाक्पा शेर्पाको घर ठयाक्कै उस्तै छ । जस्ताको रङ मात्र फरक । मिङ्मारको छानो रातो छ भने लाक्पाको नीलो । ‘घर बनाउन साढे ४ लाख खर्च भयो,’ लाक्पाले भने, ‘खर्च स्विस संस्थामार्फत पायौं ।’


भूकम्पपछि तेम्बाथानका १ सय ६० मध्ये १ सय ५० घर पूरै भत्किए । अहिले धमाधम बनिरहेका छन् । सरकारमार्फत सहयोग लिनेहरूले घर ठड्याइसके । स्विस संस्थामार्फत सहयोग लिनेहरू बनाउँदै छन् । ‘आर्थिक अवस्था कमजोर, भूकम्प प्रभावितमा नाम नपरेका र सरकारबाट सहयोग नपाएकालाई घर बनाउन स्विस संस्थाले ४ लाख ५० हजार दिएको छ,’ मुख्य सिकर्मीका रूपमा काम गरिरहेका जाङ्बु शेर्पाले भने, ‘यसरी सहयोग पाएर बनेका घर अरूभन्दा भिन्न छन् ।’ उनका अनुसार ठूलो घरको भुइँतलामा ८ वटा झ्याल र २ वटा ढोका हुन्छन् । माथिल्लो तलामा पनि त्यति नै झ्याल र एउटा ढोका हुन्छ । सानो घरमा २/२ वटा झ्याल र २ ढोका हुनेछन् । सानो घर बनाउन स्विस संस्थामार्फत ३ लाख सहयोग उपलब्ध भएको छ ।


सम्पदाविद् रवीन्द्र पुरीका अनुसार २०७३ वैशाखमा गाउँका ३० जनालाई डेढ महिने सिकर्मी र डकर्मी तालिम दिइयो । काभ्रेको पनौतीस्थित नेपाल भोकेसनल एकेडेमी लगेर २० जनालाई डकर्मी र १० जनालाई सिकर्मी तालिम दिइएको हो । अहिले उनीहरूले गाउँमा घर र झ्यालढोका बनाउँदै आएका छन् । काम गर्न भ्याइनभ्याइ छ । काठ जसको घर बन्दै छ, उसैले व्यवस्था गर्नुपर्छ ।


‘हामीले ढुंगा, माटो र काठबाट भूकम्पप्रतिरोधी पुरानो शैलीको घर बनाउन खोजेका हौं,’ पुरीले भने, ‘तीन घर मात्र ढुंगाले छाइएको छ, अरू घरमा जस्ता राखिएको छ, फेरि बन्न लागेका घरमा ढुंगाको छानो राख्ने तयारीमा छौं ।’ उनले केही समयपछि तेम्बाथान पुगेर घरको अवस्था बुझ्ने र ढुंगाको छानो हाल्न सल्लाह दिने बताए । त्यहाँ ४२ नमुना घर बनाउने योजना रहेको उनले सुनाए । ढुंगाको छाना होस् वा जस्ताको, घरको स्वरूप फरक देखिएको छ । बुट्टे झ्यालले आकर्षण थपेको छ ।


‘चाहना तेम्बाथानमा नमुना घर बनुन् भन्ने हो,’ पुरीले भने, ‘ढुंगाको छानो राख्न गाउँपालिकाले पनि स्थानीयलाई सचेत गराए राम्रो हुने थियो ।’ यी घर पुनर्निर्माण प्राधिकरणको मापदण्डअनुसारै छन् । डकर्मीको काम गर्दै आएका तेन्जिन शेर्पाका अनुसार १५ वटा घर बनिसकेका छन् । थप १५ वटा बन्दै छन् । सिकर्मी/डकर्मीको तालिम ३० जनाले लिए पनि अहिले काम गर्ने १५ जना छन् ।


सिकर्मी जाङ्बुको नेतृत्वमा ७ र डकर्मी तेन्जिनको नेतृत्वमा ६ जना छन् । एउटा घर तयार हुन एक महिना लाग्छ । यो गाउँ पुग्न चौताराबाट २ दिन लाग्छ । यहाँ शेर्पा समुदायको बसोबास बाक्लो छ । घर निर्माणको ठेक्का तालिम लिएकाहरूले नै लिन्छन् । जसको घर हो, उसको परिवारले श्रमदान गर्छ । स्विस संस्थामार्फत आएको सहयोगले नपुग्नेले ऋण गरेर पनि घर पूरा गर्ने गरेका छन् ।

प्रकाशित : माघ १०, २०७५ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?