कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गाउँलाई हिउँको सिरानी

आश गुरुङ

लमजुङ — हिमपातले मनाङ जिल्ला सेताम्य बनेको छ । जिल्लाको बीच भएर बग्ने मस्र्याङ्दीमा पानीको सट्टा हिउँ बग्न थालेको छ ।

गाउँलाई हिउँको सिरानी

स्थानीयका अनुसार मनाङको सबैजसो बस्तीमा मंगलबार र बुधबार परेको हिउँले सिरानी हालेजस्तै बनाएको छ । ‘दुई दिनको हिउँले गाउँलाई सेतो सिरानी बनाएको छ । जता हेर्‍यो, त्यतै सेतो,’ मनाङगाउँस्थित होटल तिलिचोका सञ्चालक छिरिङ लोप्साङ गुरुङले भने, ‘पर्यटक हिउँ परेको र जमेको हेरेर छक्क परेका छन् ।’ उनका अनुसार बुधबार साँझसम्म बस्तीमा डेढ फिट हिउँ जमेको छ । ‘अब फागुन, चैतमा आलु रोपिन्छ । गहुँ, करु र जौ रोपिन्छ । मज्जाले माटो चिसो भयो । अब बालीनाली सप्रिन्छ,’ उनले भने ।


मनाङ ङिस्याङ गाउँपालिका १, पिसाङका छिरिङ गुरुङका अनुसार हिमपातले हरिया डाँडा पनि सेतै बनाएको छ । घरका सबै छानामा हिउँ जमेको छ । ‘सुक्खा हुँदा उराठ लाग्ने ठाउँ अहिले सेतै भएर मन फुरुङग भएको छ,’ उनले भने । अधिकांश मानिस जाडो छल्न काठमाडौं गएकाले हिउँ खेल्ने मौका नपाएको उनले बताए । उनका अनुसार अहिलेको हिउँले तत्काल मानिसलाई आवतजावतमा समस्या तथा जनजीवन कष्टकर बने पनि खेतीबालीका लागि फाइदा पुग्ने उनले बताए । ‘स्याउलाई हिउँ चाहिन्छ । सुक्खा मौसममा स्याउको जरासम्म पानी पुग्न हिउँ पर्नुपर्छ । जति हिउँ पर्‍यो, त्यति स्याउ सप्रन्छ,’ उनले भने ।


स्थानीयका अनुसार मनाङको मनाङ ङिस्याङ गाउँपालिका, चामे गाउँपालिका र नार्पाभूमि गाउँपालिकाका बस्ती, सडक, गोरेटो तथा घोडेटो बाटोमा साढे १ फिटदेखि २ फिटसम्म हिउँ जमेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका निमित्त प्रमुख कैलाशबाबु तिवारीका अनुसार हिमपातका कारण माथिल्लो क्षेत्र जान आएका पर्यटक रोकिएका छन् ।


‘हेर्दा हिमपात राम्रो देखिन्छ । हिउँ खेल्दा रमाइलो लाग्छ । तर, भिरालो ठाउँमा हिमपहिरो जान सक्छ । मौसममा सुधार नभएसम्म गन्तव्यमा नजान पर्यटकलाई आग्रह गरेका छौं,’ उनले भने । मनाङस्थित सशस्त्र प्रहरीको ३२ नं. गुल्म चामेका डीएसपी नीलकमल आचार्यका अनुसार हिमपातले जनजीवनमात्रै नभएर गस्ती तथा परेडसमेत प्रभावित भएको छ । ‘हिमपातले बाहिर निस्कन सक्ने अवस्था नै छैन । सबैतिर हिउँ छ । बाटो नै अवरुद्ध छ,’ उनले भने ।


लामो समयपछि मंगलबार अपराह्नदेखि हिमपात भएकाले जनजीवन कष्टकर बनेको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए । उनका अनुसार हिमपातका कारण सवारी आवागमन अवरुद्ध भएको छ । कतिपय साना जलविद्युत् आयोजनाको मुहानमा हिउँ जमेपछि पेनस्टकबाट पानी बग्न नसक्दा विद्युत् उत्पादन बन्द भएको छ ।


बुधबार दिउँसोको तापक्रम माइनस ८ डिग्री मापन गरिएको छ । हिमपातको समय पर्यटकलाई गन्तव्यमा जान मनाङ प्रशासनले रोक लगाएको छ । घटना, दुर्घटना हुने सम्भावनालाई मध्यनजर राखेर नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना र सबै सरकारी कार्यालयलाई सतर्क तथा उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको प्रजिअ देवकोटाले बताए ।

प्रकाशित : माघ १०, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?