कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बाँकेका बासिन्दा भन्छन् : अस्पतालका नाममा राजनीति नगरियोस्

ठाकुरसिंह थारु

नेपालगन्ज — बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पताल अहिले चर्चामा छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अस्पतालको नाम परिवर्तन विवादलाई लिएर संघीय संसद् चल्न दिएको छैन ।

बाँकेका बासिन्दा भन्छन् : अस्पतालका नाममा राजनीति नगरियोस्

त्यसपछि अस्पतालको चर्चा चुलिएको हो । कांग्रेसले नाम र अस्पताललाई संघीय सरकार मातहत राख्नुपर्ने माग उठाएको छ । जिल्ला नेतृत्वले अस्पतालको नाम परिवर्तन नगर्न चेतावनी दिइसकेको छ ।


खजुरा अस्पतालको नामकरण विवाद पहिलोपटक होइन । स्थापनाकालदेखि नाम परिवर्तन हुँदै आएको छ । अधिकांश स्थानीयको राय भने खजुरा क्यान्सर अस्पताल हुनुपर्नेमा छ । पश्चिम क्षेत्रका क्यान्सरका बिरामीलाई उपचारका लागि काठमाडौं र भारत जानुपर्ने बाध्यता हटाउन स्थानीयले अस्पताल निर्माणका लागि पहल थालेका थिए । ०६५ मा जनस्तरबाट मुठ्ठी दानसमेत भयो । महायज्ञ लगाइयो । त्यसबाट उठेको रकमले अस्पतालका भौतिक संरचना निर्माणमा ठूलो योगदान पुग्यो । सुरुमा नेपाल क्यान्सर अस्पताल नाम राखियो ।


भारतीय आध्यात्मिक गुरु प्रखरजी महाराजले अस्पताल निर्माणमा आर्थिक सहयोग गर्ने वचन दिए । उनकै पहलमा अस्पतालको डीपीआर तयार भयो । त्यसपछि प्रखर परोपकार मिसन अस्पताल नाम राख्न पहल थालियो । त्यही बेला स्वास्थ्य मन्त्रालयमा दर्ता प्रक्रिया अगाडि बढाइयो ।


तर, ‘मिसन’ अस्पताल नामकरण गर्दा सरकारबाट सहयोग नमिल्ने भन्दै फेरि नाम फेरेर नेपाल क्यान्सर अस्पताल राखियो । ‘स्थानीय प्रयासमा अस्पताल निर्माण भएको हो । बाँके र बर्दियाका बासिन्दाले मुठ्ठी दान गरेका छन्,’ अस्पताल निर्माणका लागि आर्थिक सहयोग जुटाउन ०६५ मा आयोजना गरिएको महायज्ञ समितिका महासचिव पूर्णलाल चुकेले भने, ‘त्यतिबेला कुनै राजनीतिक पूर्वाग्रह थिएन । पछिल्लो समय अस्पताललाई लिएर राजनीति हुनु राम्रो होइन ।’


नेपाल क्यान्सर अस्पताल दर्तापछि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा सरकारले ५ करोड रुपैयाँ बजेट दियो । त्यसयता रातो किताबमा उक्त अस्पताल पर्दै आएको छ । गगन थापा स्वास्थ्यमन्त्री भएपछि अस्पताललाई ४० करोड रुपैयाँ बजेट दिने प्रतिबद्धता जनाए ।


उनकै पालामा कांग्रेस सभापति तथा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नाम राखे । अस्पताल सञ्चालनका लागि आर्थिक सहयोग हुने भन्दै स्थानीयले विरोध जनाएनन् । सरकारले उक्त अस्पताललाई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको रूपमा अपनत्व लिएपछि विरोध नभएको हो ।


‘अस्पताल सञ्चालनमा आउनु ठूलो कुरा हो । त्यसैले नाममा किन विवाद गर्नू ?,’ अस्पतालका संस्थापक अध्यक्ष तथा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले भने, ‘स्वास्थ्यमन्त्री गगन थापाले गर्नुभएको प्रतिबद्धताअनुसारको बजेट आएन । जनस्वास्थ्यमार्फत आएको बजेट प्रक्रिया नमिलेर फ्रिज भयो ।’


उनले जनश्रमदानबाट निर्माण भइसकेको अस्पतालको नाममा राजनीति नगर्न सुझाए । ‘अस्पताल सञ्चालनमा आइसकेको छ । यसको निरन्तरताका लागि सबै एकजुट भएर लाग्न आवश्यक छ ।’ उनका अनुसार अस्पताल स्थापनाको पहलदेखि पटक–पटक नाम परिवर्तन भइसकेको छ ।


यो क्यान्सर अस्पताल चितवनको भरतपुरदेखि पश्चिमको पहिलो हो । अस्पताल निर्माणका लागि आर्थिक सहयोग जुटाउन ०६५ माघमा आयोजना गरिएको महायज्ञबाट ५ करोड २६ लाख रुपैयाँ उठेको थियो । १ सय शय्याको स्वीकृति पाएको अस्पतालले तत्कालका लागि ५९ बेड तयार गरेर सेवा सुरु गरेको हो ।


सरकारले पूर्वाधार निर्माणका लागि २७ करोड बजेट सहयोग गरेको छ । त्यसमध्ये ओपीडी भवनको निर्माण कार्य सम्पन्न भई रेडियोलोजी तथा रेडियसन भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ । भौतिक पूर्वाधार निर्माण र सर्भिसेस कार्यमा हालसम्म २२ करोड ५० लाख ८१ हजार रुपैयाँ खर्च भइसकेको छ ।


ओपीडी सेवाका लागि ल्याब, एक्सरे, भिडियो एक्सरे सेटअप भइसकेको र मोडुलर ओटी जडान गर्ने काम अन्तिम चरणमा पुगिसकेको छ । स्थानीयकै पहलमा अस्पताल निर्माणका लागि ४ बिघा जग्गा खजुरामा दिइएको छ ।


अस्पतालले ओपीडी सेवामार्फत यथासम्भव उपचार गर्ने र जटिल प्रकारका बिरामीलाई भरतपुर रिफर गर्ने जनाइएको छ । अस्पतालले सेवा सुरु गर्नुअघि स्तन र पाठेघरको मुखको क्यान्सर पहिचान गर्न बाँके र बर्दियाका १ सय ६० महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम दिइसकेको छ ।


२ सर्जन, २ मेडिकल अफिसर, नर्सिङ इन्चार्ज, ८ जना स्टाफ नर्ससहित २७ जनाको दरबन्दी लोकसेवा आयोगमार्फत पूर्ति गरेको क्यान्सर अस्पतालले ११ जना थप कर्मचारी भर्ना गरेको छ ।

प्रकाशित : माघ १०, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?