१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

चिकित्सा शिक्षा विधेयक पारित

मकर श्रेष्ठ

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट शुक्रबार बहुमतले पारित भएको छ । राष्ट्रिय सभाबाट पनि पारित भएपछि राष्ट्रपतिले प्रमाणीकरण गरेलगत्तै राजपत्रमा सूचना प्रकाशित गरेर यो ऐनका रूपमा लागू हुनेछ । प्रतिनिधिसभामा अपनाइएको प्रक्रिया अब राष्ट्रिय सभामा पनि हुनेछ । 

चिकित्सा शिक्षा विधेयक पारित

सोमबारकै बैठकमा विधेयक पारित गर्ने कार्यसूची भए पनि कांग्रेसले सदन अवरुद्ध गरेपछि रोकिँदै आएको थियो । सोमबार र मंगलबार दुवै दिन दुईपल्ट बैठक अवरुद्ध भएपछि शुक्रबार कांग्रेसको नाराबाजी र बेल घेराउकै अवस्थामा विधेयक पारित गरिएको हो । बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदले उठेर विरोध जनाएका थिए । सभामुख महराले कांग्रेस सांसद पुष्पा भुसाललाई बोल्न समय दिए । भुसालले सरकारले कांग्रेस नेताको इतिहास मेट्ने काम गरेको आरोप लगाइन् ।

कांग्रेसका दुई पूर्वसभापति तथा पूर्वप्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पतालबारे मन्त्रिपरिषद्ले निर्णय नसच्याए प्रतिपक्षी दलले सहयोग गर्न नसक्ने बताइन् । उनी बोलिरहँदा नेकपाका प्रमुख सचेतक देव गुरुङ भने कहिले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई भेट्थे, कहिले फोरमका सांसदहरूलाई ।

भुसालले बोलेको विषयमा फोरमका सांसदले नियमापत्ति जनाउँदासमेत सभामुख महराले समय दिएनन् । मर्यादापालक दुवै ढोकामा दुई/दुई लाइन राखिएको थियो । कांग्रेस सांसद शुक्रबार ५८ जना उपस्थित थिए । यो संख्या अरू दिनको भन्दा बढी हो । आक्कलझुक्कल बैठक पुग्ने कांग्रेस सभापति शेरबहादुर देउवा पनि आएका थिए ।

भुसालले बोल्ने बित्तिकै कांग्रेस सांसद नाराबाजी गर्दै बेल घेराउ गर्न गए । दुवै ढोकाबाट आएका मयार्दापालकले घेरा हालेर अघि बढ्न दिएनन् । सभामुख महराले भने, ‘प्रमुख प्रतिपक्षले उठाएको विषयमा मैले यसै हाउसमा रुलिङ गरिसकेको छु । सरकारले उपयुक्त समयमा निर्णय गरेर सदनलाई जानकारी हुनेछ । अवरोध नगर्नुस् । आफ्नो स्थान ग्रहण गरिदिनुस् ।’ सदनको काम अघि बढाउन सहयोग गरिदिन सभामुख महराले बारम्बार आग्रह गरे । कांग्रेस सांसदहरू झन् आक्रोशित हुँदै नाराबाजी गर्न थाले ।

कांग्रेस सांसदले ‘संसदीय मर्यादा कायम गर, अधिनायकवादी शैली बन्द गर, यथास्थितिमा संसद् चल्न सक्दैन, दुई तिहाइको दम्भ बन्द गर, मर्यादापालकलाई मर्यादामा राख, जनताका नेताको अपमान बन्द गर, सरकारले सम्झौता लागू गर’ लगायतका नारा लगाएका थिए ।

नाराबाजी भइरहँदा देउवा पछाडि उभिएर हेरिरहेका थिए । सभामुखले संसदको काम सुरु गर्न दिए मात्रै संसदको सर्वोच्चता कायम हुने बताए । ‘यहाँहरूको विरोध पर्याप्त पुगेको छ, संसदको सर्वोच्चता कायम हुन प्रक्रियामा भाग लिनुपर्छ,’ उनले भने । सभामुखले त्यसो भनिरहँदा नेकपाका सांसदले ताली बजाए । बैठक कारबाही अघि बढाउने सभामुखले बारम्बार चेतावनी दिएपछि कांग्रेसले ‘यथास्थितिमा संसद् चल्न नसक्ने’ भन्दै नाराबाजी गरे ।

कांग्रेस सांसदको नाराबाजी अलि कम भएपछि महराले ठट्टाको शैलीमा भने, ‘माननीय सदस्यहरूको अवरोध अब सिध्दिएजस्तो छ ।’ त्यसपछि कांग्रेस सांसदले अझ चिच्याइचिच्याई नाराबाजी गरे । बैठक सुरु भएको २४ मिनेटमा सभामुखले कांग्रेस सांसदलाई फेरि आफ्नो सिटमा बस्न आग्रह गरे । २७ मिनेटमा सभामुख महरा र संसदका महासचिव मनोहरप्रसाद भट्टराईले सल्लाह गरेका थिए ।

त्यो ८ मिनेट

बैठक सुरु भएको ३० मिनेटमा सभामुखले कांग्रेसको विरोधबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई विधेयक छलफलका लागि पेस गर्न अनुमति दिए । पोखरेल सिटबाट अघि बढ्न खोज्दा कांग्रेस सांसदले अवरोध गर्न खोजे । मन्त्री पोखरेल नेकपा सांसद शान्ता चौधरी बस्ने लाइन हुँदै रोस्ट्रमतर्फ अघि बढे । कांग्रेस सांसदलाई भने मयार्दापालकले घेरेर अघि बढ्न दिएनन् । पोखरेललाई मयार्दापालकले स्कर्टिङ गरेर रोस्ट्रममा पुर्‍याए ।

उनी रोस्ट्रमतर्फ अघि बढदा सत्तापक्षका सांसद उभिएका थिए । सभामुखले सत्तापक्षका सांसदलाई सिटमा बस्न आग्रह गरे । मन्त्री पोखरेलले रोस्ट्रममा पुगेपछि खुसी हुँदै सदनतिर फर्केर हात हल्लाए । उनले हतारिँदै विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गरे । सत्तापक्षले ताली पिटे भने प्रतिपक्षले झन् नाराबाजी र हल्ला गरे । सभामुखले छलफल गर्ने प्रस्ताव निणायार्थ पेस गरे । बहुमतले प्रस्ताव स्वीकृत भयो । कांग्रेसका सांसदले भने सभामुखतर्फ औंला ठडयाउँदै विरोध गरिरहे ।

सभामुखले विधेयकमाथि छलफल सुरु गरे । छलफलमा भाग लिने सांसदको नाम दिन आग्रह गरे । प्रतिपक्षको विरोध रहेकाले सत्तापक्षका सांसदले छलफलका लागि नाम टिपाएनन् । छलफलमा भाग लिने कोही नभएपछि दफावार रूपमा सभामुखले विधेयकलाई हुन्छ र हुन्न भनी बहुमतले पारित गराउने प्रक्रिया थाले । विधेयक छलफलका लागि पेस भएको ८ मिनेटभित्र सभामुखले विधेयकको प्रस्तावना, नाम र दफा हुँदै पुरै विधेयक पारित भएको घोषणा गरे ।

बैठक सुरु भएको ३९ मिनेट ३३ सेकेन्डमा सकिएको थियो । विधेयकमाथि छलफल गर्न रोस्ट्रममा पुगेका मन्त्री पारित नभएसम्म रोस्ट्रममै उभिएर बसिरहे । पारित भएको घोषणा गर्दा कांग्रेस सांसदले नाराबाजीका साथै होहल्लासमेत गरे । सत्तापक्षले ताली बजाए ।

बैठक १७ गतेसम्म स्थगित भएको घोषणा गरेर सभामुख कार्यकक्षतर्फ अघि बढे । आक्रोशित कांग्रेस सांसदले सभामुखलाई घेर्न जान खोज्दा मर्यादापालकले अघि बढ्न दिएनन् ।

सभामुखतिर खनिए कांग्रेस

देउवाले सभामुखले प्रतिपक्षलाई बेवास्ता गरेर विधेयक पारित गरेको बताए । ‘तटस्थ र निष्पक्ष पदमा रहेका व्यक्तिबाट एकलौटी ढंगबाट बिनावार्ता र सहमति जबर्जस्ती चिकित्सा शिक्षा विधेयक पास गर्ने काम भयो,’ उनले भने, ‘ओली सरकारले कम्युनिस्ट शैलीबाट विपक्षीहरू बेलमा भएको बेला पास भयो । यस्तो बेला पास गर्नु हुँदैन । म प्रधानमन्त्री भएको बेला महाकाली सन्धिको विषयमा मनमोहनजीले बेल घेर्दा मैले वार्ता गरेर अघि बढेको थिएँ ।’

सभामुखले पद दुरुपयोग गरेको उनले आरोप लगाए । कांग्रेस सांसद गगन थापाले प्रमुख प्रतिपक्षलाई निषेध गरेको आरोप लगाए । ‘विरोध गर्ने र असहमति गर्नेलाई चिन्दिनँ भन्ने सन्देश सभामुखले दिनुभएको छ,’ उनले भने, ‘सभामुखले जालजेल पूर्ण व्यवहार गर्नुभयो । सभामुख सरकारको आदेश पालक, अंग जस्तो भयो । विधेयक पास गराउन सरकारभन्दा बढी कोही लागेको छ भने सभामुख लाग्नुभएको छ ।’

चिकित्सा शिक्षामा फड्को : नेकपा

नेकपाका सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा सुधारका लागि आन्दोलन गर्ने विद्यार्थी संगठन, चिकित्सक र पटक–पटक अनशन बसेका डा.गोविन्द केसीको भावनालाई विधेयकले समेटेको बताए ।

‘चिकित्सा शिक्षा क्षेत्रमा यसले फड्को मारेको छ । त्यो क्षेत्रमा देखिएको विकृति/विसंगति विधेयकले सदाका लागि अन्त्य गरेको छ । पैसा भएर पनि नेपालमा पढ्न नपाएर विदेशिनुपर्ने नेपाली विद्यार्थीको कथा अब अन्त्य हुनेछ,’ उनले भने, ‘एकै पटक पैसा तिर्न नसकेर घरबारी धरौटी राखेर ब्याज लिएर छोराछोरी पढाउनुपर्ने अभिभावकको कथा मिडियामा आउने छैन ।’ कांग्रेसको विरोधको नेकपाले सम्मान गर्ने बताए । ‘गर्न पाउने अधिकार उहाँहरूको छ,’ उनले भने, ‘हामी सम्मान गर्छौं ।’

विधेयक पारित भएपछि डा. केसीको जित भएको उनले बताए । ‘तपाईंको जित भएको छ । सत्याग्रहबाट निस्कनुस् । तपाईंको कार्यक्षेत्रमा खुसियाली मनाउनुस्,’ उनले भने, ‘अब चिकित्सा शिक्षाको विषयलाई लिएर डा. केसीले यस्तो कष्टकर आन्दोलन गरिहनु नपर्ने अवस्था हामीले ल्यायौं ।

गोविन्द केसीमाथि राजनीति गर्ने दिनहरू पनि समाप्त भए ।’ विधेयकले नेपाली जनता र नेपालका व्यवसायीलाई फाइदा भए पनि विदेशी विश्वविद्यायललाई घाटा हुने उनले बताए । शिक्षामन्त्री पोखरेलले २०६९ सालदेखि चिकित्सा शिक्षा सुधारको आवाजलाई कानुनी रूपमा मूर्त दिन विधेयक सफल भएको बताए । ‘अब यसलाई कार्यान्वयन गरेर देखाउनुपर्ने हुन्छ । प्रक्रियागत ढंगले पनि सही दिशामा छौं । अहिलेसम्म डा. केसी र अरूले राखेको मागलाई समटिएको छ,’ उनले भने, ‘डा. केसीलाई पनि धन्यबाद दिन चाहन्छु । संसदको गरिमा पद्धतिलाई सम्मान गर्दै अनशन फिर्ता लिएर कार्यान्वयनको वातारण बनाइदिनुस् ।’

उनले चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित केसीको माग आफूले जिम्मा लिने बताए । ‘राजनीतिक मुद्दा छन्, जिम्मेवार निकायले संवाद गर्नुपर्छ । उहाँसँग वार्ता जतिखेर पनि गर्न तयार छौं,’ उनले भने, ‘अनशन बस्ने उहाँको जीवन रक्षाका लागि जस्तो पायो त्यस्तो कुरामा हस्ताक्षर गर्ने, लागू नगर्ने दिशामा हामी जाँदैनौं ।’ अब प्रतिनिधिसभाबाट पारित भएको सूचना राष्ट्रिय सभामा जानेछ । प्रतिनिधिसभामा पेस गर्दा जुन प्रक्रिया अपनाइएको थियो, राष्ट्रिय सभामा पनि त्यस्तै हुन्छ । राष्ट्रिय सभाका सदस्यले संशोधन हाल्न पाउनेछन् ।

यो पनि पढौं : चिकित्सा विधेयक प्रतिवेदन समितिमा

चिकित्सा शिक्षा विधेयक : मुख्य विवाद मनसायपत्र पाएकालाई सम्बन्धन

सभामुख हतारिएपछि...

बैठक सुरु भएको ३४ मिनेट भएको थियो । कांग्रेसले विरोध जारी गरेकै अवस्थामा सभामुखले कारबाही अघि बढाए । पारित प्रक्रिया अघि बढाउने क्रममा उनले विधेयकको दफा २ देखि ५३ सम्म राष्ट्रिय चिकित्सा शिक्षाको अंग बनाउन निर्णयार्थ पेस गरे । नेकपाका सांसदले पक्षमा मतदान गर्दै हुन्छ भने । कांग्रेसका सांसदले नाराबाजी जारी राखे । नेमकिपाका सांसद प्रेम सुवालले विपक्षमा मतदान गर्दै हुन्न भने । अनि सभामुखले भने, ‘हुन्न भन्ने माननीय सदस्यको बहुमत भएकाले विधेयकको दफा २ देखि ५३ सम्म राष्ट्रिय चिकित्सा शिक्षाको अंग बनेको घोषणा गर्दछु ।’ यो घोषणा हुनेबित्तिकै पूर्वसभामुख एवं नेकपा नेता सुवास नेम्वाङ, नेकपाका महासचिव विष्णु पौडेल र भीम रावल कानेखुसी गर्न थाले । सञ्चारमन्त्री गोकुल बाँस्कोटा छटपटाउन थाले । अरू सांसद पनि आपसमा कुरा गर्न थाले ।

त्यसपछि सभामुख विधेयकको प्रस्तावनालाई अंग बनाउन त्यसमा लेखिएको कुरा पढ्न थाले । यो पढदा लरबराए । विधेयक प्रस्तावना राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ अंग बनेको घोषणा गर्दा सचिवालयका कर्मचारीले सभामुख महरालाई गल्ती सुनाउन गए । तर उनले सच्याउन चाहेनन् ।

समितिको प्रतिवेदनसहितको विधेयकमाथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्न रोस्ट्रममा पुगेका मन्त्री विधेयक पारित गरियोस् भन्ने प्रक्रिया पूरा गर्दा रोस्ट्रममै उभिरहे । विधेयक पारित भइसकेपछि सभामुखले सचिव गोपालनाथ योगीलाई बोलाएर भने, ‘मैले हुन्न भनेको हो र ? सच्याउनुपर्ने छ ?’ कर्मचारीले दिएकै सल्लाहका आधारमा सभामुखले आफ्नो गल्ती सच्याउन चाहेनन् ।

प्रकाशित : माघ ११, २०७५ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?