कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

३ दिनदेखि हिउँमै अलपत्र

बझाङ — बाक्लो हिमपातका कारण सडक अवरुद्ध भएपछि बझाङबाट धनगढी, महेन्द्रनगर र काठमाडौं जाने र त्यहाँबाट बझाङ भित्रिने यात्रु जयपृथ्वी राजमार्गको विभिन्न ठाउँमा अलपत्र छन् । यात्रुले सोमबार साँझदेखि रोकिएको बताए ।

३ दिनदेखि हिउँमै अलपत्र

बझाङ थलाराका यात्रु किशोर विष्टले आफ्नो फेसबुकमा व्यंग्य र आक्रोश मिश्रित स्टाटस लेख्दै भनेका छन्, ‘बझाङमा चिलगाडी उडाउँछौं भनेर फेसबुकका भित्ता रंगाउने नेताहरू कता हराउनुभएको छ ? हामी ४/५ सय यात्रु ३ दिनदेखि हिउँमा फसेका छौं । जाडोले मर्ने बेला भइसक्यो । न खाना छ, न तातोको व्यवस्था छ । अब बरु चिलगाडी चाहिँदैन, एउटा डोजर पठाएर बाटो छिटो खुलाइदिनुस् ।’


बझाङबाट बाहिरी जिल्लाका लागि छुटेका दर्जनौं गाडी बित्थड, श्रीभावर, ढोल्यामोडलगायत ठाउँमा फसिरहेका छन् । तराईका जिल्ला र काठमाडौंबाट आएका गाडी विजयपुर, मुस्यालेक, नाचन्थली, बजपानीलगायत ठाउँमा अलपत्र परेको सुदूरपश्चिम यातायात व्यवसायी समितिका बझाङ काउन्टर इन्चार्ज दीपक कठायतले बताए ।


उनले हिउँमा फसेका यात्रुको र गाडीको संख्या एकिन नभए पनि दुवैतर्फ साना–ठूला गरेर ६०/७० वटा गाडी हिउँमा फसेको बताए । उनले भने, ‘६/७ सयको हाराहारीमा यात्रु अलपत्र छन् । उनीहरू फसेको ठाउँमा खानेकुराको अभाव भइरहेको छ ।’ राजमार्गका विभिन्न ठाउँमा एक फिट जति हिउँ जमेको र हिमपात नरोकिएका कारण यातायात अवरुद्ध भएको उनको भनाइ छ ।


‘बिरामी यात्रु र बूढाबूढीहरूको बिजोग छ,’ एक यात्रु रमिला रोकायाले भनिन्, ‘सक्ने हिंडेर पनि सुरक्षित ठाउँतिर गएका छन् । नसक्ने जाडो र भोकले सताइएका छन्,’ उनले हिउँले सबैतिर ढाकेका कारण आगो बाल्नका लागि दाउरासमेत नपाइएको बताइन् ।


यात्रुहरू आफैंले हिउँ पन्छाएर गाडी गुडाउने प्रयास गरिरहेको भए पनि सफल हुन नसकेको उनको भनाइ छ । सडक डिभिजन कार्यालय बैतडीको सहकार्यमा सडक खोल्ने प्रयास भइरहेको भए पनि लगातार हिमपातका कारण पटकपटक बाटो अवरुद्ध हुने गरेको बझाङका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए । उनले जयपृथ्वी राजमार्ग खुलाउनका लागि बझाङ र बैतडीका प्रमुख जिल्ला अधिकारीले मंगलबारदेखि नै सक्रियता देखाइरहेको बताए ।


बिजुली र टेलिफोन सेवा अवरुद्ध

सोमबारदेखि परेको भारी हिमपातका कारण बझाङको विद्युत् सेवा अवरुद्ध भएको छ । बैतडीको भालुमारामा हिउँको भार थाम्न नसकेर मुख्य लाइनको तार खसेका कारण विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण बझाङ वितरण केन्द्रले जनाएको छ ।


सोमबार साँझबाट अवरुद्ध भएको विद्युत् मर्मतका लागि कर्मचारी परिचालन गरेको भए पनि बाक्लो हिमपातका कारण बिग्रिएको ठाउँसम्म पुग्न नसकेको प्राधिकरण बझाङ वितरण केन्द्रका प्रशासकीय अधिकृत गगनसिंह सार्कीले बताए । उनले मर्मतको प्रयास भएको भए पनि सुचारु हुन अझै केही दिन लाग्न सक्ने जानकारी दिए ।


यस्तै सोमबार साँझदेखि बन्द भएको नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा पनि बुधबार दिउँसोसम्म सुचारु हुन सकेको छैन । विभिन्न ठाउँमा रहेका टेलिकमका सोलार स्टेसनमा पाता छोपिने गरी हिउँ जमेका कारण ब्याट्रीचार्ज हुन नसकेर सञ्चार सेवा अवरुद्ध भएको नेपाल टेलिकमले जनाएको छ ।


हिमपात जारी रहेका कारण जिल्लाका पहाडी तथा हिमाली क्षेत्रका बन्द रहेका विद्यालय र सरकारी कार्यालय पनि खुल्न सकेका छैनन् । अत्यधिक जाडो बढेका कारण नियमित कामकाज गर्न पनि गाह्रो भइरहेको स्थानीयले बताएका छन् । धेरै वर्षपछि ठूलो हिमपात भएका कारण बाली सप्रिने आसमा किसान भने खुसी भएका छन् ।

प्रकाशित : माघ १०, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?