१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

डाँडा खोतलिए, मूल सुके

स्थानीय तहले सबैभन्दा बढी बजेट सडकमा छुट्याएका छन् भने निर्णय नै गरेर डोजर/एक्साभेटर खरिद गरिरहेका छन् । वातावरणीय अध्ययनबिनै डोजर/एक्साभेटर प्रयोग गरी सडक खन्दा खानेपानीको मूल सुक्ने, धान फल्ने खेत बाँझिने र भूक्षयले बस्ती जोखिममा पर्नेजस्ता समस्या निम्तिएका छन् ।

काठमाडौँ — स्थानीय तहले जनप्रतिनिधि पाएसँगै देशभर नै सडक निर्माण पहिलो प्राथमिकतामा परेको छ । सबैभन्दा बढी बजेट सडकमा छुट्याइएको छ । स्थानीय तहबाटै निर्णय भएर डोजर/एक्साभेटर खरिद गरिएका छन् ।

डाँडा खोतलिए, मूल सुके

वातावरणीय अध्ययनबिनै डोजर/एक्साभेटर प्रयोग गरी सडक खन्दा खानेपानीको मूल सुक्ने, धान फल्ने खेत बाँझिने र भूक्षयले बस्ती नै जोखिममा पर्नेजस्ता समस्या निम्तिएका छन् ।

एक्साभेटर प्रयोग गरेर सडक निर्माण र ढुंगाखानी सञ्चालन गर्दा खोटाङको पर्यटकीय मझुवागढी आसपासका खानेपानी मुहान सुकेका छन् । मुहान सुकेपछि स्थानीय बासिन्दा बसाइँ सर्न थालेका छन् । मझुवागढी आसपास जथाभावी एक्साभेटर प्रयोग गरेर ढुंगाखानी सञ्चालन गरिएको छ भने दिक्तेल–खानीडाँडा सडक निर्माण गरिएको छ ।

स्थानीय नेत्र कटवालका अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४, खाल्लेमा चारवटा पानीका मुहान सुकेका छन् । काँडेधारा, कालिमाटी, जुकेपानी बोजिनी खोलालगायतका मुहानमा पनि पानी निस्कन छाडेको छ ।

पानी सुकेपछि काँडेगाउँका सात परिवार बसाइँ सरेका छन् ।

स्थानीय मिलन कसजुका अनुसार तेजबहादुर कार्की, गंगाबहादुर कार्की, गंगा कार्की, लालबहादुर कार्की, कर्णबहादुर कार्की, अम्बरबहादुर कार्की र नेत्रबहादुर कार्की बसाइँ सरेका हुन् । गोरुमैदे भन्ने ठाउँबाट घन्टौं लगाएर पानी ओसार्नुपर्ने बाध्यता रहेको स्थानीय नेत्र कटवालले बताए । ‘१९ घरपरिवारले अन्यत्रबाट घन्टौं लगाएर पानी बोक्नुपरेको छ,’ उनले भने ।

एक्साभेटर प्रयोग गरेर अवैध रूपमा ढुंगाखानी सञ्चालन गर्दा पानीको मुहान सुकेको र व्यवस्थापनका लागि नगरपालिकामा अनुरोध गर्दासमेत बेवास्ता गरिएको कटवालले सुनाए । वडाध्यक्ष डिल्ली राईले आफ्ना समस्यामा बेवास्ता गरेको कसजुले बताए ।

नगरपालिका प्रमुख दीपनारायण रिजालले यस क्षेत्रको पानी व्यवस्थापनका लागि नगरपालिकाको बजेटले नपुग्ने भएकाले प्रदेश सरकारलाई अनुरोध गरिएको बताएका छन् । रिजालका अनुसार प्रदेश सरकारले यो वर्षका लागि साप्सुखोलाबाट पम्पिङ प्रविधिबाट खानेपानी योजना सञ्चालन गर्न एक करोड बजेट विनियोजन गरेको छ । यति बजेटले पनि अपुग हुने भएकाले थप बजेटका लागि पहल भइरहेको उनले जानकारी दिए ।


भूक्षयको जोखिममा बस्ती

जथाभावी डोजर सञ्चालन गरेर सडक खन्दा पाल्पाका धेरै स्थानका खानेपानीका मूल, ट्यांकी र पाइपलाइनमा क्षति पुगेको छ । कतिपय ठाउँमा भूक्षयले बस्ती नै जोखिममा परेको छ । आर्यभन्ज्याङ–रामपुर सडक चौडा बनाउने क्रममा धेरै ठाउँमा यस्तो समस्या देखिएको हो ।

वातावरणीय प्रभाव मूल्यांकन नगरी गाउँ–गाउँमा सडक खन्ने क्रम तीव्र छ । सडक फराकिलो बनाउने क्रममा गल्धामा खानेपानीको मूल सुक्न थालेको छ । ३० घरभन्दा बढीले पिउने पानीको मूलमा असर परेको स्थानीयले बताए । बाँसटारी–झडेवा सडकअन्तर्गत माथागढी–४, देउगिरमा जथाभावी डोजर लगाएपछि पानीको पाइपलाइनमा हरेक वर्ष समस्या आइरहेको छ । ‘सडक चौडा गर्दा जथाभावी माटो फालियो,’ स्थानीय मन्दिरा विकले भनिन्, ‘अहिले पानीको समस्या बेहोर्नुपरेको छ ।’ झन्डै २ सयभन्दा बढी घरपरिवारलाई पानी अभाव भएको छ ।

ओलेश–गल्धा खानेपानी आयोजनाको पाइप बिछ्याइएको ठाउँमा डोजर लगाउँदा भूक्षय निम्तिएको छ । बाँसटारी–झडेवा मोटर बाटोमा कटिङ गर्दा खसेको पहिरोले पानीको पाइप बगाएको छ । हुँगीबाट फोक्सिङकोट जोड्ने सडकमा डोजर लगाएर जथाभावी खन्दा तल्लो भागमा रहेको खानेपानीको मूल र ट्यांकीमा क्षति पुगेको छ । जंगल र ठाडो भीरमा धेरै घुम्ती बनाएर खनिएकाले सिंगो बस्ती पहिरोको जोखिममा परेको छ ।

माथिल्लो भागबाट जंगलका रूख, लेदो माटो र ढुंगामाटो बगाएर ल्याएपछि ५० भन्दा बढी घरपरिवारले पिउने पानीको ट्यांकी बगाउने चिन्ता बढेको दामोदरप्रसाद सुवेदीले बताए । उनका अनुसार सडक खन्दा ग्रेड नमिलाइएकाले दुई खोल्साबाट भँगालो बनाएर बग्ने भेलले खानेपानीको ट्यांकी र मूललाई असर गरेको छ ।

हुमिनमा जथाभावी डोजर लगाउँदा पँधेरा र मूलमा असर परेको छ । साबिक जिल्ला विकास समिति, नगरपालिका, गाविस र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत खनिएका सडकमा समस्या बढी छन् । पछिल्लो समय नगरपालिका र गाउँपालिकाले सडक चौडा बनाउँदा समस्या झन् बढेको छ ।

‘सडक चौडा गर्न डोजर लगाएर जथाभावी माटो फाल्दा वर्षाैंदेखि पिउँदै आएका पानीका मूलमा असर परेको छ,’ स्थानीय शिवप्रसाद मानवले भने, ‘यसबारे सम्बन्धित निकायलाई गुनासो गर्नुपर्ने भएको छ ।’ यहाँका ५० घरले पानीको संकट पर्दा यही पँधेराबाट पानी पिउँथे । सदियौंदेखि प्रयोग गर्दै आएको पँधेरामा जाने बाटोसमेत छैन ।

सिलुवामा जथाभावी डोजर लगाउँदा केही महिनाअघि सम्पन्न भएको खानेपानी योजनालाई असर गरेको छ । जाम्दीकोटथर खानेपानी योजनामा ढुंगा, माटोले असर गरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्राविधिक नारायण अर्यालले बताए । उनका अनुसार डोजरले जथाभावी माटो फाल्दा पोल कोल्टिएको छ भने पम्प हाउसमा असर परेको छ ।

सहलकोट, बाँकामलाङ, हुँगी, गेझा, दोभानलगायत स्थानमा बढी समस्या छ । सडक डिभिजन कार्यालयका प्रमुख केदार नेपालले सतर्कता अपनाउनुपर्ने बताए । ‘जथाभावी माटो, ढुंगा फाल्न दिनु हुँदैन,’ उनले भने, ‘यस्तो अवस्था छ भने जोगाएर काम गर्नुपर्छ ।’


खेत बाँझै

हुम्लाको सिमकोट, धारापरीमा धान फल्ने खेत बाँझै छ । खेतमाथिबाट सडक खनेपछि कुलो पुरियो । करिब दुई करोड लागतमा तयार भएको कुलो पुरिएपछि खेत त बाँझियो नै, स्थानीय जातको धानको बीउ पनि मासियो ।

‘सडक खन्दा झरेको माटो, ढुंगाले कुलो पुरियो, पुस्तौंदेखि धान लगाउँदै आएको खेत बाँझो भयो,’ स्थानीय नरबहादुर शाहीले भने । सडकले कुलो पुरेपछि बनाइदिन स्थानीयले आग्रह गरे, सुनुवाइ भएन । ‘कुलो बनाइदिन भन्यौं, कुलोभन्दा सडक ठूलो हो भने,’ उनको गुनासो थियो । धान फल्ने खेतमा धारापरीवासीले वर्षामा कोदो रोप्छन्, हिउँदमा बाँझै रहन्छ । सिमकोटमा चामल नपाउँदा त्यही खेतको धानले गर्जो टार्दै आएको थियो ।

प्यूठान नगरपालिका–६, माझकोटका केशरबहादुर रोका जुम्री खोलाको पानीले ढुंगेठाँटीको तालगहरा खेतमा सिँचाइ गर्थे । जेठमै रोपाइँ हुन्थ्यो । अहिले ढुंगेठाटी–लम्छयाङ मोटर बाटो बन्यो । त्यसक्रममा मर्मत गर्नै नसकिने गरी कुलो भत्कियो । अहिले खेत बाँझै छ । साउनमा झरी कुरेर रोप्नुपर्ने बाध्यता छ ।

‘सडक खन्दा कुलो भत्कियो, गाउँलेको ध्यान मोटरबाटोमा पर्‍यो,’ उनले भने, ‘किसानका समस्या कसैले सुनेनन् ।’ अहिले २०/२५ परिवारका खेत बाँझिएको उनले बताए । साबिकको जिल्ला विकास समिति र सडक डिभिजन कार्यालयमार्फत सडक निर्माण भएको हो । ‘गाउँमा गाडी पुगेको छैन,’ उनले भने, ‘सडकले छाकबास उठायो ।’

माण्डवी गाउँपालिका–२, ढिकावनका किसानलाई पनि यस्तै समस्या छ । सडक निर्माण गर्ने क्रममा कुलो भत्किएपछि उनीहरूको खेत सुक्खा बनेको छ । गहुँ, चना, मसुरो, तोरी उत्पादन गर्ने उनीहरू बजारबाट किनेर खाने भएका छन् । ०६५ सालमा मोटर बाटो निर्माण भएको हो । त्यसबेला २ किलोमिटर कुलो मर्मत नहुने गरी भत्किएपछि सिँचाइबाट वञ्चित भए । स्थानीयले श्रमदान गरेर निर्माण गरेको ‘खुग्ली खोलो सिँचाइ कुलो’ सडक बनाउँदा भत्किएको थियो ।

देवीस्थान–कोचिबाङ सडक बनाउँदा कुलो भत्किएपछि सिँचाइबाट वञ्चित भएको देवीप्रसाद पौडेलले बताए । ०१८ सालमा स्थानीयले ३ महिना श्रमदान गरेर उक्त कुलो खनेको पौडेलले बताए । त्यहाँ ७५ परिवारको १०/१५ रोपनी बारी छ ।

सिँचाइ हुँदा खेतीले गुजारा चलेको थियो । डोजर, एक्साभेटर लगाएर सडक खन्दा पहिरो गएर समस्या भएको वडाध्यक्ष तुलबहादुर थापाले बताए । ‘वडामै ढिकावनमा उर्वर जमिन थियो,’ उनले भने, ‘कुलो भत्किएपछि किसानलाई समस्या छ ।’

धरमपानीको रइजनपानी मूलबाट मल्लरानी–३, चौरपानीमा पानी पुर्‍याइएको छ । मुहानमाथिबाट सडक खन्दा सुकेर गाउँमा पानीको हाहाकार भएको स्थानीय कृष्णराज पाण्डेले बताए । ‘पानीको मुहान पुर्ने गरी सडक बनाउनेविरुद्ध जिल्ला प्रशासनमा उजुरी गर्‍यौं,’ पाण्डेले भने, ‘कारबाही भएको छैन ।’ सडक निर्माणबाट मात्र गाउँको विकास गर्न सकिन्छ भन्ने सोच दलका नेता, सामाजिक कार्यकर्ता र विकासे कार्यालयमा छ ।

स्थानीय तहका मुख्य योजनामा सडक निर्माण छन् । धेरै तहले सडक खन्न डोजर किनेका छन् । ‘जनताको पहिलो माग सडक निर्माण हुन्छ,’ गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले भने, ‘पहिलो वर्षको बजेटजति सडकमै लगानी भयो, उपलब्धि हात लागेन ।’ जिल्लामा सडक निर्माण गर्न १ सय १५ भन्दा बढी डोजर र एक्साभेटर भित्रिएको निर्माण व्यवसायी समिति जिल्ला अध्यक्ष पशुपतिनारायण नकर्मीले बताए ।


मुहानमाथि डोजर

०३२ सालमा अर्घाखाँचीको छत्रगन्जस्थित मठेलचौर मुहानबाट बल्कोट, केरुंगा र चिदिका गाउँमा पानी पुर्‍याइएको थियो । त्यो जिल्लाकै ठूलो योजना थियो । त्यसले गाग्री बोकेर कुवा धाउनुपर्ने बाध्यता हटेको थियो । ३ दशक दु:ख थिएन । यी तीन गाउँ सडक सञ्जालमा जोडिए । त्यतिबेला सदरमुकामबाट महिनौं दिन लगाएर कोदालो, गैंती, बेल्चाले गाउँलेले सडक निर्माण गरेर गाडी पुर्‍याए । पछिल्लो समय डोजर भित्रिए । मान्छेले भन्दा छिटो निर्माण हुने भएपछि जताततै बाटो बन्न थाल्यो ।

०६० सालमा साबिकका सबै गाविसमा मोटर पुगेपछि नमुना जिल्ला बन्यो । मढेलचौरको मुहानभन्दा माथिबाट डोजर प्रयोग गरेर बाटो खनियो, त्यसपछि मुहान सुक्यो । गाउँमा सडक निर्माणले खुसी स्थानीय पानी सुकेपछि दु:खी बनेका छन् । छत्रदेव गाउँपालिका १, २, ३ र ४ वडामा पानीको हाहाकार छ । घन्टौं लाइन बसेर एक गाग्री भर्न बिहानभरिको समय खर्चिनुपर्छ ।

‘मुहानमाथिबाट डोजर लगाएर सडक नखनेको भए पानी हराउने थिएन,’ बल्कोटकै चुमा पौडेलले भनिन्, ‘फेरि दु:ख भएको छ । गाग्रीमा पानी बोकिरहेका छौं ।’ गर्मीका बेला कुवामा पानी घट्छ । अड्कलेर पानी खानुपरेको केरुंगाकी गोमा खनालले बताइन् । ‘गर्मीका बेला नुहाउन, कपडा धुन धेरै पानी चाहिन्छ,’ उनले भनिन्, ‘त्यतिबेला खोलामा धाउनुपर्छ ।’

जिल्लाका धेरै मुहानमा पहिलेको जस्तो पानी छैन । मालारानी गाउँपालिका–५ को घाटखोला मुहानबाट कुझेरी गाउँमा पानी ल्याइएको थियो । मुहानमाथि डोजर चलाएर बाटो खनेपछि अहिले पानी सुकेको छ । टोलैपिच्छे सडक बनिरहेका छन् । डोजर चालक नै इन्जिनियर बनेर जमिन भत्काउँछन् ।

दलका नेता, सांसद र स्थानीय अगुवाले कुवा, खानेपानीका मुहान जोगाउन ध्यान दिँदैनन् । धेरै कुवा पुरिएको स्थानीयको गुनासो छ । जिल्लाभर खानेपानीको समस्या छ । ‘बाटो खन्दा पानीको कुवा र मुहानलाई ध्यान दिएको भए पानीको समस्या हुने थिएन,’ छत्रगन्जकी मुना भट्टराईले भनिन् ।


हुम्लाको सिमकोट, धारापरीमा सडक खन्दा पुरिएको कुलो । तस्बिर : कान्तिपुर

वर्षाभरि पहिरो

यसपटक वर्षायामभरि पूर्वी रुकुमअन्तर्गतको मध्यपहाडी लोकमार्ग ठप्प रह्यो । ठाउँ–ठाउँमा झरेको पहिरोले यातायातका साधन चलेनन् । पैदल यात्रुले सास्ती बेहोर्नुपर्‍यो । जिल्लामा ५५ किलोमिटर लोकमार्ग छ । जथाभावी डोजर चलाउँदा निम्तिएको समस्याको एउटा उदाहरण हो यो । लोकमार्ग तथा त्यसबाट शाखा सडक विस्तार गर्दा लगाइएका डोजरका कारण वर्षामा अधिकांश ठाउँमा पहिरो झर्छ ।

‘पहिरो झर्नुको कारण डोजर प्रयोग हो,’ सिस्ने गाउँपालिका–२ का धनबहादुर पुनले भने, ‘विकासका नाममा चलाइएको डोजरले विनाश गर्‍यो ।’ मानव बस्ती, भूगोल र प्राकृतिक स्रोतसाधनको वास्ता नगरी डोजरमार्फत सडक खनिनु दु:खद भएको उनले बताए । जिल्लाका अधिकांश सडक डोजरले खनिएका छन् । त्यो कार्य जारी छ । साबिक रुकुम जिल्ला हुँदा काँक्री गाविस अर्थात् भूमे गाउँपालिका–२, खाबाङबगरमा ०६६ सालमा हेलिकप्टरमार्फत डोजर झारिएको थियो ।

त्यसपछि सडक निर्माणले गति लिएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए । ‘ठूला उपकरण प्रयोग गर्दा त्यसको प्रभाव र असर के हुने भन्ने कुरामा ख्याल हुन जरुरी छ,’ उनले भने, ‘मान्छेलाई छिटो विकास चाहिएको छ, त्यसैले प्रभाव र असरतर्फ ध्यान नपुगेको हुन सक्छ ।’

भूमे गाउँपालिका–६ मा निर्माणाधीन सहिदमार्गको हालत उस्तै छ । हरेक वर्ष ठेक्कामार्फत सडक बनाइने भए पनि वर्षातको समयमा पहिरो झर्ने गरेको छ । ‘डिजाइन इस्टिमेट गलत हो कि जस्तो लाग्छ,’ स्थानीय मनबहादुर बुढामगरले भने, ‘दोस्रो कुरा डोजरका कारण हरेक वर्ष झर्ने पहिरोले सडक सडकजस्ता छैनन् ।’


सुक्न थाले मूल

रोल्पामा बजेटको ठूलो हिस्सा सडकमै छुट्याइएको छ । जनप्रतिनिधिले ‘एक गाउँ एक सडक’ को नारा तय गरेर सडक निर्माणलाई प्राथमिकता दिएका छन् । छोटो समयमा गाउँमा एकपछि अर्को सडक खनिएका छन् । प्राविधिक जाँच र वातावरणीय प्रभावको अध्ययनबिना सडक निर्माण गर्ने परिपाटी बसेको छ । त्यसको असरले पानीका मूल सुक्न थालेका छन् ।

त्रिवेणी गाउँपालिकाका धेरै ठाउँमा सडक खन्दा पानीका मूल सुकेको स्थानीयले बताए । गाउँमा नेर्पा, खानीखोला र बजिबाङबाट सडक खनिएको छ । नेर्पाका बासिन्दा जीवराज खड्काले सडक खन्नुअघि त्यसले पुर्‍याउने असरबारे अध्ययन गर्नु आवश्यक भएको बताए ।

ठेकेदार वा उपभोक्ता समितिले प्राविधिकको सल्लाहबिना डोजर चालकलाई संकेत गर्दै खन्न लगाउने चलनले वनजंगल र पानीका मूल मासिने क्रम बढेको हो । सडक खन्दा पुरिएका खेतबारी, वनजंगल र पानीका मुहानबारे निर्माण व्यवसायी वास्तै गर्दैनन् ।

दाङको घोराहीदेखि थबाङ हुँदै रुकुमसम्म १ सय ६६ किलोमिटर लामो सडक निर्माणाधीन छ । पहिलो चरणको कटिङ रुकुमसम्म सकिएको छ भने केही भागमा कालोपत्रे र धेरै भागमा ग्राभेलको काम भइरहेको छ । सडकको मुनि र माथिल्लो भागमा रहेका पानीका थुप्रै मूल सुकेको जैमाकसलाका रिमु सुवेदीले बताए । सडक सन्जालबाट जिल्लाका अधिकांश गाउँ जोडिएका छन् । ती सडकबाट कृषि, पर्यटन र जडीबुटी उत्पादन बढाउने लक्ष्य छ ।


ठूला औजारको प्रयोगले समस्या

राष्ट्रिय मानव अधिकार आयोगले इलाम सदरमुकाममा गरेको मानव अधिकार र वातावरणसम्बन्धी अन्तक्र्रियाका अधिकांश सहभागीको चिन्ता थियो, अन्धाधुन्द ठूला मेसिनरी औजार प्रयोगले निम्त्याएको वातावरणीय समस्या ।

मानवीय गतिविधिका कारण अधिकार हनन गर्न पाइन्छ कि पाइँदैन भन्ने विषयमा चलाइएको बहसमा अधिकांशले पूर्वाधार निर्माण गर्दा वातावरणीय पक्ष अध्ययन नगरी डोजर/एक्साभेटर प्रयोग गरिएकोमा चिन्ता व्यक्त गरेका थिए ।

‘स्थानीय तहमा जनप्रतिनिधि आएपछि यो क्रम झन् बढेको छ,’ सूर्योदय नगरपालिका आइतबारेका डुपछिरिङ काजीले भने, ‘कतिपय जनप्रतिनिधिबीच डोजर, जेसीभीलगायत इक्विपमेन्ट किन्ने होडबाजी छ ।’ पछिल्लो समय ग्रामीण क्षेत्रमा सानातिनादेखि पूर्वाधार निर्माणका ठूला आयोजनामा मेसिनरी औजार प्रयोग बढ्दो छ । बिनाअध्ययन यस्ता औजार प्रयोग गर्दा सिमसार क्षेत्र नासिने क्रममा छन् भने कतिपय स्थानमा खानेपानी अभाव भएको छ ।

स्थानीय तहले गर्ने विकास निर्माण साथै विद्युत् आयोजनाले पनि यस्ता औजार प्रयोग गरेका छन् । हरेक स्थानीय तहमा सडक निर्माणले प्राथमिकता पाएको छ । सडक खन्ने क्रममा डोजर/एक्साभेटर प्रयोग गर्ने प्रतिस्पर्धा छ । काम छिटो सक्न मेसिन लगाउनुपर्ने आवश्यकता छ । हरेक स्थानमा अध्ययनबिनै मेसिन प्रयोग गर्दा भू–क्षयको पनि उत्तिकै जोखिम छ ।

इलाम नगरपालिका २, सुम्बेक तल्लो कुवापानीमा पानी निस्कन छाडेको छ । ५/६ वर्षअघि त्यसमाथि सडक बनाइएपछि पानी सुकेको स्थानीयको दाबी छ । ‘यो धाराबाट २/४ घरले नियमित पानी उपभोग गरिरहेका थिए,’ स्थानीय सरोज खतिवडाले भने, ‘अहिले एक घरलाई पनि पुग्न मुस्किल छ ।’

सदरमुकाम इलाम बजार क्षेत्रमा बाक्लो गरी निर्मित पूर्वाधारका कारण जरुवा पानीका स्रोत सुकेका छन् । बजार क्षेत्रका ओपीधारा, कुलधारा, बाहुनधारा सुक्दै गएको स्थानीयले बताए । एक्साभेटरको जथाभावी प्रयोगले गाउँघरमा खानेपानीका लागि बिछ्याइएका पाइप फुट्ने, मुहान पुरिने, टयांकी भत्किनेजस्ता समस्या देखिएका छन् ।

कतिपय ठाउँमा स्थानीयले आफ्नै रकम खर्चेर पनि डोजर प्रयोग प्रयोग गरेका छन् । घरपायक सडक पुर्‍याउन उनीहरूले लाखौं रुपैयाँसम्म खर्चने गरेका छन् । यसैबीच सन्दकपुर गाउँपालिकाले बृहत् नर्सरी निर्माण अभियान थालेको छ ।

गाउँपालिकाले पर्यावरणमा असर पुर्‍याउने जलविद्युत् आयोजनादेखि विभिन्न पक्षलाई यसमा सहभागी गराउने लक्ष्य लिएको छ । गाउँपालिकाले निर्माणमा मेसिनरी प्रयोगको दरभाउ तोकेको छ । वातावरणीय पक्षलाई असर पुग्ने विषयमा भने कुनै मापदण्ड तोकिएको छैन ।


प्राविधिक अध्ययनबिनै सडक

ताप्लेजुङको सिरिजंगा गाउँपालिका ७, खेवाङबाट याम्फुदिन जोड्ने सडक निर्माण गत वर्ष बीचैमा रोकियो । पानीको मुहान निस्किएपछि सडक खन्न रोकिएको थियो । निर्माण जिम्मा पाएका उपभोक्ताले त्यसलाई छाडेर अर्को बाटो घुमाए ।

फुङलिङ नगरपालिका २ मा पनि पानीको मुहानबाट सडक खन्न लागिएको भन्दै विरोध भयो । उपभोक्ताबीचमै विवाद भएपछि निर्माण अघि बढ्न सकेको छैन । वातावरणीय प्रभाव मूल्यांकन नगरी भइरहेको सडक निर्माणले प्राकृतिक स्रोतमा प्रभाव परेको छ । सुक्खाग्रस्त बन्दै गएको समयमा पानीका मुहानलाई बेवास्ता गर्दा भविष्यमा पर्ने प्रभावका विषयमा राजनीतिक नेतृत्व सचेत हुन सकेको छैन ।

गाउँपालिकाले आफ्नो क्षेत्रको विस्तृत अध्ययन गर्नुपर्नेमा काम देखाउन भौतिक पूर्वाधारलाई जोड दिएको युवा परिषद् अध्यक्ष सन्तोष प्रसाईं बताउँछन् । ‘म सबै गाउँपालिकाको बजेट अध्ययन गरिरहेको छु,’ प्रसाईंले भने, ‘सबैको जोड सडकमा छ तर कस्तो ठाउँमा बनाउने भनेर अध्ययन गरिएको छैन ।’

सबैजसो नगरपालिका र गाउँपालिकाले आफ्नो क्षेत्रमा सडक बनाइरहेका छन् तर उनीहरूले वतावरणीय अवस्थालाई ध्यान दिएका छैनन् । ‘समस्या आएपछि बल्ल पछुताउने प्रवृत्ति छ,’ पाथीभरा बहुमुखी क्याम्पसका प्राध्यापक डिल्लीरमण बरालले भने, ‘अध्ययन गरेर काम गर्ने प्रवृत्ति विकास गर्नुपर्छ ।’ सिरिजंगा गाउँपालिका अध्यक्ष टीका गुरुङ प्राकृतिक स्रोतलाई विशेष ध्यान दिएको दाबी गर्छन् ।


विनाश तीव्र

उदयपुरको पहाडी क्षेत्रका एउटै डाँडामा पाँचवटासम्म सडक ट्रयाक खोलिएका छन् । व्यक्तिपिच्छेका घर पुग्ने सहायक बाटो पनि खनिएका छन् । अधिकांश ट्रयाक आवश्यकताभन्दा राजनीतिक पहुँचका भरमा खनिएका हुन् ।

जथाभावी सडक खन्दा पानीका मुहान नासिनुका साथै मूल्यवान रूख पनि विनाश भइरहेका छन् । वातावरण प्रभाव असर मूल्यांकन नगरी एक्साभेटर अपरेटरको भरमा खनिएका अधिकांश ट्रयाकमा सवारीसाधन गुडन सक्दैनन् ।

कटारी नगरपालिका– ८, बेतेनीबाट कोलबोटे जोड्ने सडकले कटारी बजारलाई कुरूप बनाएको छ । तल्लो समथर भागमा रहेको कटारी बजारको मुख्य आकर्षण माथिल्लो क्षेत्रको हरियो पहाड हो । नगरपालिका केन्द्र रहेको बजारको शिरैमा एक्साभेटर लगाएर जथाभावी सडक खनिएको छ । ‘निर्वाचनताका सर्वसाधारणसँग गरेको प्रतिबद्धता पूरा गर्न पनि सडक खन्नुपरेको हो,’ ताप्ली गाउँपालिका प्रमुख उद्धवसिंह थापाले भने, ‘जनताको मागअनुरूप खनिएको हो ।’

प्रकाशित : माघ १०, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?